२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

बैंक खाता खोल्न उमेरको सीमा नहुने

नेपाल राष्ट्र बैंकले बालबालिकाको नाममा बैंक खाता खोल्न मिल्ने बताएको छ । बैंकले आज वित्तीय सचेतनाका लागि सूचना जारी गर्दै बैंक खाता खोल्न उमेरको सीमा नहुने स्पष्ट पारेको हो ।

बैंकका अनुसार ‘सानै उमेरदेखि बालबालिकालाई बैंक खातासँग परिचित गराउँदै उनीहरुको वित्तीय चेतना अभिवृद्धि गर्न बैंक तथा वित्तीय संस्थामा खाता खोली बचत गर्ने बानी बसालौँ,’ उक्त जारी सूचनामा भनेको छ ।

सानै उमेरदेखि बालबालिकालाई बचतको महत्व बुझाउन तथा अभिभावकले आफ्ना बालबालिकाको भविष्यका लागि वित्तीय योजना तयार गर्न उनीहरुको नाममा नै बैंक खाता खोल्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।

‘जन्मदर्ता प्रमाणपत्र वा नाबालक परिचयपत्रको आधारमा कुनै पनि बैंक वा वित्तीय संस्थामा यस्तो खाता खोल्न सकिन्छ,’ सूचनामा भनिएको छ, ‘यसरी नाबालकको खाता खोल्दा ऊ कानुनी रुपमा बालिग नभएसम्म खाता सञ्चालनको अख्तियारी नाबालकको अभिभावक वा संरक्षकमा रहन्छ ।’

नाबालक बालिग भएसँगै बैंक वा वित्तीय संस्थामा गई आधिकारिक हस्ताक्षर लगायत अन्य विवरण अद्यावधिक गराएपश्चात् खाता सञ्चालनको अख्तियारी हस्तान्तरण हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २०८१ फागुन २० गते मंगलबार