२०८३ वैशाख १९ , शनिबार 2, May 2026, Saturday

चीनमा ओलीलाई मोदीले बेवास्ता गरेपछि भारतमा व्यापक चर्चा !

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २० गते शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला पाँच दिने चीन भ्रमणमा छन् । सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मलेनका लागि चीनमा रहेका प्रधानमन्त्री केपी ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता समेत गरिसकेका छन् । राष्ट्रपति सीसँग थियानजीनको अतिथि गृहमा भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री ओलीले लिपुलेकबारे दुई देशबीच भएको सहमतिप्रति आपत्ति जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभागहरू सार्वभौम नेपालको भएको स्पष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस मामिलामा चीनले नेपाललाई सहयोग गर्ने अपेक्षा व्यक्त गरेको मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेट गरिसकेका प्रधानमन्त्री ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि भेट्ने निश्चित भइसकेको छ ।

यस्तै, भियतनाम, लाओस, माल्दिभ्सलगायत विभिन्न देशका राष्ट्र वा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता तय भएको छ । तर, विशेष चासोका रूपमा हेरिएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने भेट नहुने भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीको भ्रमणको मुख्य एजेन्डामध्ये एक थियो, लिपुलेक क्षेत्रसम्बन्धी विषय ।

जहाँ भारत र चीनबीच भएको व्यापारिक सम्झौताले नेपालमा चासो र आपत्ति उत्पन्न गराएको छ । नेपालले लिपुलेकलाई आफ्नो भूमि मानेको छ, तर भारत र चीनले नेपाललाई जानकारी नै नदिई व्यापारिक मार्ग खोल्ने सहमति गरेका छन् । यस विषयमा नेपालमा व्यापक विरोध भइरहेको छ भने चीनले नेपाललाई बेवास्ता गरेको भन्दै प्रश्नहरू उठेका छन् ।

प्रधानमन्त्री ओलीले पनि यस संवेदनशील विषयलाई चीनसँगको भेटमा उठाउने प्रतिबद्धता जनाएका थिए । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग यो विषयमा कुराकानी गरिसकेका उनले भारतीय प्रधानमन्त्री मोदीसँग पनि कालापानी क्षेत्रसम्बन्धी विषय उठाउने तयारी गरेका थिए । तर, ओली र मोदीबीच साइडलाइन वार्ता हुन सकेन ।

भारतीय मिडियामा भ्रमणबारे चासो

प्रधानमन्त्री ओलीको चीन भ्रमणले भारतीय मिडियामा व्यापक चासो र चर्चा पाएको छ । विशेषगरी लिपुलेक सीमा विवादको पृष्ठभूमिमा भारतीय सञ्चारमाध्यमहरूले यस भ्रमणलाई नेपाल–भारत–चीन त्रिपक्षीय सम्बन्धको सन्दर्भमा विशेष ध्यानका साथ हेरेका छन् ।

भारतीय सञ्चारमाध्यम आजतकले ‘नेपालका प्रधानमन्त्री ओलीले जिनपिङको अगाडि लिपुलेकको मुद्दा उठाए’ शीर्षकमा समाचार प्रकाशित गरेको छ भने नवभारत टाइम्सले ‘भारत–चीन सम्बन्धमा नेपाललाई के आपत्ति ? जिनपिङको अगाडि ओली आत्तिए, सार्वभौमसत्ताको गीत गाए’ शीर्षक दिएको छ ।

त्यस्तै, अमर उजालाले ‘प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति जिनपिङबीच भेटवार्ता, भारत–चीन लिपुलेक व्यापार मार्गबारे छलफल’ शीर्षकमा समाचार लेखेको छ । न्यूज १८ हिन्दीले ‘चीन पुग्नेबित्तिकै नेपालले भारतको गुनासो किन गर्न थाल्यो ? प्रधानमन्त्री ओलीले सी जिनपिङसँग व्यक्त गरे असन्तुष्टि’ शीर्षक बनाउँद हिन्दी २४ न्यूजले ‘नेपालका प्रधानमन्त्री ओली पुगे चीन, राष्ट्रिपति सि जिनपिंग समक्ष उठाए लेपुखेकमा मुद्दा’ भनेर समाचार लेखेको छ ।

त्यसैगरी जनभाव टाइम्सले ‘प्रधानमन्त्री ओलीले सी जिनपिङलाई भेटे, लिपुलेकको मुद्दा उठाए, तर बेइजिङले विषय मोड्यो’ भनी लेखेको छ । खास खबरले ‘नेपालका प्रधानमन्त्रीले सी जिनपिङलाई भेटे, लिपुलेक पासको भारत–चीन सम्झौताप्रति कडा आपत्ति जनाए’ भन्ने शीर्षक दिएको छ ।

यस्तै, जागरणले ‘नेपाल भारत–चीन सम्बन्धमा किन हस्तक्षेप गरिरहेको छ ? ओलीले यस विषयमा सी जिनपिङलाई आफ्नो आपत्ति जनाए तर उनले वास्ता गरेनन्’ शीर्षक बनाएको छ । टीभी नाइन हिन्दीले ‘भारत–चीन व्यापार सम्झौताप्रति नेपालको आपत्ति, लिपुलेकमा जिनपिङको यस्तो थियो प्रतिक्रिया’ भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको छ ।

यसैगरी, भारतीय मिडियाले ओलीको भ्रमणलाई भारत–चीन सम्बन्धमा आएको सुधारसँग पनि जोडेर हेरेका छन् । यसबाहेक, भारतीय मिडियाले ओलीको भ्रमणलाई जापानविरुद्धको चिनियाँ विजय उत्सवमा उनको सहभागितासँग जोडेर पनि चर्चा गरेका छन् ।

ओली र मोदीको फोटोको भने चर्चा

एससिओको बैठकमा भाग लिन चीन पुगेका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीको प्लेनबाट झर्दै गरेको तस्बिरलाई लिएर सामाजिक सञ्जाल गर्माएको छ । नेपालका प्रधानमन्त्री ओली आफ्ना सम्पूर्ण भ्रमण टोलीका सदस्यसहित एकैपटक प्लेनबाट झरेको तस्बिर र नरेन्द्र मोदी अन्य सदस्यहरू बिना एक्लै प्लेनबाट झरेको तस्बिर सेयर गरेर धेरैले कुट्नीतिक रुपमा प्रधानमन्त्रीको मर्यादा कायम गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।

प्रधानमन्त्री ओली हिमालयन एयरलाइन्सको विमानबाट चीन पुगेका थिए । उनी प्लेनबाट ओर्लिँदै गर्दा अन्य सदस्य पनि सँगै झरेका थिए । कतिपयले भ्रमण सदस्यहरुलाई ‘प्लेनमा दुइवटाद्वार हुने कुराको समेत हेक्का नभएको’ भन्दै आलोचना गरेका छन् भने कतिपयले यसलाई मजाकका रुपमा उडाएका छन् । भारतीय प्रधानमन्त्री मोदी भने ‘इन्डिया’ लेखेको आफ्नै बिमानबाट चीन पुगेका थिए ।

प्रकाशित मिति : २०८२ भदौ २० गते शुक्रबार