२०८३ असार १५ , सोमबार 29, June 2026, Monday

युरोपतिर निर्यात हुँदै कर्णालीको अदुवा र बेसार

सत्यपाटीसत्यपाटी । कर्णाली । २०८१ पुस २९ गते सोमबार

कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार स्थित अदुवा प्रशोधन उद्योगले ग्रामिण भेगबाट अदुवा खरिद गरेर विदेश निर्यात गर्न थालेको हो । उद्योगका अनुसार स्वदेशमा भन्दा विदेशमा अदुवाको माग धेरै छ  ।

पहिले कर्णालीमा उत्पादित अदुवाले बजार नपाउने समस्या थियो । कालिदमारस्थित अदुवा प्रशोधन उद्योगले अदुवा र बेसार प्रशोधन गर्न थालेपछि बजारको समस्या समाधान भएको हो । कर्णाली तथा लुम्बिनीमा उत्पादन हुने अदुवा अर्गानिक र गुणस्तरीय भएकाले पनि युरोपमा माग धेरै भएको उद्योगका प्रबन्ध निर्देशक सुलोचना श्रेष्ठले बताइन् ।

उनले भनिन्, ‘बिक्रीको समस्या छैन, हामीले विदेश निर्यात गर्न थालेका छौँ । किसानको उत्पादन हामी खरिद गर्छौँ, अब उत्पादन बढाउनेतर्फ चाहीँ लाग्नुपर्छ ।’ उद्योगमा बर्सेनी एक हजार ५०० मेट्रिकटन अदुवा र बेसार प्रशोधन हुन्छ । एक हजार ४०० भन्दा बढी अदुवा उत्पादक किसान उद्योगसँग जोडिएको कम्पनीले जनाएको छ ।

चालु आवमा ८५० रोपनीभन्दा बढी जमिनमा अदुवा लगाइएको तथ्याङ्क छ । २२ लाख किलो खरिद गरेर र २३० टन सुकेको अदुवा यूरोप पठाउने लक्ष्य कम्पनीको छ । सात किलो आलो अदुवा सुकेपछि मात्र एक किलो सुकेको अदुवा बन्छ । कम्पनीमा १५० जना कामदार छन् । दैनिक १२० जनाले काम गर्छन् ।

बेसार, अदुवा, अमिलोको बोक्रा, सिस्नु, दाल चिनीको पात प्रशोधन गरेर निर्यात गर्ने गरेको निर्देशक श्रेष्ठले बताइन् । डोटी, कैलाली, सुर्खेत, सल्यान र रुकुम लगायतका जिल्लामा अदुवा उत्पादन हुन्छ । उद्योगका अनुसार सबैभन्दा बढी अदुवा उत्पादन सल्यानमा हुन्छ । सल्यानबाट एक सिजनमा एक हजार २०० मेट्रिकटनसम्म अदुवा ल्याउने गरिएको छ ।

रुकुमबाट ८०० र सुर्खेतबाट २०० मेट्रिकटनसम्म अदुवा उद्योगमा ल्याउने गरिएको छ । उद्योगले सिस्नो र टिमुर पनि प्रशोधन गर्दै आएको छ । किसानबाट सिस्नो र टिमुर पनि खरिद गर्न थालेको छ । सिस्नो र टिमुरलाई सुकाएर पाउडर बनाइन्छ । त्यसलाई प्याकिङ गरेर निर्यात गर्ने गरिएको उद्योगले जनाएको छ ।

प्रकाशित मिति : २०८१ पुस २९ गते सोमबार