२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

राष्ट्रिय सभामा एमाले दुई सिटमा खुम्चिँदै लोप हुने संघारमा

कांग्रेसको साथ नभए सरकारबाट सधैँ बाहिर रहनुपर्ने अवस्थामा रहेको सत्तारुद्ध दल नेकपा एमाले फागुनपछि राष्ट्रिय सभामा दुई सिटमा झर्न सक्ने अवस्था देखिएको छ । संसदीय अंक गणितमा पछिल्लो पटक एमालेले राष्ट्रिय सभामा निकै कमजोर दल बन्न पुग्ने अवस्था सिर्जना हुन लागेको हो ।

यद्यपि, कांग्रेसको साथ रहिरहेमा यो अवस्था नआउन पनि सक्छ । यदि, कांग्रेसको साथ नरहने हो भने राष्ट्रिय सभामा एमाले दुई सिट हुँदै शून्य सिटमा झर्नसक्ने खतरा पनि उत्तिकै रहेको छ । राष्ट्रिय सभामा आगामी फागुन २० सम्म पदावधि कायम भएका सांसदहरूमध्ये एक मनोनीतसहित १७ जना कम्युनिस्ट पृष्ठभूमिका सांसद छन् ।

कांग्रेसका एक जनाको पनि फागुन २० मा पदावधि सकिँदैछ । जसमा एमालेका ८, माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र मनोनीत १ सांसदको पदावधि सकिनेछ । त्यतिबेला एमाले सरकार बाहिर रहेमा दुई सिट मात्रै बाँकी रहनेछ ।

कांग्रेस र एमाले वर्तमान गठबन्धन कायम रहेमा आगामी फागुन २० पछि रिक्त हुने सांसदको पदपूर्तिका लागि एमाले आठ वा नौ सिट प्राप्त गर्ने एमालेको अनुमान छ । गठबन्धन नभएमा भने शून्य नतिजा आउने हुँदा एमालेका दुई जनामात्र सांसद मात्र बाँकी रहनेछन् । जसबाट २०८४ सम्म एमालेका दुई सांसद रहने छन् । हाल बनिरहेको गठबन्धन कायम भएमा एमालेले आठ वा नौ सिट प्राप्त गर्नेछ ।

राष्ट्रिय सभाका सांसदको संख्या सत्ता गठबन्धनले नै निर्धारण हुनेछ । सत्ता गठबन्धनमा केही असन्तुष्टिहरू बाहिर आइरहेको पनि छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल यो गठबन्धन फुटाउनमा लागि रहेकाले पनि त्यतिबेलासम्म वर्तमान गठनबन्ध टिक्छ वा टिक्दैन भन्ने विषयमा अन्योल नै देखिएको छ ।

एमालेमा आगामी फागुन २० मा एक सिट पनि प्राप्त नभएमा २०८४ फागुन २० सम्म पदावधि भएका सोनाम गेल्जेन शेर्पा र २०८६ फागुन २० सम्म पदावधि भएका रुक्मिणी कोइराला बाँकी रहने छन् । वर्तमान कांग्रेस एमाले गठबन्धन कायम रहेमा आगामी फागुन १९ गते ६ बर्से कार्यकाल सकिएर बिदा हुने सांसदमा कांग्रेस र एमालेलाई फाइदा हुनेछ ।

कांग्रेसका अहिले १६ सांसद छन् । गठबन्धन बनेमा आठ वा नौ सिट बढ्न सक्ने देखिन्छ । एमालेको बढेर दश वा ११ सिट हुन सक्ने छ । जसबाट राष्ट्रियसभा अध्यक्ष माथि नै दुई तिहाइले हटाउन सक्ने अवस्था पनि आउन सक्ने अनुमान गरिएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल माओवादी कोटाबाट अध्यक्ष बनेका हुन् ।

माओवादीको संख्या घट्ने र कांग्रेस र एमालेको संख्या बढ्दा यो चुनौति आउन सक्ने अनुमान गरिएको छ । ५९ सदस्यीय राष्ट्रियसभामा दुई तिहाइ पुग्नका लागि ४० मतको आवश्यक पर्दछ । दुई तिहाइले हटाउने अवस्था आएमा कांग्रेसले कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा अध्यक्षमा अघि बढाउन सक्ने देखिएको स्रोतले बतायो ।

२०८२ मा कांग्रेस सांसदको पदावधि नसकिएकाले कांग्रेसका सांसदको पदावधि सकिन २०८४ सम्म कुर्नुपर्ने अवस्था छ । २०८४ फागुन २० मा पदावधि कायम रहेका २० जना सांसदहरूमा भने कांग्रेसका ६ जनाको पदावधि सकिँदैछ । जसमा गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्रको पदावधि सकिँदैछ ।

सो समयमा माओवादी केन्द्रका ५ जनाको पदावधि सकिँदैछ । २०८४ सम्ममा एकीकृत समाजवादीका ५ जनाको पनि पदावधि सकिँदैछ । सो समयमा एमालेका एक जनाको पदावधि सकिँदै छ । जसमा सोनाम गेल्जेन शर्मा रहेका छन् । राष्ट्रिय जनमोर्चा १ र मनोनीत माओवादी केन्द्रसँग सम्बन्धित रहेर सांसद बनेका राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको पदावधि पनि २०८४ फागुन २० सम्म रहनेछ ।

राष्ट्रियसभाका सदस्यहरू अप्रत्यक्ष मतपत्रद्वारा निर्वाचित हुन्छन् र ६ वर्षको कार्यकाल पूरा गर्दछन् र एक तिहाइ सदस्यहरू प्रत्येक दुई वर्षमा सेवा निवृत्त हुन्छन् । २०७४ सालपछि प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यको निर्वाचन हुँदै आएको छ । आगामी फागुन १९ गते ६ बर्से कार्यकाल सकिएर बिदा हुने राष्ट्रियसभा सांसदहरूमा एमालेका ८, माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र मनोनीत १ सांसद छन् ।

अहिले एमालेको १०, माओवादी केन्द्रको १७, जनता समाजवादी (जसपा) को ३ सिट रहेको छ । लोसपा १ सिट रहेको छ । मनोनीत ३ मध्ये बामदेव गौतमको मात्रै पदावधि सकिन लागेको हो । पदावधि सकिनुभन्दा ३५ दिनभन्दा अघि रिक्त हुने पदमा निर्वाचन हुनेछ । राष्ट्रियसभामा सत्तापक्ष कांग्रेसको १६, एमालेको १०, जसपाको ३, लोसपाका १ गरी ३० मत रहेको छ । विपक्षमा माओवादी केन्द्रको १७, एकीकृत समाजवादीको ८, राष्ट्रिय जनमोर्चाको १ रहेका छन् ।

मनोनीत ३ मध्ये एक जना राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, बामदेव गौतम र डा.अन्जान शाक्य रहेका छन् । आगामी फागुनमा पदावधि सकिने एमालेका सांसदहरूमा इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, उपाध्यक्ष विमला घिमिरे, शारदादेवी भट्ट र सुमित्रा बिसी छन् ।

बिदा हुने माओवादी सांसदहरूमा गोपीबहादुर सार्की अछामी, गङ्गाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान छन् । एकीकृत समाजवादीका बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहको कार्यकाल पनि आगामी फागुनमा सकिनेछ । उनीहरूको कार्यकाल सकिएपछि राष्ट्रिय सभामा एमालेको हैसियत सबैभन्दा सानो हुने देखिएको छ ।

प्रकाशित मिति : २०८२ साउन २३ गते शुक्रबार