सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कास्कीबाट रूपन्देही पुर्याएर बयान लिइँदैछ । भैरहवामा कार्यालय रहेको सुप्रिम सहकारीको रकम पनि हिनामिना प्रकरणमा उनी तानिएका छन् । कात्तिक २ गते काठमाडौंस्थित केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई प्रहरीले तीनवटा अभियोगमा अनुसन्धान गरिरहेको छ ।
सहकारी ठगी प्रकरण, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा उनीमाथि अनुसन्धान भइरहेको छ । कास्की जिल्ला अदालतले पछिल्लोपल्ट १३ दिन अनुसन्धानका लागि थप म्याद दिएपछि उनलाई भैरहवा नै लगेर बयान लिन लागिएको प्रहरीले जनाएको छ । यसअघि हिजो नै भैरहवा लैजाने तयारी गरिएको थियो । लामिछानेमाथि अनुसन्धान गर्न यसअघि जिल्ला अदालत रुपन्देहीले पनि अनुमति दिइसहेको छ ।
उनीमाथि सहकारी ठगी, संगठित अपराधमा अनुसन्धान गर्न जिल्ला अदालत रुपन्देहीले पनि अनुमति दिएको हो । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गैरकानुनी तरिकाले लगेको पाइएको छ । सो सहकारीबाट एक करोड ९६ लाख लामिछानेकै नाममा रहेको बैंक खातामा गएको देखिएको छ ।
सोही विषयमा लामिछानेमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले रवि लामिछानेलाई कारबाही सिफारिस गरेको थियो । समितिले ९९ दिन लगाएर तयार पारेको प्रतिवेदन गएको भदौ ३१ गते सभामुख देवराज घिमिरेलाई बुझाएको थियो । उक्त प्रतिवेदन गृह मन्त्रालयले असोज पहिलो साता प्रहरीलाई कार्यान्वयनका निम्ति पठाएको थियो ।
सूर्यदर्शन, साहारा, सुप्रिम, स्वर्णलक्ष्मीलगायत सहकारीबाट गोर्खा मिडियामा ६५ करोडभन्दा बढी रकम आएको र त्यसमा लामिछाने प्रबन्ध निर्देशक भएकाले जवाफदेही हुनुपर्ने माग संसदमै उठेको थियो । लामिछानेको बयान सकिएपछि कास्की नै पठाइने भएको छ । ‘बयान सकिन कति समय लाग्छ त्यसपछि हामीले कास्की नै पठाउछौँ,’ रुपन्देहीका एक प्रहरी अधिकृतले भने । कम्तिमा पनि तीन दिन उनलाई रुपन्देही राख्ने तयारी छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं