२०८३ असोज २ , शुक्रबार 19, September 2026, Saturday

युट्युब ट्रेन्डिङमा ‘साँझ पर्‍यो झमक्क’

प्रकाश सपुतको फिल्म ‘वसन्त’को गीत ‘साँझ पर्‍ययो झमक्क’ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा पुगेको छ । सिनेमाको यो गीतले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया सहित करिब २३ लाख ३८ हजार ७६६ भ्युज पाएको हो । युट्युब ट्रेन्डिङको म्युजिक सेक्सन तर्फको शिर्ष स्थानमा उक्लिएको गीतले हालसम्म ८९ हजार लाइक र तीन हजार ८७६ बढी प्रतिक्रिया पाएको छ ।

यो गीत म्युजिक सेक्सनमा मात्रै नभई युट्युब ट्रेन्डिङको मुख्य सेक्सनको टप ५ मा छ । जहाँ लामो समयदेखि सर्टस् भिडिओको वर्चस्व तोड्दै बसन्तको गीत आइपुगेको छ । सार्वजनिक गीतको कमेन्टबक्स हेर्दा सिनेमाप्रति दर्शकको चासो बढ्नुका साथै लोकेसन, कोरियोग्राफी, गायन र सिनेमाका मुख्य कलाकार प्रकाश सपुत र स्वस्तिमा खड्काको प्रशंसामा शब्द खर्चिएको देख्न सकिन्छ ।

गायक, अभिनेता तथा निर्देशक समेत रहेका सुपतले नै शब्द रचना र संगीत तयार पारेको गीतको अडियो र भिडियो दुवै पक्ष अब्बल रहेको प्रतिक्रिया पाइरहेको छ । सार्वजनिक गीतमा गायनमा सपुतलाई पछिल्लो समयकी चर्चित गायिका शान्तिश्री परियारले साथ दिएकी छन् ।

गायक तथा अभिनेता प्रकाश सपुतकै लेखन तथा निर्देशन रहेको सिनेमामा स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय रहेको छ । गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् ।

विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ । सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् । सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले सिनेमालाई वितरण गर्नेछन् ।

प्रकाशित मिति : २०८१ माघ ४ गते शुक्रबार