बाँकेका किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जलाई करिब ११ करोड रुपैयाँको धान बिक्री गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्ज कार्यालयले पुस १६ गतेसम्म यहाँका किसानलाई ११ करोड ८२ लाख भुक्तानी गरी ३१ हजार ६९० दशमलव ९८ क्विन्टल धान खरिद गरिसकेको छ ।
‘धान बिक्री गर्न ६७३ किसानले स्थानीय तहको सिफारिस दर्ता गरेकामा अहिलेसम्म ५६७ किसानसँग धान खरिद गरिसकेका छौँ,’ नेपालगन्ज कार्यालय प्रमुख रामशरण लामिछानेले भने, ‘स्थानीय तहको सिफारिसका आधारमा एक किसानसँग ८० क्विन्टलसम्म धान खरिद गर्ने गरेका छौँ ।’ गत कात्तिक २० गतेदेखि किसानको धान खरिद गर्न लागेको थियो ।
धान खरिद गर्नुअघि किसानले स्थानीय तहको सिफारिस दर्ता गर्नुपर्ने र त्यसपछि कार्यालयबाट समय तोकिएको दिनमा किसान आएर धान बिक्री गर्ने गरेको कार्यालय प्रमुख लामिछाने बताए । ‘पहिला किसान १५ दिनसम्म यहाँ आएर लाइन लागेर बस्नुपर्ने बाध्यता थियो, अहिले धान ल्याउनुपूर्व नै स्थानीय तहको सिफारिस ल्याएर दर्ता गर्ने र हामीले दिएको समयमा उहाँहरु आएर धान बिक्री गर्ने व्यवस्था मिलाएका छौँ,’ उनले भने ।
मध्यम धान खरिदको कोटा पूरा गरिसकेको कार्यालयले मोटा धान भने लक्ष्यभन्दा निकै कम खरिद गरेको छ । धान बिक्री गर्ने धेरै किसानहरु आइसकेको हुँदा अब केही मात्रामा धान बिक्री गर्न किसान आउन सक्ने मुख्य शाखा कार्यालय नेपालगन्जले जनाएको छ । गत वर्ष ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको नेपालगन्ज कार्यालयले जम्मा आठ हजार क्विन्टल धान खरिद गरेको थियो ।
गत वर्षभन्दा १५ दिन अगावैबाट धान खरिद गर्न लागेको नेपालगन्ज कार्यालयले यस वर्ष ३० हजार क्विन्टल मोटा धान र १० हजार क्विन्टल मध्यम गरी ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा मध्यम धान बिक्री गर्ने किसानको चाप बढेपछि खाद्यले केन्द्रीय कार्यालयसँगको सहमति गरेको थियो । थप १५ हजार क्विन्टल मध्यम धान खरिद गर्नेगरी ५५ हजार क्विन्टलको लक्ष्य लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जका प्रमुख लामिछानेले बताए ।
पुस १६ गतेसम्म मोटा धान सात हजार ४४९ दशमलव ०४ क्विन्टल र मध्यम धान २४ हजार २४१ दशमलव ९४ गरी ३१ हजार ६९० दशमलव ९८ क्विन्टल धान खरिद गरेको कार्यालयका सूचना अधिकारी वरिष्ठ सहायक शिवराज घिमिरेले बताए । उनका अनुसार, यो वर्ष मोटा धानको तीन हजार ४१० रुपैयाँ ५१ पैसा र मध्यम धानको तीन हजार ५८० रुपैयाँ ६२ पैसा सरकारले तोकिदिएको न्यूनतम समर्थन मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जले किसानसँग धान खरिद गरिरहेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके