चीनले नेपालमा छिटै समाजिक व्यवस्था र स्थिरता पुनःस्थापना हुने आशा व्यक्त गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले चीनले नेपालका सबै पक्षहरूले आफ्ना आन्तरिक समस्याहरू उचित ढंगले समाधान गरी छिट्टै सामाजिक व्यवस्था र स्थिरता पुनःस्थापना गर्ने आशा व्यक्त गरेको बताए ।
जियानले बुधवारको नियमित पत्रकार सम्मेलनमा सोधिएका प्रश्नहरूको जबाफ दिने क्रममा ‘आन्तरिक मुद्दाको राम्रोसँग व्यवस्थापन गर्न नेपालका सबै पक्ष सक्षम रहेको’मा आफूहरूको विश्वास रहेको बताएका छन् । उनले नेपालमा ‘शीघ्र सामाजिक व्यवस्था र राष्ट्रिय स्थिरता पुनःबहाली हुने आशा’ गरिएको बताए ।
प्रदर्शनहरूलगत्तै विदेश मन्त्रालय र काठमाडौंस्थित चिनियाँ दूतावासले आफ्नो ‘कन्सुलर प्रोटेक्सन इमरजेन्सी मेकानिजम्’ सक्रिय पार्दै चिनियाँ नागरिक र संस्थाहरूको सुरक्षा सुनिश्चितताका लागि आग्रह गरेको प्रवक्ता जियानले बताए ।
नेपालमा भएको प्रदर्शन र अशान्तिका कारण प्रधानमन्त्रीले राजीनामा दिनुपरेको प्रसँगमा टिप्पणी मागिँदा लिनले यस्तो प्रतिक्रिया दिएको उल्लेख समेत गरेको छ । त्यस्तै चीन र नेपाल परम्परागत रूपमा मैत्रीपूर्ण छिमेकी भएको उल्लेख गर्दै नेपालमा रहेका चिनियाँ नागरिकलाई सुरक्षाप्रति सचेत रहन सुझाव पनि लिनले दिएको सिन्ह्वाले बताएको छ ।

