सूचनाको शक्ति - The Power Of Information

        

गुणाकर भट्टलाई गभर्नर बनाउन ओली र देउवा सहमत

लामो रस्साकस्सीपछि सत्ता गठबन्धनका प्रमुख दल नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न सहमत भएका छन् । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्र बैंकको कार्यकारी निर्देशक गुणाकर भट्टलाई १८औँ गभर्नर बनाउन सहमत भएका हुन् ।

यससँगै भट्टको नाम गर्भनरमा आएपछि बिचौलिया र स्वार्थसमूहले गर्भनरका लागि गरिरहेको चलखेल पनि बन्द भएको छ । भट्टलाई गर्भनर बनाउन कांग्रेस सभापति देउवा सुरुदेखि नै जोड गरिरहेका थिए । बुधबार प्रधानमन्त्री ओलीले भट्टलाई बोलाएर छलफल गरेका थिए । भट्टसँगको छलफलपछि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा उनको नाममा सहमत भएका हुन् ।

प्रधानमन्त्री ओली र सभापति देउवा भट्टको नाममा सहमत भएपछि गभर्नर नियुक्तिको औपचारिक बाटो खुलेको हो । अर्थशास्त्रमा विद्यावारिधि गरेका भट्ट गभर्नरको दौडमा रहेका अन्य पाँच जनालाई पछि पार्दै गर्भनर बन्न लागेका हुन् । मन्त्रिपरिषद्को सोमबार बस्ने बैठकले नयाँ गर्भनर नियुक्त गर्ने सम्भावना छ ।

मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री पौडेलले गभर्नरका लागि तीन जनाको नाम प्रस्ताव गर्ने भए पनि भट्टको नाम नै अनुमोदन हुनेछ । गभर्नर बन्ने पक्का भएपछि भट्टले राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिने तयारीमा छन् । यसअघि पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षत्री, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका ज्ञानेन्द्र ढुंगाना र राष्ट्र बैंककै सञ्चालक समिति सदस्य रवीन्द्र पाण्डे पनि गभर्नर बन्ने प्रयासमा थिए ।

प्रकाशित मिति : ५ बैशाख २०८२, बिहीबार १०:४५

लोकप्रिय