२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

नौं महिनामै प्रति नेपाली आठ हजार रुपैयाँ ऋण बढ्यो, ८३ हजारबाट ९१ हजार पुग्यो

नौं महिनाअघि गत असारमा प्रतिनेपाली ऋण करिब ८३ हजार रुपैयाँ रहेकोमा अहिले बढेर करिब ९१ हजार रुपैयाँ पुगेको छ । हाल सरकारले तिर्न बाँकी सार्वजनिक ऋण हेर्दा अहिले हरेक नेपालीको भागमा करिब ९१ हजार रुपैयाँ बराबर पर्न आउँछ  ।

गत असारसम्म सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो । तर, गत फागुनसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ३ करोड पुगेको छ । यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४६.९१ प्रतिशत हो ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेकोमा यो जनसंख्याले गत फागुनसम्मको तिर्न बाँकी सार्वजनिक ऋणलाई भाग गर्दा उक्त तथ्यांक निकालिएको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयले गत आर्थिक वर्षमा जीडीपी ५७ खर्ब ५ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । कुल तिर्न बाँकी सार्वजनिक ऋणमध्ये आन्तरिक १३ खर्ब १५ अर्ब ५७ करोड (जीडीपीको २३.०६ प्रतिशत) र बाह्य १३ खर्ब ६० अर्ब ४६ करोड रुपैयाँ (जीडीपीको २३.८५ प्रतिशत) रहेको कार्यालयले बताएको छ ।

यस वर्ष सरकारले ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य तय गरेको छ । यस अनुसार फागुनसम्म ३ खर्ब ३४ अर्ब ६२ करोड रुपैयाँ ऋण उठाएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

पछिल्लो दश वर्षको सार्वजनिक ऋणको अवस्था

२०७१–०७२ : ५ खर्ब ४० अर्ब
२०७२–०७३ : ६ खर्ब १५ अर्ब
२०७३–०७४ : ६ खर्ब ९७ अर्ब
२०७४–०७५ : ९ खर्ब १९ अर्ब
२०७५–०७६ : १० खर्ब ४८ अर्ब
२०७६–०७७ : १४ खर्ब ३३ अर्ब
२०७७–०७८ : १७ खर्ब ३७ अर्ब
२०७८–०७९ : २० खर्ब १० अर्ब
२०७९–०८० : २२ खर्ब ९५ अर्ब
२०८०–०८१ : २४ खर्ब ३४ अर्ब

प्रकाशित मिति : २०८१ चैत ५ गते मंगलबार