सूचनाको शक्ति - The Power Of Information

        

राजनीतिमा तरंग

देउवा र प्रचण्डबीच छलफल हुँदा कांग्रेस-एमालेमा खटपट

पछिल्लो अवस्थालाई हेर्ने हो भने कांग्रेस एमालेको सरकारमा धेरै नै खटपट आइसकेको छ । कांग्रेसले एमालेसँग धेरै नै बार्गेनिङ गरेका कारण खटपट आएको हो ।

संसद्को ठुलो दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार पूर्णतः असफल उन्मुख भएको छ । सरकारको कुशासनका कारण जनतामा असन्तुष्टि र आक्रोश तीव्र रूपमा बढ्दै गएको छ । जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाइ प्रतिगामी र पुनरुत्थानवादीहरू राजतन्त्र पुनस्र्थापनाको षडयन्त्रमा लागेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको रवैया र गतिविधिलाई व्यवस्था विरोधले हतियार बनाएका छन् । गणतन्त्र स्थापना भएको १६ वर्षमा मुलुकलाई सही दिशा दिन नसक्दा व्यवस्थामाथि नै प्रहार हुन थालेको छ । ओली सरकारको आठ महिनाको अवधिले कांग्रेस–एमाले गठबन्धनमाथि गम्भीर प्रश्न उठाएको छ । कांग्रेस र एमालेबिचको सात बुँदे सहमति केबल सत्ताका लागि मात्रै थियो भन्ने यो अवधिले पुष्टि गरिदिएको छ ।

कांग्रेसभित्र ओली सरकारको विकल्प खोज्नुपर्ने आवाज बाक्लिदै गएको छ भने यही बिचमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिचको कुराकानीलाई अर्थपूर्ण रूपमा हेरिएको छ । स्रोतका अनुसार देउवा र प्रचण्डबिच ओलीको विकल्प खोज्ने विषयमा छलफल भएको छ । देउवाको नेतृत्वमा सरकार गठनका लागि प्रचण्ड तयार भएका छन् ।

देउवाको नेतृत्वमा एमालेसहित सहमतिको सरकार गठनमा जोड दिने र ओली नमाने एमालेबाहेकको सरकार गठनसम्मको कुरा चलेको एक नेताले दाबी गरे । माओवादी महासचिव देव गुरुङले अघिल्लो साता एक अन्तर्वार्तामा कांग्रेससँग सहकार्य हुन सक्ने संकेत गरेका थिए । ‘वाम एकता आवश्यक भए पनि अहिलेकै रूपरेखामा सम्भव देखिँदैन । नेपाली कांग्रेससँग सहकार्य हुन सक्ने स्थिति आउन सक्छ ।’ गुरुङले अघिल्लो साता भनेका थिए ।

प्रतिगामी शक्ति सलबलाएपछि हुलाकी राजमार्ग केन्द्रित अभियान स्थगित गरेर काठमाडौँ फर्किएका माओवादी अध्यक्ष प्रचण्ड गणतन्त्रवादी नेताहरूको छलफलमा व्यस्त छन् । त्यही क्रममा प्रचण्डले कांग्रेस सभापति देउवादेखि समाजवादी मोर्चाका शीर्ष नेता र अन्य दलका नेतासँग पनि कुराकानी गरेको स्रोतले बतायो । प्रचण्डले केही दिनअघि सरकारको अहंकारले लाखौँ जनता सडकमा आउने स्थितिमा पुग्ने चेतावनी दिएका थिए ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेकपा सम्मिलित चार दलीय समाजवादी मोर्चाले यही १५ गते काठमाडौंमा वृहत् जनप्रदर्शन गर्दैछ । ‘दुई तिहाइको अहंकारमा दुई दलले दौडाएको कुशासनको घोडा नै अहिले लोकतन्त्रमाथिको सबैभन्दा ठूलो संकट बन्दै छ, यो संकटको सामना गर्न सबैभन्दा ठुलो जिम्मेवारी सत्तारुढ दलहरूकै हुन आएको छ । तपाईँहरूको दुई तिहाइको अहंकारले लाखौँ जनतालाई सडकमा पुर्याउँदैछ,’ चैत १ गते माओवादी अध्यक्ष प्रचण्डले सदनमै भने ‘अब यही पाराले चल्नेवाला छैन ।’

यद्यपि, माओवादी अध्यक्ष प्रचण्डले सत्ताको खेलमा माओवादी नरहेको दाबी गर्दै आएका छन् । संघीयता र गणतन्त्र मन नपराउनेहरुले अहिले सरकारको कुशासनको फाइदा उठाएर व्यवस्था विरोधी अभियान चलाएको निष्कर्ष समाजवादी मोर्चाका दलहरूको छ । वर्तमान व्यवस्थाप्रति असन्तोष बढ्नुमा कांग्रेस–एमाले गठबन्धनको सरकार र कुशासन प्रमुख कारक रहेको ती दलका नेताहरूको दाबी छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले चलखेल गरेको भन्दै त्यसलाई रोक्न राष्ट्रिय सरकार बनाउने कसरत सुरु भएको नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूले बताएका छन् । यद्यपि यो विषय परिपक्व भने भइसकेको छैन । गत मंसिरमा प्रचण्डकी नातिनी स्मिता दाहालको विवाह भोजमा सहभागी कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डबिच पनि राष्ट्रिय सरकार बनाउने विषयमा हलुका कुराकानी भएको थियो ।

सो कुराकानीका राष्ट्रिय सरकार बनाउने कि भन्ने बारेमा प्रचण्डले कुरा गरेपछि देउवाले कुराकानी सुरु गरेका थिए । स्रोतका अनुसार मङ्सिर २३ तिर दुई नेताहरूले गोप्य भेटघाट पनि गरेका थिए । तर प्रचण्डले ६ महिना प्रधानमन्त्री मागेपछि देउवाले यसको ‘च्याप्टर क्लोज’ गरौँ भनेर उठेपछि केही दिन अघि मात्रै फोनमा कुराकानी भएको बताइन्छ । राजावादीहरूले जुलुस निकालेपछि प्रचण्डले व्यवस्थाको रक्षाका लागि गणतन्त्रवादीहरू एकजुट हुनुपर्ने बताउँदै आएका छन् ।

कांग्रेस–एमाले खटपट

पछिल्लो अवस्थालाई हेर्ने हो भने कांग्रेस एमालेको सरकारमा धेरै नै खटपट आइसकेको छ । कांग्रेसले एमालेसँग धेरै नै बार्गेनिङ गरेका कारण खटपट आएको हो । एमालेको भागमा परेका सरकारी नियुक्तिमा कांग्रेसले भाग खोजेपछि खटपट आएको एमाले स्रोतको दाबी छ । ‘लामो समय एमाले र कांग्रेस मिलेर सरकार बनाउने अवस्था देखिएको छैन,’ एमालेकै एक पदाधिकारीले भने । एमालेले यो विषयमा केही हदसम्म छलफल पनि गरिसकेको छ ।

गत शुक्रवार आफ्नो सरकारमाथि घेराबन्दी भएको भन्दै प्रधानमन्त्री ओलीले निकटस्थ एमाले नेताहरूसँग छलफल गरेका थिए । शुक्रवार साँझ अबेरसम्म यो विषयमा छलफल भएको थियो । सो छलफलमा एमालेका नेताहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल र महासचिव शंकर पोखरेल सहभागी थिए । कांग्रेसका नेताहरूले सरकार सञ्चालन गर्न असहयोग गरेको भन्दै ओलीले पार्टीका नेतासँग गुनासो गरेको बालुवाटार स्रोतले बतायो ।

एमालेबाट कांग्रेसले दुःख दिएको गुनासो गरिरहँदा कांग्रेसले पनि एमालेले पेलेका कारण काम गर्न नसकेको गुनासो गर्न थालेको छ । अहिले सरकारमा बस्नेहरू एकले अर्कालाई दोष दिएर काम गर्न आनाकानी गरिरहेका छन् । यही मौकामा ज्ञानेन्द्रले फागुन ७ यता गणतन्त्रवादी दलहरूलाई तर्साउने गरी आफू चुप नबस्ने बताएपछि राजावादी उत्साही भएर दिनहुँ सडकमा देखिएका छन् भने राजनीतिक नेताहरू गणतन्त्र जोगाउनकै लागि एकै ठाउँमा उभिनुपर्नेमा एमाले मौन देखिएको छ ।

कार्य सम्पादनमा कमजोर

राजनीतिक शास्त्रका प्राध्यापक कृष्ण पोखरेलले तत्कालै राजावादीहरूले आफ्नो शक्तिलाई बढाउने भन्दा पनि संसदमा रहेका दलहरूलाई एकजुट गराउन मद्दत गरिरहेको विश्लेषण गरेका छन् । उनले राजनीतिक वैधताका हिसाबले सरकार बलियो भए पनि कार्यसम्पादन कमजोर हुँदा आक्रोश र प्रश्नको सामना गर्नुपरेको बताए । उनले अहिलेको अवस्थामा विभिन्न कारणले प्रधानमन्त्री ओलीका लागि सहज समय नभएको पनि विश्लेषण गरे ।

सरकार राजनीतिक वैधताका हिसाबले बलियो भए पनि काम गर्ने तौर तरिकाले असफल हुँदै गएको उनको दाबी छ । प्रधानमन्त्री ओलीलाई अर्को प्रमुख सत्तारुढ दल कांग्रेसको असहयोग नभए पनि अपेक्षा अनुसार परिणाम निकाल्न नसक्दा दबाबमा रहेको पोखरेलको ठम्याइ छ । ओली सरकार आफूले गरेका कामको ठीक ढंगले विश्लेषण गर्न पनि चुकेको उनले दाबी गरे । प्रचण्ड नेतृत्वको सरकार ढलेर गत असार ३० गते नेपाली कांग्रेस र नेकपा एमालेसहितका साना दलको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलवार १६:५४

लोकप्रिय