२०८३ असार ११ , बिहीबार 25, June 2026, Thursday

मन्त्री फेरबदलको तयारीमा ओली, भण्डारी पक्षका सांसदलाई ‘नो इन्ट्री’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन २१ गते बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रीहरू विवादमा परेपछि हेरफेरको दबाब परिरहेको छ । तर, कांग्रेस सभापति शेरबहादुर देउवा भने मन्त्री फेर्न इच्छुक देखिएका छैनन् । ओलीले एमाले केन्द्रीय कमिटी बैठकपछि मन्त्री फेरबदलको सन्देश दिए पनि कांग्रेसको सहमति नआएपछि प्रक्रिया रोकिएको हो ।

सरकारमा रहेका १० कांग्रेस मन्त्रीहरू गुटगत सन्तुलनअनुसार चयन भएकाले देउवा हेरफेरमा चासो देखाइरहेका छैनन् । उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणालाई हटाउने सम्भावना छैन । बाँकी सात मन्त्रीहरू पनि विभिन्न गुटको प्रतिनिधित्व गर्ने भएकाले हटाउन जटिल भएको नेताहरूको भनाइ छ ।

देउवा–निकट स्रोतका अनुसार अबको १० महिनामा सत्ता हस्तान्तरणको तयारी भइरहेकोले अहिले गुट सन्तुलन बिगार्ने मनस्थितिमा सभापति छैनन् । देउवाले प्रधानमन्त्री ओलीसँग दुईपटक मन्त्री हेरफेर नगर्ने स्पष्ट सन्देश दिइसकेका छन् । एमालेतर्फ भने केही मन्त्री फेरबदल भइसकेका छन् ।

संघीय मामिला मन्त्री राजकुमार गुप्ता हटाइएपछि भगवती न्यौपाने नियुक्त भइसकेकी छन् । भूमि र उद्योग मन्त्री पनि विवादित भएकाले उनीहरूबारे ओलीले टुंगो लगाउने अनुमान छ । साउन १५ मा बसेको ओली–देउवा बैठकमा मन्त्री हेरफेरको कुरा उठेन । बैठक कानुनी सुधार र विधेयक अगाडि बढाउने विषयमा केन्द्रित रह्यो ।

एमालेभित्र पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकालाई लिएर तनाव बढिरहेकोले मन्त्री हेरफेर गर्दा सन्तुलन मिलाउनु पर्ने चुनौती ओलीसामु छ । कांग्रेस नफेरे पनि एमालेतर्फ फेरबदलको सम्भावना बाँकी छ ।

प्रकाशित मिति : २०८२ साउन २१ गते बुधबार