२०८३ वैशाख १९ , शनिबार 2, May 2026, Saturday
भ्रष्टाचार तथा ठगी प्रकरण

पूर्वप्रधानमन्त्री नेपालसहित प्रतिनिधिसभाका चार सांसद निलम्बित, एक जना अझै फरार

प्रतिनिधिसभाको सांसद पदबाट सांसदहरु माधवकुमार नेपाल, मोहनबहादुर बस्नेत, टोपबहादुर रायमाझी र रवि लामिछाने छन् भने सहकारी ठगी प्रकरणमा मुछिएकी राप्रपाकी सांसद गीता बस्नेत फरार छिन् ।
सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ जेठ २२ गते बिहीबार

प्रतिनिधिसभाका चार सांसदको पद निलम्बनमा परेको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले सरकारबाट हदबन्दी छुट पाएको जग्गा अपचलन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै निलम्बनमा पर्ने सांसदको संख्या चार पुगेको हो ।

माधवकुमार नेपाल, अध्यक्ष नेकपा एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले सरकारबाट हदबन्दी छुट पाएको जग्गा अपचलन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उद्योग र शैक्षिक प्रतिष्ठान सञ्चालनका लागि हदबन्दी छुटमा लिएको जग्गा गैरकानुनी रूपमा बेचबिखन गरी राज्यलाई ठूलो रकम हानिनोक्सानी पु¥याएको पाइएपछि अख्तियार मुद्दा चलाउने निष्कर्षमा पुगेको हो । पतञ्जलीको नेपाल कार्यालयका केही अधिकारी, जग्गा व्यवसायी र सरकारी निकायका अधिकारी मिलेर गैरकानुनी रूपमा ३५३ रोपनी जग्गा अपचलन गरेको उजुरी परेपछि अख्तियारले छानबिन अघि बढाएको थियो ।

२०६६ माघ १८ मा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई आयुर्वेदिक विश्वविद्यालय, अनुसन्धान केन्द्र, योगशाला, आयुर्वेदिक औषधि उद्योग, जडीबुटी खेती र गाई फार्म चलाउन काभ्रेमा हदबन्दी छुटमा ८१५ रोपनी जग्गा किन्न स्वीकृति दिएको थियो । सोही स्वीकृतिबमोजिम बनेपा नगरपालिकाको साँगा, नासिकास्थान र चलाल गणेशस्थान (महेन्द्र ज्योति) क्षेत्रमा पतञ्जलीले ५९३ रोपनीभन्दा केही बढी जग्गा खरिद गरेको पाइएको छ ।

उद्योग र शैक्षिक प्रतिष्ठान स्थापनाका लागि किनिएको उक्त जग्गा चैत ६ र २६ गते बेच्न स्वीकृति दिइएको छ, जुन भूमिसम्बन्धी विद्यमान कानुन प्रतिकूल छ । हदबन्दी छुटमा किनिएको जग्गामध्ये ३५३ रोपनी १५ आना जग्गा काष्ठमण्डप बिजनेस होम्स प्रालिलाई बेचेको भेटिएको छ । पतञ्जलीका लागि धुलिखेलमा ८८ रोपनी जग्गा किनेको फेला परेको छ । यसप्रकरणमा मुद्दा दायर भएपछि उनको सांसद पद निलम्बनमा परेको हो ।

मोहनबहादुर बस्नेत, नेपाली कांग्रेस

नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको सांसद पद निलम्बनमा परेको छ । टेरामक्स प्रकरणमा बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको प्रतिनिधिसभाको सांसद पद स्वतःनिलम्बनमा परेको हो । भ्रष्टाचार निवारण ऐन, २०५८ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ मा भएको व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ । उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

तत्कालीन सञ्चारमन्त्री बस्नेतसहित अन्य १५ जना तथा कम्पनी उपर बिगो ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी भएको छ । टेरामक्सका लागि परामर्शदाताको मुख्य काम डिजाइन, डेभलप, सप्लाई, सफ्टवेयरको स्थापना लगायतका कुनै कार्य नगरी सामान आपूर्ति गरेबापत एक अर्ब ११ करोड ६२ लाख ५२ हजार १४३ रुपैयाँ भुक्तानी दिइएको थियो । भुक्तानी भएको रकमको अतिरिक्त सम्झौता बमोजिम दायीत्व सिर्जना भएको रकम बराबर नेपाल दुरसञ्चार प्राधिकरणलाई हानी नोक्सानी हुन गएको अख्तियारको निस्कर्ष छ ।

टोपबहादुर रायमाझी, नेकपा एमाले

त्यस्तै यसअघि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने नाममा करोडौं लिएर ठगी गरेको आरोपमा जिल्ला अदालत काठमाडौंले थुनामा पठाउने आदेश दिएसँगै नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको सांसद पद निलम्बनमा परेको थियो । पार्टीबाट निलम्बित भइसकेका एमाले सचिव एवम् अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभाका सांसद रायमाझी जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले २०८० असार १ गते शुक्रबार थुनामा पठाउने आदेश दिएसँगै स्वतः निलम्बित भएका हुन् ।

प्रतिनिधिसभा नियमावली २०७९ को धारा २४८ को उपधारा ३ र ४ मा यससम्बन्धी व्यवस्था गरिएको छ । ‘प्रचलित कानून बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षका लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पुर्पक्षका लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुनेछ,’ उपधारा ३ मा लेखिएको छ ।

यस्तै ‘कुनै सदस्यलाई फौजदारी मुद्दामा अदालतको फैसलाले कैदको सजाय हुने ठहर भएकोमा त्यस्तो कैदमा बस्नुपर्ने अवधिभर वा कुनै सदस्यले फौजदारी मुद्दामा अदालतको फैसला बमोजिम कैदको सजाय भुक्तान गरिरहकोमा सो अवधिभर वा कुनै सदस्यले कैद भुक्तान गर्न बाँकी रहेमा वा पक्राउ परि कैद भुक्तान नगरेसम्मको अवधिभर त्यस्तो सदस्य स्वतः निलम्बन भएको मानिनेछ,’ ४ मा उल्लेख छ ।

रवि लामिछाने, रास्वपा

पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद पनि यसअघि नै निलम्बनमा परेको छ । सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएपछि संसद् सचिवालयले लामिछानेको सांसद पद निलम्बनमा परेको सूचना प्रकाशित गरेको थियो । चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेविरुद्ध २०८१ पुस ७ गते आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी समेत मुद्दाको पूरक अभियोगपत्र दर्ता भएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्की र जिल्ला प्रहरी कार्यालय कास्की (अपराध अनुसन्धान तथा कारबाही शाखा) ले सभामुख देवराज घिमिरेलाई सम्बोधन गरी लामिछानेविरुद्ध अभियोगपत्र दर्ता गरेको व्यहोरा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २७ को प्रयोजनार्थ जानकारीका गराएको संसद् सचिवालयले जनाएको थियो ।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २७ मा ’प्रचलित कानुन बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ,’ भन्ने व्यवस्था रहेको छ । लामिछाने हाल रुपन्देही जिल्ला कारागारमा छन् ।

गीता बस्नेत, राप्रपा

सहकारी ठगी प्रकरणमा मुछिएकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद गीता बस्नेत फरार छिन् । तर उनले आफू स्वास्थ्य उपचारमा रहेको पत्र प्रतिनिधिसभा सचिवालयमा पठाएकी छन् । उनी २०८१ माघ १८ गतेदेखिका बैठकमा अनुपस्थित रहेको संसद् सचिवालयले जनाएको छ । तर नवलपरासीको छिपछिपे, चितवनको सनराइज र बर्दियाको नमस्ते सहकारी ठगीमा मुछिएकी सांसद बस्नेत भने संसद् अधिवेशन सुरु नहुँदैदेखि फरार थिइन् ।

सांसद बस्नेतविरुद्ध गत २०८१ वैशाख १४ मा पक्राउ पुर्जी जारी भएको थियो । सहकारीको पैसा बस्नेत सञ्चालक रहेको रिसोर्टमा लगेर दुरुपयोग गरिएकाले उनलाई प्रहरीको मागअनुसार अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सहकारीको बचत हिनामिनामा मुछिएलगत्तै राप्रपाले भने सांसद बस्नेतविरुद्ध अनुसन्धान गर्न सरकारसँग माग गरेको थियो ।

नवलपरासीको छिपछिपे सहकारीमा २ हजार ३०० बचतकर्ताको १६ करोड ५८ लाख हिनामिनाको हिसाब खोज्ने क्रममा बस्नेत सञ्चालक रहेको बर्दियाको रिसोर्टमा ९६ लाख ऋण लगानी गरेको खुलेको थियो  । त्यस्तै चितवनको सनराइज सहकारीबाट रिमाल, ढुण्डीराज गौतम र कृष्ण ज्ञवालीका नाममा करिब ९ करोड लगेर रिसोर्टमा लगानी भएको छ । त्यस्तै बर्दियाको नमस्ते सहकारीबाट सञ्जीवकुमार महतोका नाममा २५ लाख निकालेर रिसोर्टमा लगानी भएको पाइको छ ।

प्रकाशित मिति : २०८२ जेठ २२ गते बिहीबार