सूचनाको शक्ति - The Power Of Information

        

वामदेव गौतमको नेकपा एकता राष्ट्रिय अभियान फुट्यो

वामदेव गौतमले नेतृत्व गरिरहेको नेकपा एकता राष्ट्रिय अभियान फुटेको छ । उपाध्यक्ष महेन्द्र अर्यालको नेतृत्वमा बुहमत केन्द्रीय समिति सदस्यहरू गौतमबाट अलग भएको घोषणा गरेका छन् ।

काठमाडौंमा आइतवार पत्रकार सम्मेलन गर्दै उनीहरूले नेकपा एकता राष्ट्रिय अभियान परित्याग गरेको घोषणा गरेका हुन् । अर्याल अभियानमा लुम्बिनी प्रदेश इन्चार्ज थिए । त्यस्तै, कर्णाली प्रदेश इन्चार्ज डिल्लीराज भट्टराई, कोशी प्रदेश इन्चार्ज इन्द्र सुब्बा र मधेश प्रदेश इन्चार्ज हरि काफ्लेले पनि गौतमको साथ छाडेका छन् ।

उनीहरूले एकता र समायोजनको लागि विचार मिल्ने माओवादी केन्द्र लगायत विभिन्न वामपन्थी दलसँग वार्ता गर्ने बताएका छन् । त्यसका लागि चार सदस्यीय वार्ता समितिसमेत गठन गरेका छन् । वार्ता समितिको संयोजकमा अर्याल आफै छन् भने काफ्ले, सुब्बा र भट्टराई समितिमा सदस्य छन् ।

गौतम निःशर्त एमालेमा प्रवेश गर्नुपर्छ भन्ने ढंगले अगाडि बढेपछि विभाजनको बाटो रोज्नु परेको उनीहरूले बताएका छन् । एमालेभन्दा माओवादी केन्द्र नै अग्रगामी शक्ति रहेको उनीहरूको निष्कर्ष छ ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतवार १५:२०

लोकप्रिय