सूचनाको शक्ति - The Power Of Information

        

‘पूर्णबहादुरको सारङ्गी’को कमाई अभूतपूर्व

नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सर्वाधिक कमाउने घरेलु फिल्म बनेको छ । प्रदर्शनको मात्र १३ औं दिनभित्रै फिल्मले देशव्यापी २५ करोड ४ लाख रुपैयाँ ग्रस कमाएको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले १२ कात्तिकसम्मको कलेक्सन सार्वजनिक गरेको छ ।

फिल्मले मंगलबार मात्रै २ करोड ५ लाख रुपैयाँ ग्रस कमाएको छ । फिल्मले बुधबार २ करोडभन्दा धेरै कमाउने प्रक्षेपण गरिएको छ । ‘कबड्डी ४’ को कमाइलाई उछिन्दै विजय बराल स्टारर फिल्मले धेरै कमाउने घरेलु फिल्मको रुपमा इतिहास रचेको हो ।

निर्माताले दिएको आधारमा कबड्डी ४ को कलेक्सन (२३ करोड ५० लाख) र चलचित्र विकास बोर्डले दिएको तथ्यांकको आधारमा (२१ करोड ३८ लाख) छ । टिकट बिक्रीको ट्रेन्ड हेर्दा ‘पूर्णबहादुरको सारङ्गी’को गति तत्काल रोकिने छाँटकाँट छैन ।

झण्डै ६ दशक लामो घरेलु फिल्मको इतिहासमा ‘पूर्णबहादुरको सारङ्गी’को यो कमाइलाई अभूतपूर्व मानिएको छ । सर्वाधिक कलेक्सनको रुपमा मात्र इतिहास नरचेर सर्वाधिक शो पाउने फिल्मको रेकर्ड समेत ‘पूर्णबहादुरको सारङ्गी’कै नाममा छ । फिल्मले देशभर ४५० भन्दा धेरै शो पाएको छ ।

त्यसैगरी एकै दिनमा सर्वाधिक कमाउने फिल्मको रेकर्डसमेत ‘पूर्णबहादुरको सारङ्गी’कै नाममा छ । यो फिल्मले कात्तिक २४ गते एकैदिन ३ करोड ८९ लाख रुपैयाँ ग्रस कमाएको थियो । ‘कबड्डी ४’को एक दिनको माई २ करोड ९० लाख रुपैयाँ रहेको थियो । फिल्म सफल हुँदै गएपछि यसलाई एउटा उपन्यासको कथा चोरेको आरोप लगाइएको थियो ।

तर फिल्मका निर्माताहरुले विशुद्ध नयाँ स्क्रिप्ट कल्पना गरिएको भन्दै त्यस्तो लागेमा कपीराइटको मुद्दा हाल्न चेतावनी दिएका थिए । सुरुवातमा थोरै शोबाट सुरु भएको फिल्मलाई दर्शकहरुले राम्रो फिल्म भनेर सिफारिस गरेकै आधारमा पछिमात्र फिल्मले थप शो पाउन थालेको थियो ।

अन्तत फिल्मले सर्वाधिक शो पाउने, सर्वाधिक कमाउने र इतिहासकै सर्वाधिक कमाउने गरी ३ वटा रेकर्ड आफ्नो नाममा बनाएको छ । फिल्मले बनाएका यी रेकर्ड तत्कालै तोडिने खालका छैनन् । त्यसैले आगामी केही वर्षसम्म पूर्णबहादुरको सारङ्गी नेपालीले सम्झिरहने फिल्म बन्ने पक्का छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार १७:४८

लोकप्रिय