सूचनाको शक्ति - The Power Of Information

        

रविकिरण भन्छन्, ‘प्रधानमन्त्रीले शासन गर्ने नैतिकता र वैधता गुमाए’

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रविकिरण हमालले प्रधानमन्त्री केपी शर्मा ओलीले शासन गर्ने नैतिक र वैधता गुमाएको दाबी गरेका छन् । किरणले प्रधानमन्त्रीको पदमा रहेर कमिसन र भ्रष्टाचारमा ओलि जोडिएपछि अविश्वासको प्रस्ताव ल्याउन सबैभन्दा ठुलो दल नेपाली काङ्ग्रेसलाई आग्रह गरेका छन् । उनले तत्काल प्रतिनिधिसभाको बैठक बोलाउन समेत माग गरेका छन् ।

कम्बोडियामा प्रधानमन्त्री ओलीले गैरकानुनी रूपमा लगानी गरेको कुरा गम्भीर भएको कारण छानबिन हुनुपर्ने माग किरणको छ । ‘प्रधानमन्त्रीले सचिवालयको अग्रसरतामा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएको कुरा समेत उजागर भएको छ, विद्युत महसुस नतिर्ने व्यापारीबाट कमिसन खाएका छन्, एनसेललाई कर छुट दिएर कमिसन खाएका छन्, उनीमाथि छानबिन गर्नुपर्छ,’ किरणले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले ओली प्रधानमन्त्रीको मुकुण्डो ओढ्ने र शक्तिको चरम दुरुपयोग गर्ने दाउमा लागेकाले त्यसलाई रोक्नुपर्ने धारणा राखेका छन् । शासन गर्ने नैतिकता र वैधता गुमाएको मान्छे प्रधानमन्त्रीको पदमा राखिरहने कुरा नेपालको स्वाभिमान, सार्वभौमसत्ता र सरकारको वैधता माथि गम्भीर प्रश्न खडा गर्ने खालको भएकाले सबैलाई जिम्मेवार बन्न आग्रहसमेत गरेका छन् ।

कम्बोडियामा प्रधानमन्त्रीको लगानी गैरकानुनी भएको भन्दै दुर्गा प्रसाइले पत्रकार सम्मेलन गरेका थिए लगत्तै उनलाई सिआइबीले पक्राउ गरेर हिरासतमा राखेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकले महसुस नतिर्ने व्यापारीको लाइन काट्ने निर्णयमा समेत प्रधानमन्त्रीले मन्त्रीपरिषदबाट उल्ट्याएका छन् । कुलमान घिसिङले १५ दिनमा महसुस नतिरे फेरि लाइन काट्ने भनेपछि उनलाई हटाउन प्रधानमन्त्री ओली सक्रिय छन् ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतवार १५:४३

लोकप्रिय