नेपाली राजनीति हास्यव्यङ्ग्यको अजीव नमुना बनेको छ । यहाँ नेताहरूको प्रमुख गुनासा र समस्याका समाधान कुर्सी वरिपरि घुम्छन् । सत्ता र कुर्सी पाउन वा बचाउन उनीहरूले गर्ने नाटक हेर्दा कहिलेकाहीँ लाग्छ यो राजनीतिभन्दा कुनै प्रहसनको मञ्चन हो । भाषणमा ‘देश बनाउँछु’ भन्ने नेताहरू व्यवहारमा ‘देश लुट्छु’को खेल खेलिरहेका हुन्छन् । यहाँ नेताहरूका भाषण सुन्दा लाग्छ, नेपाल अब केही दिनमै स्वर्ग बन्नेछ तर ती भाषण पूरा गर्ने कुनै योजना हुँदैन । भाषण सुनेपछि जनता आश्वासनमा रमाउँछन् ।
वास्तविकता भने त्यसको ठीक उल्टो छ । नेताहरूसँग कुरा र कामका बीचको भिन्नता लुकाउने अद्भुत कला छ । नेपालको राजनीति कुर्सीको खेलमा सीमित छ । नेताहरू आफूलाई देशको अभिभावकजस्तो देखाउने प्रयास गर्छन् तर व्यवहारमा तिनीहरू कुर्सीका लोभी बच्चामात्र हुन् । यहाँ सत्ताको लागि मित्रता र शत्रुताको परिभाषा छिनछिनमा बदलिन्छ । हिजोका दुस्मन भोलि सत्ता साझेदार बन्छन् र भोलिका सत्ता साझेदार पर्सि फेरि दुस्मन । नेपालमा शिक्षालाई हाँस्ने र रुने दुवैको विषय बनाउन सकिन्छ ।
हाम्रो शिक्षाले व्यवहारभन्दा प्रमाणपत्रलाई प्राथमिकता दिन्छ । ‘कुन विषय सिक्ने ?’ भन्दा ‘कुन विषयमा सजिलै पास होइन्छ ?’ भन्ने प्रश्नलाई महत्त्व दिइन्छ । डिग्री त पाइन्छ तर त्यो डिग्रीले काम गर्न सिकाउँदैन । विद्यार्थीहरू परीक्षामा फेल हुँदा सरहरूले गाली गर्छन् तर देश परीक्षा बारम्बार फेल गरिरहेका नेताहरूलाई कसैले सोध्दैन । नेताहरूले डिग्रीलाई भाषणको सामग्री बनाएर युवालाई प्रेरणा दिने प्रयास गर्छन् तर आफ्नै डिग्रीको स्रोत विवादित छ । यस्ता नेताका भाषण सुन्दा लाग्छ, ‘सपना बेच्न पनि एउटा डिग्री चाहिन्छ कि क्या हो ?’
विदेश जानको लागि लाखौं युवा रातदिन दुःख गरिरहेका छन् । उनीहरूलाई देशभित्रै अवसर दिने कोसिस गरिने हो भने नेपाली युवाले देश बनाउने सपना देख्न सक्थे । तर नेताहरू युवाको सीप र सोचको महत्त्व बुझ्न चाहँदैनन् । उनीहरूलाई त मतदातामात्र चाहिन्छ । भ्रष्टाचार नेपालको राष्ट्रिय खेलजस्तै भएको छ । नेताहरूले ‘विकासको लागि बजेट छुट्यायौं’ भनेर ठूलो गर्वका साथ भाषण दिन्छन् । तर त्यो बजेट कता जान्छ भन्ने कुरा हेर्दा, ५० प्रतिशत बजेट निर्णय गर्नेका खल्तीमा र बाँकी ५० प्रतिशत ठेकेदारका खल्तीमा पुग्छ ।
बाँकी रहे भने, कुनै पुल या सडकको डिजाइन मात्रै फाइलमै देखिन्छ । सडक त बनेको देखिन्छ तर दुई वर्ष नपुग्दै त्यो सडक पानी परेपछि नदी बन्छ । विकासको नाटक गर्नेहरूले जनताको पैसामा आँखा गाडेका छन् । जनताले कर तिर्दा उनीहरूलाई आशा हुन्छ तर त्यो पैसा नेताहरूको सपना बोक्ने साधनमात्र बन्छ । जातीयता र धार्मिक विवाद राजनीतिका नयाँ अस्त्र भएका छन् । नेताहरूले विभाजनको राजनीतिलाई कुशलतापूर्वक प्रयोग गर्छन् । जनता आपसमा लड्छन् भने नेताहरू परैबाट हेरेर रमाइलो गर्छन् । उनीहरूको लागि जातीय भावना भनेको चुनाव जित्ने सूत्र हो ।
‘दण्डहीनता’ भनेको नेपालमा नेताहरूका लागि ‘लाइफटाइम इन्सुरेन्स’ जस्तै हो । यहाँ कुनै ठूला भ्रष्टाचारका घटना भए पनि नेताहरू सजिलै उम्किन्छन् । अपराध गरेपछि नेताहरूलाई जेल होइन नयाँ पद जिम्मेवारीमा दिने चलन छ । कानुन भनेको नेताहरूका लागि कागजको खेस्रामात्रै हो । नेपालको राजनीति युवा सहभागिताबिना कहिल्यै सुधार हुन सक्दैन । पुराना नेताहरूले जनतालाई धोका दिइरहेका छन् । उनीहरू सत्ता जोगाउने खेलमा छन् । तर युवाहरूले राजनीतिमा आफ्नो स्थान बनाउने हो भने पुराना प्रवृत्तिलाई अन्त्य गर्न सकिन्छ । भ्रष्टाचार नियन्त्रण गर्न जनताको सचेतता आवश्यक छ ।
भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न सकियो भने देशको आर्थिक अवस्थामा सुधार ल्याउन सकिन्छ । दण्डहीनताको अन्त्य गरेर मात्र नेताहरूलाई जवाफदेही बनाउन सकिन्छ । राजनीतिमा दीर्घकालीन योजना आवश्यक छ । सत्ताको लागि विचार र सिद्धान्त बेच्ने परिपाटी अन्त्य गर्नुपर्छ । राजनीति भनेको कुर्सीको खेल होइन, जनताको सेवा गर्ने माध्यम हो । सारमा, नेपाली राजनीति कुर्सी, भाषण र षड्यन्त्रमा सीमित छ भने देशको भविष्य युवाको हातमा छ । जब जनता जागरूक हुन्छन् अनि नेताहरूलाई जवाफदेही बनाउँछन् । सोच बदल्न सके राजनीतिले सही दिशा लिन सक्छ । नेपाललाई समृद्ध बनाउन सोच र प्रणालीमा क्रान्ति आवश्यक छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
नन्दलाल आचार्य । काठमाडौं