बाँकेको कोहलपुर नगरपालिकाले चालु आर्थिक वर्ष २०८१–०८२ को पहिलो चौमासिकमा २०६ गाईभैंसीलाई सुत्केरी भत्ता प्रदान गरेको छ । चालु आर्थिक वर्षको विनियोजित पशु प्रोत्साहन कार्यक्रम अन्तर्गत नगरपालिका क्षेत्रका कुल २०६ गाईभैंसीलाई सुत्केरी भत्ता प्रदान गरिएको हो ।
नगर पशु सेवा शाखाका प्रमुख गोविन्दबहादुर रोकायाका अनुसार हालसम्म १२६ भैंसी र ६७ सुत्केरी गाईलाई भत्ता वितरण गरिएको छ । प्रतिपशु दुई हजारका दरले हालसम्म चार लाख १० हजार रुपैयाँ बराबरको सुत्केरी भत्ता प्रदान गरिएको उनले जानकारी दिए । कोहलपुर नगरपालिका अन्तर्गत वडाहरूमध्ये सबैभन्दा धेरै वडा १३ का ४९, वडा १२ का २०, वडा १५ का १५ र वडा नम्बर १० का १३ पशुलाई सुत्केरी भत्ता वितरण गरिएको छ ।
त्यसैगरी वडा २ का १२, वडा ३ का ११, वडा ६ का पाँच सुत्केरी पशुलाई भत्ता वितरण गरिएको हो । वडा ८ का चार, वडा १ र ७ का समान दुई–दुई पशुलाई सुत्केरी भत्ता वितरण गरिएको शाखा प्रमुख रोकायाको भनाइ छ । वडा ५, १४ र ९ मा समान एक–एक पशुलाई सुत्केरी भत्ता वितरण गरिएको हो । वडा ११ मा भने कुनै पनि पशुलाई सुत्केरी भत्ता प्रदान गरिएको छैन ।
सुत्केरी भत्ता प्राप्त गर्न सम्बन्धित किसानले बीमा प्रमाणपत्र, वडाको सिफारिस, नागरिकताको फोटोकपी, बिल र पशुको फोटोसहितका कागज शाखामा बुझाउनुपर्ने प्रावधान छ । सुत्केरी गाईभैंसीको पोषण सुरक्षाका लागि सुत्केरी भत्ता कार्यक्रम सञ्चालन गरेको शाखाले जनाएको छ । किसानलाई पशुपालन व्यवसायतर्फ आकर्षण गर्न, दूध उत्पादनमा वृद्धि गर्न र उचित दानापानीको व्यवस्थापनका लागि कोहलपुरमा सुत्केरी भत्ता कार्यक्रम सञ्चालन भइरहेको हो ।
कोहलपुर नगरपालिकाको पशु सेवा शाखाले चालु आर्थिक वर्ष २०८१–०८२ का लागि सुत्केरी भत्ताअन्तर्गत १० लाख रुपैयाँ विनियोजन गरेको छ । शाखा प्रमुख रोकायाका अनुसार स्वास्थ्यमा सुधार, किसानको आर्यआर्जन वृद्धि र दुग्धजन्य उत्पादनमा वृद्धि गर्ने उद्देश्यले सुत्केरी भत्ता कार्यक्रम सञ्चालन गरिएको हो । किसानले पशु वस्तुलाई सुत्केरी अवस्थामा पोषण सुरक्षाको ख्याल नगर्ने र उचित दानापानीको कमीले दूध उत्पादन र पशुको स्वास्थ्यसमेत कमजोर हुने हुँदा प्रोत्साहनस्वरूप भत्ता सुविधा दिने नीति लिएको रोकायाले बताए ।
मानव स्वास्थ्यको समेत ख्याल नगर्ने समुदायलाई पशुजन्य वस्तुको सुरक्षामा पनि ध्यान दिन लगाउने गरी प्रोत्साहन स्वरूप कार्यक्रम सञ्चालन गर्न लागिएको शाखा प्रमुख रोकायाले बताए । उनले भने, ‘किसानले घाँसपातबाहेक अन्य पोषणयुक्त खानेकुरा नदिने गरेकाले पशुवस्तुको आयु कम हुने समस्या हुन्छ । स्वास्थ्य बिग्रिएको बेला बिरामी हुने र लगानी खेर जाने समस्या कम गर्न पशु सुत्केरी भत्ता कार्यक्रम सुरु गरिएको हो ।’
शाखा प्रमुख रोकायाले उचित पालनपोषण र दानापानी खुवाउँदा गाईभैंसीको सुरक्षा र दूध उत्पादनमा वृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको बताए । तरकारी, दूध र मासुमा नगरपालिकालाई आत्मनिर्भर बनाउने योजना अनुसार कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर किसानलाई व्यावसायिक बनाउन खोजिएको नगरपालिकाले जनाएको छ । कोहलपुर दुग्धजन्य उत्पादनमा आत्मनिर्भर हुँदै गएको छ ।स्थानीय सरकारले सुत्केरी भत्ता प्रदान गरेपछि व्यवसाय प्रवद्र्धनमा सहयोग पुगेको किसानहरूको भनाइ छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके