सूचनाको शक्ति - The Power Of Information

        

फोरजीको भुक्तानीमा मुछिइन् सञ्चार सचिव राधिका

नेपाल टेलिकमका हरेक निर्णयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल हावी हुँदैआएकी छिन् । विगतमा बैकुण्ठ अर्याल सञ्चार सचिव हुँदा टेलिकमका सम्पूर्ण फाइल मन्त्रालयमा मगाएर विचौलिया र एजेन्टहरूसँग सोझै डिल गरेपछि मात्र बोर्डमा निर्णय हुने गरेका थिए ।

उनीपछि सचिव कृष्णबहादुर राउत आएपछि विचौलियाको चलखेल केही कम भएको थियो । राउतपछिका सचिव रामकृष्ण सुवेदीले निर्णय प्रक्रियामा धेरै खोजीनीति गर्दैनथे । तर राधिका अर्याल सञ्चार मन्त्रालयको सचिव भएपछि बैकुण्ठ अर्यालकै जस्तो टेलिकमका हरेक फाइलमा चासो राख्ने गरेकी छिन् । र, टेलिकमका ठेक्कापट्टाका फाइलमा आफैं डिल गरेपछि मात्र निर्णयार्थ बोर्डमा पेश गर्न अनुमति दिने गरेको स्रोतले बताएको छ ।

टेलिकम स्रोतका अनुसार सचिव अर्यालले पछिल्लो समयमा हुवावेको फोरजी परियोजना अन्तर्गत बाँँकी भुक्तानी दिई परियोजना क्लोज गर्ने फाइलमा बढी चासो राख्न थालेकी छिन् । हुवावेले आफूसँग हुँदै नभएको फोरजीमा आवश्यक पर्ने ‘स्मल सेल’ कीर्ते गरी आफूले उपलब्ध गराउन सक्ने भनेर टेण्डर हात पारेको थियो । हाल उसको स्मल सेलको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

उक्त उजुरीमा छानबिन गरी हुवावेलाई कारबाही गर्नुको साटो स्मल सेलमा छुट दिई बाँकी कामको शीघ्र भुक्तानी दिन सचिव अर्याल सक्रिय भएकी छिन् । उनले हरेक बोर्ड बैठकमा हुवावेको भुक्तानीका बिषयमा चासो राख्दै पटक–पटक निर्देशन दिने गरेकी छिन् । कार्यकाल सकिएपछि पनि निर्लज्ज भएर नेपाल टेलिकममा कार्यरत पूर्वप्रबन्ध निर्देशक डिल्लीराम अधिकारी जो अख्तियारकै छानबिनमा छन् र फोरजी शाखाका प्रमुख प्रेम सिलवालको जोडी टेलिकमभित्र चलखेल गर्नेमध्येमा पर्छन् ।

अधिकारी र सिलवालको जोडी टेलिकमभित्र सेटिङमा दोस्रो सुनिल–विकल पौडेलका रुपमा चिनिने गरेका छन् । यिनै दुई जनाको साँठगाँठमा हुवावेलाई धमाधम भुक्तानी भइरहेको छ । समाचार स्रोतका अनुसार सिलवालले सम्पूर्ण फाइल तयार गर्ने, त्यसको रिपोर्ट डिल्लीराम अधिकारीलाई गर्ने र डिल्लीले सञ्चार मन्त्रालयकी सचिव अर्याललाई गरेपछि उनले एमडी संगीता पहाडीलाई निर्देशन दिने कार्य टेलिकममा हुँदै आएको छ । टेलिकमभित्र दुई कर्मचारी र अध्यक्षको सेटिङ चल्दा एमडी संगीता पहाडी पूरै ओझेलमा पर्दैआएकी छिन् ।

सिलवाल र डिल्लीराम फोरजी क्लोज गरी हुवावेको गलत कामलाई छुट दिने प्रक्रियामा लागेका छन् । जसमा सञ्चार मन्त्रालयका सचिव अर्यालले सेटिङमै पूर्ण सहयोग गर्दैआएकी छिन् । विश्वस्त स्रोतका अनुसार फोरजी क्लोजको सम्पूर्ण डिल हुवावेसँग प्रेम सिलवालले गरेका छन् । हुवावेको कारोबार सम्पूर्ण क्लोज गरेर भुक्तानी दिएबापत १५ करोडको डिल सिलवालले गरेको स्रोत बताउँछ ।

सिलवाल पछिल्लो समयमा हुवावेसँग हुने हरेक डिलमा संलग्न हुने कर्मचारीका रुपमा टेलिकममा चिनिन्छन् । अहिले नेपाल टेलिकममा पूर्वएमडी डिल्लीराम, प्रेम सिलवाल र सचिव अर्यालको तीन जनाको समूह सक्रिय छ । जसमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई समेत यो समूहले गुमराहमा राखेको छ । मन्त्रीले धेरै चासो नदिंदा यो समूहलाई झन् सहज भएको छ । सचिव अर्याल विगतमा डिल्लीराम अधिकारी एमडी हुँदा संचालक समिति सदस्य थिइन् । त्यहीबेलादेखि टेलिकममा हुने चलखेलबारे उनी पूर्ण जानकार थिइन् । त्यही अनुभवका कारण अहिले नेपाल टेलिकममा पनि उनको हालीमुहाली चलिरहेको छ ।

छानबिन नै भएन १२ अर्बको भ्रष्टाचार

एनसेलको फोरजी बिस्तार ६ अर्ब रुपैयाँमा गरेको हुवावेले सोही क्षमताको नेपाल टेलिकमको फोरजीको ठेक्का लागत बढाएर १८ अर्बमा लिएको थियो । एक वर्षमै तीन गुणा बढी लागत बढाएर चरम भ्रष्टाचार भएको भनी बिरोध भएको थियो । उक्त ठेक्कामा १२ अर्ब भ्रष्टाचार भएको उजुरी अख्तियारदेखि संसदीय समितिमा परे पनि अहिलेसम्म कसैमाथि कारबाही हुन सकेको छैन । तीनगुणा बढी लागत बढाएर दिएको फोरजी प्रकरण अहिलेको सहकारी काण्ड जस्तै भोलिका दिनमा बिष्फोट हुने टेलिकम स्रोत बताउँछ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलवार १६:५१

लोकप्रिय