देशको पश्चिम उत्तरका उच्च हिमाली क्षेत्रका बस्तीहरू यतिखेर सुनसान भएका छन् । यार्सागुम्बा संकलनको सिजन सुरू भएपछि मुगुको मुगुम कार्मारोङ गाउँपालिका लगायतका उच्च पहाडी जिल्लाका बासिन्दा सबैजसो यार्सा टिप्न पाटनतिर लागेपछि गाउँ रित्तिएका हुन् ।
गाउँमा अहिले सुत्केरी महिला, साना बालबालिका, वृद्धवृद्धा र केही कर्मचारीबाहेक कोही छैनन् । मुगुम कार्मारोङ वडा नम्बर ७ निवासी र मांग्रीमा सामाजिक परिचालकको रूपमा कार्यरत ठिल्ले लामाका अनुसार १० वर्षदेखि ६० वर्ष उमेरसम्मका मानिसहरू यार्सा संकलनका लागि पाटन पुगेका छन् । ‘अहिले गाउँ सुनसान छ, असार १३ गतेपछि मात्र फर्किन्छन्,’ उनले भने ।
गाउँका अधिकांश विद्यालय पनि बन्द भएका छन् । ‘विद्यालय शिक्षामा कसैको चासो छैन,’ लामा भन्छन्, “बालबालिका कम भर्ना हुन्छन्, भर्ना भए पनि पछि निकालेर यार्सा टिप्न लैजान्छन् । खानेपानीको समस्या पनि यथावत् छ ।’ स्वास्थ्यकर्मी नुर्बूछिरिङ लामाका अनुसार अहिले गाउँमा साना बालबालिका र उनीहरूका आमाबाहेक कोही छैनन् ।
‘गाउँका आधा घरमा ताला लागेको छ,’ उनले भनिन्, ‘यार्सागुम्बा र ज्याला मजदुरी नै यहाँको मुख्य आयस्रोत हो ।’ स्थानीय भाषामा ‘किरा कोर्नु’ भनिने यार्सागुम्बा संकलनको सिजनमा विद्यालयदेखि गाउँका कार्यालयहरू समेत प्रभावित हुने गरेका छन् । यस वर्ष जेठ १३ गतेदेखि यार्सा टिप्न खुला गरिए पनि १२ गतेदेखि नै मुगु, हुम्ला, जुम्ला, डोल्पा लगायतका जिल्लामा विद्यालय बन्द हुन थालेका थिए ।
सञ्चालनमा रहेका एकाध विद्यालयमा पनि प्राथमिक तहका बालबालिकामात्रै भेटिन्छन् । बहुमूल्य जडिबुटीका रूपमा चिनिने यार्सागुम्बा औषधिजन्य गुणले भरिपूर्ण हुन्छ र यसको प्रमुख निर्यात बजार चीन हो । चीनपछि यार्सागुम्बा आपूर्ति गर्ने दोस्रो मुलुक नेपाल हो । यकिन तथ्यांक नभए पनि पूर्वी नेपालबाट अलैँची जति नै परिमाणमा पश्चिमी हिमाली जिल्लाबाट यार्सागुम्बा निर्यात हुने गरेको पाइन्छ ।
नेपाल राष्ट्र बैंकले सन् २०१५ (वि.सं.२०७२) मा सार्वजनिक गरेको अध्ययन अनुसार आर्थिक वर्ष २०७०–०७१ मा मात्रै ११ जिल्लाबाट झण्डै ४ अर्ब ९२ करोड रुपैयाँ बराबरको यार्सागुम्बा संकलन भएको अनुमान गरिएको थियो । दार्चुला, डोल्पा, जुम्ला, बझाङ र मनाङ यार्सागुम्बा संकलनका मुख्य केन्द्रका रूपमा चिनिएका छन् । अध्ययनले यार्सागुम्बाले स्थानीय सामाजिक–आर्थिक गतिविधिमा मात्र नभई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुर्याउँदै आएको उल्लेख गरेको छ ।










सत्यपाटी