मकर संक्रान्ति र माघी पर्व नेपाली समाजका धार्मिक, सांस्कृतिक र ऐतिहासिक चाडपर्व हुन् । यी दुवै पर्वको गहिरो धार्मिक, सामाजिक र सांस्कृतिक महत्त्व छ । प्राकृतिक चक्र, कृषि परम्परा र मानिसको जीवनशैलीसँग प्रत्यक्ष सम्बन्ध राख्ने यी चाडहरूले समाजलाई एकताको सूत्रमा बाँध्न महत्त्वपूर्ण भूमिका खेल्छन् ।
मकर संक्रान्ति सूर्य मकर राशिमा प्रवेश गर्ने दिन मनाइन्छ । यो खगोलीय परिवर्तनसँग सम्बन्धित चाड हो, जसलाई नयाँ यात्रा र शुभकार्यको प्रारम्भको संकेतका रूपमा लिइन्छ । सूर्य उत्तरायणमा प्रवेश गरेपछि दिन लामो र रात छोटो हुने खगोलीय तथ्यलाई यो पर्वले संकेत गर्छ । यस दिन विशेषगरी चाकु, तिलको लड्डु, घ्यू, सखरखण्ड, तरुलसँगै विशेष परिकार खाने परम्परा छ । मानिसहरू पवित्र नदी, पोखरीमा स्नान गरी सूर्यलाई अघ्र्य दिने गर्छन् ।
मकर संक्रान्तिलाई धार्मिक दृष्टिकोणले पवित्र दिनको रुपमा लिइन्छ । यस दिन दान गर्नु शुभ हुने विश्वास छ । विभिन्न ठाउँहरूमा मेला, जात्रा र महोत्सव समेत लाग्ने परम्परा छ, जसले धार्मिक, सांस्कृतिक र पर्यटनको विकासमा योगदान पुर्याउँछ । माघी पर्व विशेषतः थारू समुदायको महान चाड हो । यो पर्वलाई थारू समुदायले नयाँ वर्षका रूपमा पनि मनाउँछन् । माघीलाई ‘खिचड़ी पर्व’ पनि भनिन्छ ।
यस दिन थारू समुदायले विशेष परिकार खिचड़ी, माछा, मासु र घ्यू बनाउने गर्छन् । यस पर्वमा कुल देवता र पितृको पूजा गरेर परिवारका सदस्यहरूले आशीर्वाद लिन्छन् । माघी पर्वलाई मेलमिलाप, बन्धुत्व र परम्पराको जगेर्ना गर्ने पर्वका रूपमा लिइन्छ । साथै यो दिन थारू समुदायमा नयाँ नेतृत्व चयन गरिने, पारिवारिक निर्णय गरिने र नयाँ जिम्मेवारी बाँडिने दिन हो ।
मकर संक्रान्ति र माघी पर्वले नेपाली समाजको बहुसांस्कृतिक, बहुधार्मिक र विविधतायुक्त पहिचानलाई झल्काउँछ । यी पर्वहरूले समाजमा आपसी सहकार्य, मेलमिलाप र एकताको सन्देश दिन्छन् । कृषि समाजमा आधारित यी पर्वहरूले प्राकृतिक चक्र र मानव जीवनबीचको अन्तर सम्बन्धलाई उजागर गर्छन् । तर आधुनिक समयमा यी पर्वहरूमा व्यावसायिकता र भौतिकताको प्रभाव देखिन थालेको छ ।
पहिले धार्मिक आस्था र परम्परामा आधारित रूपमा मनाइने यी पर्वहरू अहिले सामाजिक जमघट र भोजभतेरमा सीमित हुने खतरा बढ्दै गएको छ । परम्परागत मूल्य र मौलिकता जोगाउँदै नयाँ पुस्तालाई यी पर्वहरूको वास्तविक अर्थ र महत्त्व बुझाउन जरुरी छ । यसरी मकर संक्रान्ति र माघी पर्वले नेपाली समाजलाई एकताबद्ध गर्दै सामाजिक, धार्मिक र सांस्कृतिक मूल्यहरूको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याइरहेका छन् ।
सत्यपाटी