२०८३ असार १४ , आइतबार 29, June 2026, Monday

जहाँ सामान खरिदबिक्री गर्दा नोट चल्दैन !

सत्यपाटीसत्यपाटी । भोजपुर । २०८२ भदौ १० गते मंगलबार

भोजपुरको अरुण गाउँपालिकाकी शान्तिदेवी राई अरुण नदी पार गरेर धनकुटाको चानुवाको हाटडाँडामा लाग्ने साप्ताहिक हाटमा आफूले उत्पादन गरेका सामान बेच्न होइन, साट्न पुग्छिन् । गत बुधबार मात्र उनी बारीमा आफ्नै बारीमा फलेका सरिफा, सुर्ती लिएर करिब आठ किलोमिटर टाढा धनकुटाको महालक्ष्मी नगरपालिका–४ मा लाग्ने सो हाटमा पुगिन् । तामा, गट्टो, कागती र नास्पातीसँग साटिन् ।

भोजपुरबाटै आएकी तिलमाया थापाले पनि आफूले ल्याएको सुर्ती, कागती, नास्पाती र केही तरकारीसँग साटिन् । हरेक साता बुधबार लाग्ने हाटमा उहाँ यसैगरी घर गाउँमा उत्पादन भएका वस्तु बोकेर पुग्छिन् र आवश्यक परेको तर गाउँघरमा नपाइने वस्तु साटासाट गरेर फर्किन्छिन् । महालक्ष्मी–४, नाम्फुगाउँकी बुद्धिमाया तामाङको घरमा कागती थियो तर नास्पाती र सुर्ती थिएन । उनी पनि आफूले लगेका कागतीसँग नास्पाती र सुर्ती साटेर फर्किइन् ।

यो वस्तु विनिमय परम्परा धनकुटाको महालक्ष्मी नगरपालिका–४, चानुवाको हाटडाँडामा लाग्ने साप्ताहिक बुधबारे हाटमा अहिले पनि प्रचलनमा छ । अन्यत्रको हाटभन्दा यहाँको हाट धेरै नै फरक छ । अन्यत्र पैसाले वस्तु तथा सेवाको किनबेच हुन्छ तर यहाँ भने अहिले पनि वस्तुसँग वस्तु नै साटिन्छ । हाट भर्न आउने अधिकांशले पैसा प्रयोग नै नगरी एकअर्काबिच आफूलाई आवश्यक पर्ने साटासाट गरेर लाने गरेका छन् ।

अहिलेको आधुनिकतासँगै यो प्रायः लोप भइसकेको छ । घरबाटै बाहिर ननिस्किई अनलाइनमा समेत वस्तु खरिदबिक्री गर्ने चलन आइसकेको छ । शहरी क्षेत्रमा अधिकांश कारोबार नोटबिनै अर्थात् डिजिटल प्रविधिबाट हुन थालेको छ तर धनकुटाको ग्रामीण क्षेत्रमा लाग्ने हाटले भने अहिले पनि मौलिक परम्परा जोगाइरहेको छ ।

स्थानीय बजार भए पनि बिचमा बग्ने अरुण नदीले कित्ताकाट गरेका भोजपुर र धनकुटा जिल्लाका केही स्थानको यो भरपर्दो बजार हो । त्यसैले भोजपुरको जरायोटारबाट लामपाते सुर्ती, सरिफा, होम्ताङबाट बदाम लिएर हाट भर्न आउने स्थानीय बासिन्दा महालक्ष्मी नगरपालिकाको डाँडागाउँ, चानुवा, मारेक कटहरेका माथिल्लो भेगका बासिन्दासँग सब्जी साट्छन् तर यो बजार भोजपुर र धनकुटाका उपभोक्तामा मात्र सीमित छैन । सङ्खुवासभा र तेह्रथुमका स्थानीय हाट भर्न यहाँ आउने गरेका छन् ।

प्रकाशित मिति : २०८२ भदौ १० गते मंगलबार