२०८३ असार १२ , शुक्रबार 27, June 2026, Saturday

एनआइसी एसियाका कारण ग्राहकहरू आतंकित, निक्षेप डुब्ने चिन्ता

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ १० गते मंगलबार

पछिल्ला वर्षमा लगातार कमजोर वित्तीय विवरण सार्वजनिक गरेपछि एनआइसी एशिया बैंकका ग्राहक त्रसित हुन थालेका छन् । उनीहरूले सहकारीमा जस्तै यस बैंकमा दुःख–सुख गरेर राखेको निक्षेप डुब्ने हो कि भन्ने चिन्ता खुलेर व्यक्त गर्न थालेका छन् । सामाजिक सञ्जालदेखि बैंकिङ क्षेत्रका विज्ञहरूसम्म ग्राहकले एउटै प्रश्न उब्जाउन थालेका छन्, ‘एनआईसी एशिया डुब्यो भने हाम्रो निक्षेपको के होला ?’

कर्णाली विकास बैंकलाई राष्ट्र बैंकले टेकओभर गरेको केही महिनामै त्यस्तै अवस्था एनआइसी एशियामा देखिन सक्ने आशंका ग्राहकबीच फैलिएको छ । कुनै बेला जोखिम मोल्दै आक्रामक व्यापार गर्ने क्रममा केही सूचकमा अग्रणी देखिएको एनआईसी एशियाका सिइओ रोशन न्यौपाने अहिले तनावमा छन् । उनको ध्यान बैंक डुब्नबाट जोगाउन ऋणीको सम्पत्ति लिलामीमा मात्र केन्द्रित बन्न थालेको छ ।

बैंकको राम्रो अवस्था नरहेपछि उनी अहिले बोर्ड अध्यक्ष तुलसीराम अग्रवाललगायतबाटै दबाबमा परेका छन् । खराब कर्जाका कारण न्यौपानेले पद टिकाउने कि छाड्ने भन्ने दोधारको अवस्था बनेको छ । लगातार दुई वर्षसम्म शेयरधनीले लगानीको प्रतिफल पाउन नसकेपछि सञ्चालक समिति व्यवस्थापनमाथि रुष्ट बनेको छ । वित्तीय स्वास्थ्यलाई बेवास्ता गर्दै मुनाफामुखी व्यापार गर्ने क्रममा बैंकले मनलाग्दी ऋण प्रवाह गरेको थियो ।

आफ्ना नजिकका लागि दिएको ऋण समेत नउठ्दा न्यौपाने अहिले तनावमा छन् । गत आर्थिक वर्ष २०८१–०८२ मा एनआइसी एशियाको नाफा ७६.९७ प्रतिशतले खुम्चिँदै १६ करोड १५ लाखमा मात्र सीमित रहेको छ । अघिल्लो वर्ष ७० करोड १४ लाख कमाएको बैंक अहिले झिनो नाफामा पुगेको छ । जब अधिकांश बैंकले नाफा बढाएका छन्, त्यही बेला एनआइसी एशिया उल्टो दिशातर्फ गएको छ ।

कर्जाको मनलाग्दी वितरण, असुलीमा असफलता र व्यवस्थापकीय कमजोरीकै कारण प्रोभिजनिङ अस्वाभाविक रुपमा बढेको छ । गत वर्ष मात्र बैंकले ४ अर्ब १४ करोड प्रोभिजनिङ गर्नुपरेको छ, जबकि अघिल्लो वर्ष ३ अर्ब ६८ लाख थियो । यसले सीधै नाफा घटाएको छ । नागरिकको पसिनाको पैसाबाट सञ्चालन हुने बैंकले कर्जा नोक्सानीमा यति ठूलो रकम खर्चिनु आफैँमा गम्भीर संकेत हो ।

यससँगै खराब कर्जा पनि २.८३ प्रतिशतले बढेर ६.२८ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यो ३.४५ प्रतिशत थियो । ब्याज आम्दानी समेत ४.४६ प्रतिशतले घटेर १० अर्ब २५ करोडमा सीमित भएको छ । यसले बैंकको आम्दानी क्षमता झन् कमजोर भएको देखाउँछ । वितरणयोग्य मुनाफा झन् भयावह छ । यस्तो मुनाफा ५ अर्ब २१ करोड ऋणात्मक छ । जबकी अघिल्लो वर्ष २ अर्ब ६६ करोड ऋणात्मक थियो । यसले यसपालि पनि शेयरधनीलाई लाभांश नदिने स्पष्ट भएको छ ।

प्रतिसेयर आम्दानी १.०८ रुपैयाँमा खुम्चिएको छ भने नेटवर्थ १२७.३० रुपैयाँमा झरेको छ । नेपालको बैंकिङ क्षेत्रमा पछिल्ला वर्षमा सबैभन्दा बढी विवादमा परेका वाणिज्य बैंकमध्ये एनआईसी एशिया अगाडि छ । राष्ट्र बैंकको एकीकृत निर्देशन, २०७४ लाई पटक–पटक उल्लंघन, पारदर्शिताको कमी, ग्राहकसँग अन्यायपूर्ण व्यवहार र आन्तरिक शासन प्रणालीको कमजोरीले यो बैंक नियामकीय नजरमा निरन्तर परेको छ । तर, नियामकको चेतावनी र कारबाहीले समेत बैंकको व्यवहारमा कुनै सुधार देखिएको छैन ।

यतिबेला ग्राहक खुलेर प्रतिक्रिया दिइरहेका छन्, ‘यो बैंकले धेरैलाई रुवाएको छ, अब गरिबका आँसु पोल्छ ।’ बैंकले पछिल्लो समय लिलामीलाई नै व्यापार रणनीति बनाएको आरोप पनि बढेको छ । ग्राहक र ऋणीको सम्पत्ति हडप्न लिलामीलाई हतियार बनाउने, त्यसका लागि राष्ट्र बैंकसँग मिलेमतो गर्ने गरेको तथ्य बाहिर आएको छ । राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल एनआइसी एशियाको यस दयनीय अवस्थाप्रति मौन देखिएको छ ।

राजनीतिक संरक्षणका कारण नियामक असहाय बनेको आशंका स्रोतले जनाएका छन् । यस्तो अवस्थामा एनआइसी एशिया कर्णाली विकास बैंककै बाटोमा लाग्ने सम्भावना प्रस्ट देखिएको छ । पछिल्ला केही वर्षयता बैंकिङ अभ्यासमा यो बैंक असफल हुन थालेको छ । जसकारण उसले लिएका रणनीतिहरू पनि असफल हुँदै आइरहेका छन् । पछिल्लो समय एनआइसी एसिया बैंक कमजोर बन्दै गएको छ । यसलाई पुष्टी गर्ने गरी बैंकको गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित भएको छ ।

बैंकले कर्जा असुलीको वैकल्पिक उपाय अपनाउने सट्टा लिलामीलाई प्राथमिकता दिन थालेको छ । जुन बैंकिङ अभ्यास भन्दा फरक कुरा हो । बैंकले अनलाइन पोर्टलमार्फत सम्पत्ति कब्जा गर्ने नीति लिएको देखिन्छ । जुन बैंकिङको उद्देश्यभन्दा फरक र ग्राहकमैत्री नभएको नीति हो । ऋणीसँग वार्ता, पुनर्संरचना वा राहतका उपायहरूभन्दा लिलामीलाई अगाडि राख्नु बैंकको दीर्घकालीन विश्वास निर्माणको दृष्टिले घातक हुने विज्ञहरूको चेतावनी छ ।

प्रकाशित मिति : २०८२ भदौ १० गते मंगलबार