एसियाली विकास बैंक (एडीबी)ले नेपालमा २०२५ देखि २०२९ सम्मका लागि रणनीतिक खाका सार्वजनिक गरेको छ । उक्त रणनीतिक खाकामा समावेशी, हरित र रोजगारमुलक आर्थिक विकासलाई केन्द्रविन्दु बनाइएको छ ।
काठमाडौंमा अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम) नेपालद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा एडीबीका शीर्ष अधिकारीहरूले परिवर्तनशील आर्थिक रूपान्तरणको खाका प्रस्तुत गरेका हुन् । एडीबीका कन्ट्री निर्देशक अर्नोड हेकम्यानले रोजगारी सिर्जना, समावेशी विकास र हरित अर्थतन्त्रको प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै बहुआयामिक रणनीतिक योजना प्रस्तुत गरेका थिए ।
एमच्याम नेपालका महाप्रबन्धक अमिर आर थापाले एडीबीको रणनीतिक प्राथमिकताबारे विस्तृत जानकारी दिँदै निजी क्षेत्रको नेतृत्वमा आर्थिक रूपान्तरण, मानव पूँजीको विकास र वातावरणीय स्थायित्वलाई मुख्य उद्देश्यका रूपमा अघि सारे । नेपालको दिगो आर्थिक विकासका लागि समग्र दृष्टिकोण आवश्यक रहेको एडीबीले स्पष्ट पारेको छ ।
अहिले नेपालमा एडीबीले ३२ विभिन्न परियोजना सञ्चालन गरिरहेको छ, जसमा ४.३ अर्ब अमेरिकी डलर बराबर लगानी गरिएको छ । यी परियोजनाहरू निजी क्षेत्रको विकास, कृषि, शिक्षा, ऊर्जा, वित्त, उद्योग, सार्वजनिक प्रशासन, यातायात र शहरी पूर्वाधारजस्ता मुख्य क्षेत्रमा केन्द्रित छन् । विश्व बैंकका नेपालका निर्देशक डेभिड सिस्लेनले एडीबीको रणनीतिक योजनाको प्रशंसा गर्दै निजी क्षेत्रलाई आर्थिक विकासको प्रमुख चालकका रूपमा चित्रण गरे ।
उनले विशेष रूपमा सूचना प्रविधि (आइटी), ऊर्जा र पर्यटन क्षेत्रको सम्भावना उच्च रहेको औंल्याए । यससँगै सिस्लेनले केही चुनौतीको पनि उल्लेख गरे । नेपालको बजेट खर्च कार्यान्वयन दर आर्थिक वर्ष २०२३–०२४ मा ८० प्रतिशतभन्दा तल झरेको तथ्य प्रस्तुत गर्दै उनले यसले आर्थिक वृद्धिलाई अवरुद्ध गर्न सक्ने चेतावनी दिए ।
उक्त प्रशिक्षण कार्यक्रममा सहभागी अमेरिकी दूतावासका प्रतिनिधि ड्यारिन क्रिस्टेन्सेन र सिआओबिङ फेङले नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारी बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे । एमच्याम नेपालको पहलले अमेरिकी लगानीकर्तालाई नेपालमा व्यापार विस्तार गर्न आकर्षित गर्न सक्ने भन्दै उनीहरू दुवैले द्विपक्षीय व्यापार अवसर प्रवद्र्धन गर्न एमच्याम नेपालको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
एमच्याम नेपालका महाप्रबन्धक थापाले नेपाललाई लगानीको सम्भावनायुक्त गन्तव्यका रूपमा स्थापित गर्न संस्था प्रतिबद्ध रहेको बताए । अमेरिकी व्यवसाय समुदाय र नेपाल सरकारबीच पुलको रूपमा कार्य गर्दै उद्यमशीलता प्रवद्र्धन, रोजगारी सिर्जना र व्यापार विस्तारलाई प्राथमिकता दिने एमच्यामको लक्ष्य रहेको उनले स्पष्ट पारे ।
एडीबी र एमच्याम नेपालले पर्यटन, ऊर्जा, सूचना प्रविधि, उत्पादन, सेवा क्षेत्र र कार्बन व्यापारजस्ता उदाउँदा बजारमा अमेरिकी लगानी भित्र्याउने लक्ष्य राखेका छन् । अन्तर्राष्ट्रिय साझेदारीमार्फत् नेपालको आर्थिक सम्भावना खुला गर्न यी रणनीति महत्त्वपूर्ण बन्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा एमच्याम नेपालका सदस्य, अन्तर्राष्ट्रिय व्यापार प्रतिनिधि, कूटनीतिक अधिकारी र विभिन्न क्षेत्रका विज्ञ सहभागी भएका थिए । नेपाल–अमेरिकाबीचको आर्थिक अवसर विस्तार गर्न यस प्रशिक्षण कार्यक्रमले महत्त्वपूर्ण योगदान दिने सहभागीहरूले अपेक्षा गरेका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं