२०८३ भदौ १६ , मंगलबार 1, September 2026, Tuesday

हिंसात्मक आन्दोलन गरेर राजसंस्था फर्किँदैन : विश्वप्रकाश

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नै कर्मले राजाको बिदाइ भएको भन्दै हिंसात्मक आन्दोलन गरेर राजसंस्था नफर्कने बताएका छन् । नेपाली कांग्रेस बाँकेको तेस्रो जिल्ला सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री शर्माले व्यवस्था परिवर्तन गर्ने भए जनतामा गएर दुई तिहाई सिट ल्याएर परिवर्तन गर्न चुनौती दिए ।

उनले भने, ‘आफू चुनाव लड्न नआए अरुलाई उठाएर दुई तिहाई सांसद जित्नुस्, संविधान संशोधन गर्नुस् अनि राजसंस्था फर्काउनुस् ।’ महामन्त्री शर्माले राजसंस्थाको रेल छुटिसकेकोले अब त्यो फर्कने कुनै पनि सम्भावना नै नरहेको प्रष्ट पारे ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई श्रीपेच चुनाव चिह्न लिएर चुनावी मैदानमा आएर निर्वाचनबाट दुई तिहाइ ल्याएर संविधान संशोधन गर्नसमेत उनले चुनौती दिए । राजनीतिक अस्थिरता र भ्रष्टाचारका कारण जनतामा केही निराशा र आक्रोश देखिए पनि त्यसको विकल्प राजतन्त्र नभएको प्रष्ट पार्दै राजनीतिक दल सच्चिनुपर्ने शर्माले प्रष्ट पारेका थिए ।

प्रकाशित मिति : २०८१ चैत ३१ गते आइतबार