कांग्रेसले उपसभामुख इन्दिरा रानाविरुद्ध पदअनुकूल आचरण नगरेको प्रस्ताव अघि नबढाउने निर्णय गरेको छ । पार्टीभित्र विरोध बढेको, रूपन्देही–३ उपनिर्वाचन नजिकिएको र सरकारविरुद्ध असन्तुष्टि चर्किन सक्ने भन्दै सभापति शेरबहादुर देउवाको निवासमा बसेको संसदीय दल कार्यसमितिले प्रस्ताव स्थगित गर्ने निष्कर्ष निकालेको हो ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले अहिले यस्तो कदम चुनावी परिणाममा नकारात्मक असर पार्न सक्ने चेतावनी दिएका थिए । शर्माले रूपन्देहीको चुनावी वातावरणबारे बैठकलाई जानकारी गराएका थिए । यसअघि कांग्रेस–एमालेबीच सहमति भएपछि सांसदहरूको हस्ताक्षर संकलन सुरु भए पनि थापा, शर्मा र डा.शेखर कोइरालाले असहमति जनाएका थिए ।
कोइरालाले देउवासँग वान टु वान भेटमा अहिले प्रस्ताव ल्याउने उपयुक्त समय नभएको बताउँदै कुलमान घिसिङ, कान्छाराम तामाङ र बागमतीका बहादुरसिंह लामाको मुद्दापछि पार्टीमाथि परेको छविको असरलाई पनि औंल्याएका थिए । यसैले कांग्रेसले उपसभामुख रानाविरुद्ध हाललाई कुनै प्रक्रिया नबढाउने स्पष्ट पारेको छ ।
