२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

एमालेमा विद्यालाई रोक्ने प्रयास ‘राजनीतिक असहिष्णुता’

राजनीतिक दलको आन्तरिक जीवन भनेको वैचारिक बहस, नेतृत्वको प्रतिस्पर्धा र कार्यकर्ताको स्वतन्त्र सक्रियताको गतिशील प्रक्रियाबाट निर्माण हुने हो । तर, नेकपा एमालेभित्र अहिले जुन प्रकारको एकतर्फी नियन्त्रण, सत्तामुखी अनुशासन र राजनीतिक बहसलाई दमन गर्ने प्रवृत्ति देखिएको छ, त्यो केवल दलको लोकतान्त्रिक चरित्रमाथिको प्रश्न होइन, समग्र रूपमा देशको पार्टी प्रणाली र अभिव्यक्ति स्वतन्त्रताको अवस्थामाथि गम्भीर आशंका खडा गर्ने विषय बनिसकेको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नेकपा एमालेको सक्रिय राजनीतिमा पुनः प्रवेशलाई रोक्न स्वयं पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएको समाचारले यही अवस्थाको पुष्टि गर्दछ । साउन ८ गते बालुवाटारमा आयोजित गोप्य बैठकमा सातै प्रदेशका इन्चार्ज तथा अध्यक्षहरूलाई पाँच घन्टासम्म राखेर गरिएको योजनाबद्ध वार्ताले पार्टीभित्र स्वतन्त्र विचार राख्ने नेतृत्व र कार्यकर्तामाथि कसरी अंकुश लगाउने प्रयास भइरहेको छ भन्ने प्रस्ट हुन्छ ।

पार्टी सदस्यता नवीकरण गर्नुभएकी भण्डारीले पार्टीमा लोकतान्त्रिक तरिकाले काम गर्न पाउने अधिकार स्वतः राख्नुहुन्छ । तर, नेतृत्व परिवर्तनको आशंका मात्रका कारण सदस्यता खारेज गर्ने, उहाँका पक्षधरमाथि कारबाही गर्ने, विचार राखेकै कारण युवा नेता सुरज खरेललाई निष्कासन गर्ने कार्यले ओली नेतृत्वको असहिष्णु चरित्र देखाएको छ । एमालेभित्र अब विचार राख्ने ठाउँ छैन ? के पार्टीभित्र नेतृत्व फेरबदलको सम्भावनालाई आपराधिक रूपमा हेरिनु उचित हो ?

जब पार्टी अध्यक्ष आफैं प्रधानमन्त्री हुन्, त्यस स्थितिमा दलभित्र नेतृत्व प्रतिस्पर्धा र वैचारिक बहसलाई रोकेको घटनाले सत्ता–दल संयोजन कुन हदसम्म असहिष्णु र नियन्त्रणकारी बन्न सक्छ भन्ने संकेत दिन्छ । विद्याभण्डारीको पुनर्सक्रियता कुनै विद्रोह होइन । त्यो एमालेको संस्थागत संरचनाभित्रको एक लोकतान्त्रिक अभ्यास हो, जहाँ सदस्यहरूले नेतृत्व रोज्न र नेतृत्वमा उभिन पाउने समान अधिकार हुन्छ । भण्डारीलाई रोक्न कमिटीहरुलाई आदेश दिने शैलीले एमालेलाई थप केन्द्रीकृत र विचारहीन पार्टी बनाउने खतरातर्फ संकेत गर्छ ।

पूर्वराष्ट्रपतिले पार्टीमा योगदान दिने, अनुभव बाँड्ने र समावेशी नेतृत्वको अभ्यास गर्ने अवसर पाउनु न्यायसंगत हो । व्यक्तिको विचार, लोकप्रियता र नेतृत्व क्षमताले पार्टीलाई बलियो बनाउँछ, टुक्र्याउँदैन । अहिले पार्टीभित्र नयाँ नेतृत्वको आवश्यकता महसुस गर्नेहरूलाई ‘गुट’ भनिँदैछ, उनीहरूको विचारलाई ‘अराजकता’ भनिँदैछ, र पार्टीभित्रको स्वस्थ बहसलाई ‘संकट’ भनिँदैछ । यो प्रवृत्ति अन्ततः पार्टीलाई मात्र होइन, देशकै लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने दिशातर्फ अग्रसर छ । एमालेको सशक्त भविष्य व्यक्ति–केन्द्रित नभएर संस्थागत, समावेशी र विचारमैत्री अभ्यासबाट मात्र सुनिश्चित हुन्छ । विद्याभण्डारीलाई रोक्ने योजनाहरू त्यही अभ्यासमाथिको हमला हुन् ।

प्रकाशित मिति : २०८२ साउन १२ गते सोमबार