दाङको घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका ३९ वर्षीय किसान लोकेन्द्र रोका मगरको बारीमा अहिले पनि सयपत्रिका फूल ढकमक्क फूलेका छन् । उनी बेमौसमी समयमा पनि फूल, माला बिक्री गर्न व्यस्त छन् । ‘आजभोलि फूल ४०० रुपैयाँ किलो र माला ७६५ देखि ७९० रुपैयाँसम्ममा बिक्री गर्दै आएका छु,’ उनले भने ।
चाडपर्वमा मात्रै नभइ मगरको बारीमा अघिपछि पनि फूल फूलिरहेको हुन्छ । व्यावसायिक रूपमा फूलखेती गरेका उनी यही व्यवसायमा सन्तुष्ट छन् । आम्दानीको पाटो पनि राम्रो भएको छ फूलखेतीबाट । फूलखेती गर्नुभन्दा अघि उनी वैदेशिक रोजगारमा थिए । ‘विगत लामो समयदेखि विदेशमा रोजगार गरेर फेर्केपछि फूलखेती थालेको हुँं,’ उनले भने ।
उनका अनुसार बाहिरी देशमा कमाएको भन्दा फूलखेतीबाटै आम्दानी हुने गरेको छ । ‘अब विदेश नजाने बरु यही व्यवसायलाई अझ बढाउँदै लैजाने सोच छ,’ उनले भने । रोजगारीका सिलसिलामा सात वर्ष कतारमा बिताएका रोका मगरले दसैँ, तिहार लगायत पर्व एवं अन्य शुभकार्यका लागि फूलको माग देखेपछि फूलखेती गर्न थालेका हुन् ।
उनले गएको तिहारको समयमा डेढ बिघा जग्गा भाडामा लिएर फूलखेती गरेका थिए भने हाल दुई कठ्ठामा सयपत्रीका फूल उत्पादन गरिहेका छन् । अहिले घोराही, तुलसीपुर, लमही लगायत ठाउँबाट फूलमालाको माग आइरहेको बताउँछन् । जिल्लामा चाडपवको समयमा मात्र फूलखेती गर्ने किसान धेरै भएकाले बेमौसमी समयमा माग अनुसारको फूलमाला पुर्याउनै मुस्किल भएको उनले बताए ।
उनले विगत १२ वर्षदेखि फूलखेती गर्दै आएका उनले भने, ‘यो समयमा फूल चिसोका कारण मर्नेे भएकाले धेरै जोगाउन समस्या भएको हुँदा बढी क्षेत्रफलमा फूलखेती गर्न सकिँदैन, फागुन पहिलो हप्ताबाट बिक्री गर्न सुरु गरेको फूल जेठसम्म रहनेछ ।’ विभिन्न सभा, सम्मेलन, कार्यक्रम र विवाह, पूजा लगायतका कार्यमा फूलमाला बिक्री भइरहेको उनले बताए ।
घोराही–१४, झिङ्गौरामा यही फागुन २ देखि १८ गतेसम्म सञ्चालन भएको छैटौँ कृषि, पर्यटन तथा व्यापार महोत्सवमा किसान मगरले फूल, माला तथा विभिन्न फूलका बिरुवा बिक्री गरेर एक लाख ५० हजार बढी आम्दानी गरेको बताए । साथै उनले विवाहको माला पनि तयार पारेर बिक्री गर्दै आएका छन् । उक्त माला एक हजार रुपैयाँमा बिक्री गर्ने गरेका छन् । किसान मगरले माला बनाउनका लागि विजलीको फूल पनि उत्पादन गरेका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । दाङ