ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री दीपक खड्काविरुद्धको उजुरीमाथि छलफल गर्न सत्तारुढ दल नेपाली कांग्रेसका सांसदहरू समिति बैठकमा अनुपस्थित भएका छन् । बुधवार बिहान साढे ११ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा पूर्वाधार विकास समितिको बैठक बोलाइएको थियो । उक्त बैठकमा ऊर्जामन्त्री खड्काविरुद्धको उजुरीमाथि छलफल गर्ने कार्यसूची थियो ।
तर, कांग्रेस सांसदहरू उपस्थित नहुँदा गणपूरक सङ्ख्या पुगेन । बैठकमा आमन्त्रित गरिएका मन्त्री खड्का र राज्यमन्त्री पूर्णबहादुर तामाङ पनि अनुपस्थित थिए । त्यसपछि उक्त बैठक आगामी २४ गते बिहान ८ बजेसम्मको लागि स्थगित भएको छ । समिति सभापति दीपकबहादुर सिंहका अनुसार बैठक सञ्चालनका लागि दुई जना सांसदको सङ्ख्या नपुग्दा स्थगित गरिएको हो ।
२५ सदस्यीय समितिमा गणपूरक सङ्ख्या पुर्याउन १४ जना सांसदको आवश्यकता पर्छ । तर, बुधबारको बैठकमा जम्मा १२ जना मात्रै सांसद उपस्थित भएका थिए । पूर्वाधार विकास समितिमा कांग्रेसका आठ सांसद् छन् । ती अधिकांश कांग्रेसका सांसद बैठकमा अनुपस्थित थिए । कांग्रेसका दुई जना सांसद राजेन्द्र बजगाईँ र कल्पना चौधरी बैठकमा पुगेका थिए । तर उनीहरू पनि हाजिर गर्न साथ हिँडेका थिए ।
कांग्रेसका अन्य सांसदहरू खमबहादुर गर्बुजा, दिनेशकुमार यादव, प्रतिमा गौतम, मैना कार्की, राजेन्द्र बजगाईँ, शंकर भण्डारी, सिता गुरुङ बैठकमै अनुपस्थित थिए । समिति सभापति सिंहका अनुसार शंकर भण्डारीले भने आफू जिल्ला बाहिर हुने भएकाले बैठकको समय परिवर्तन गर्न आग्रह गरेका थिए । अन्य सांसदको भने कुनै जानकारी समितिलाई छैन ।
बुधबारको बैठकमा माओवादी केन्द्रबाट एक, कांग्रेसबाट दुई, एमालेबाट पाँच, राप्रपाबाट दुई, जसपाबाट एक जना बुधबारको बैठकमा सहभागी हुन पुगेका थिए । ऊर्जामन्त्रीविरुछ मुगु कर्णाली र किमाथांका जलविद्युत् आयोजनाको ठेक्का प्रक्रियामा भएका अनियमितताबारे उजुरी परेको थियो । उक्त ठेक्का प्रक्रियामा ऊर्जामन्त्री खड्काले अनियमितता गरेको आरोप समितिमा प्राप्त उजुरीहरूमा लगाइएको छ ।
निश्चित व्यक्ति तथा व्यापारिक घरानालाई अनुकूल हुने गरी हतारहतार कार्यविधि बनाएर विद्युत् उत्पादन कम्पनी लिमिटेड (भीयूसीएल)ले मुगु कर्णाली र किमाथांका अरुण जलविद्युत् आयोजनाका लागि प्रस्ताव आह्वान गरेको थियो । १९०२ मेगावाटको मुगु कर्णाली र ४५४ मेगावाटको किमाथांका अरुण आयोजनामा प्रतिस्पर्धा साँघुरो बनाउन रातारात कार्यविधि बनाएर प्रस्ताव संकलन गरिएको थियो ।
ऊर्जामन्त्री खड्काको नीतिगत सहमतिमा भीयूसीएलले राष्ट्रिय हित र अहिलेसम्मको अभ्यास बिर्सेर कार्यविधि बनाएपछि सत्तारूढ दलभित्र समेत हलचल भएको थियो । ऊर्जा मन्त्रालय मातहतको भीयूसीएलबाट लगानी साझेदारीका लागि कार्यविधि बनाउन नीतिगत सहमति माग्दै निवेदन दिएकै दिन गत मंसिर ७ मा मन्त्री खड्काले स्वीकृति दिएका थिए ।
त्यसपछि ऊर्जा सचिव अध्यक्ष रहेको भीयूसीएल सञ्चालक समिति बैठकले ‘आयोजना निर्माणका लागि लगानी साझेदारी गर्नेसम्बन्धी कार्यविधि’ को मस्यौदा बनाउन मंसिर ९ मा कम्पनीका सञ्चालक विनोदकुमार भट्टराईको संयोजकत्वमा तीन सदस्य उपसमिति गठन गरेको थियो । एक साताको म्याद पाएको उपसमितिले कार्यविधि बुझाएपछि मंसिर १४ मा समितिबाट स्वीकृत गरिएको थियो ।
त्यसको नवौं दिनमा १५ दिनको म्याद राखेर लगानी साझेदारीको प्रस्ताव आह्वान गरिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो राखेपछि १५ दिन म्याद थपिएको थियो । १९०२ मेगावाटको जलाशययुक्त मुगु कर्णालीका लागि कांग्रेस सांसद तथा उद्योगपति विनोद चौधरीको सीजी इनरगो प्रालिको मात्र प्रस्ताव परेको थियो । एउटामात्र प्रस्ताव परे पनि प्रक्रिया अघि बढाउने गरी कार्यविधि बनाइएको थियो ।
त्यस्तै ४५४ मेगावाटको किमाथांका अरुणका लागि नोबेल ग्रुप अफ हाइड्रो इनर्जीका साथै बेला नेपाल इन्डस्ट्रिज, भिजन इनर्जी एन्ड पावर, एनजे हाइड्रो इनर्जी र अनक हाइड्रोपावर गरी पाँच कम्पनीको प्रस्ताव थियो । नोबेल ग्रुप अफ हाइड्रो इनर्जी कांग्रेस सांसद सुनील शर्माको हो भने भिजन इनर्जीमा माओवादी र कांग्रेसका नेता छन् ।
भिजन इनर्जीका कार्यकारी अध्यक्ष टीएन आचार्य माओवादीका लेखा परीक्षण समितिमा रहेका व्यक्ति हुन् भने सञ्चालक राजेशकुमार श्रेष्ठ कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठका साझेदार हुन् । बेला नेपाल इन्डस्ट्रिजले आवास निर्माणलगायत क्षेत्रमा काम गरिरहेको छ । अनक हाइड्रो पावर कम्पनीमा अध्यक्ष श्रीराम महर्जन र प्रबन्ध निर्देशक अमृतकुमार महर्जन छन् ।
दुई आयोजनामा वित्तीय लगानीका लागि आशय पत्र माग गर्दा भीयूसीएलले लगानी बोर्ड र विद्युत् नियमन आयोगलाई समेत जानकारी नदिएको पाइएको थियो । २ सय मेगावाटभन्दा बढीका जलविद्युत् आयोजना बोर्डको क्षेत्राधिकारमा पर्ने कानुनी व्यवस्था छ । विवादित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा छनोट प्रक्रिया रोकिएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं