सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

ओ, तिमी !

तथापि गुनासो केही छैन तिमीसँग यो मिलनविन्दु नभेटेकोमा ।

ओ ! तिमी
मेरो सञ्जिवनी
अलिढिला भएछ, शायद
समय चिप्ली गएछ
ठ्याक्कै नमिल्ने हुनु पनि
नियती वा समयको गति होला सायद
तथापि गुनासो केही छैन तिमीसँग यो मिलनविन्दु नभेटेकोमा ।
खोजेको भए पनि हुने थियो तिमीले मेरो अन्तर्यमा
भावना र चेतनामा
कोलम्बसले अमेरिका खोजेझैं
बासको डगामाले, केरल खोजेझैं
एउटी महिलाले, मान्छे हुनुको गौरव खोजेझैँ
वर्तमानका पदचापमा
आफ्नो अहम् खाजेझैं
खोज्नु पर्थ्यो तिमीले
मिलनका गोरेटाहरु ।
तिमी अल्छी भयौं क्यारे, समयमा
र सकेनौं खोज्न मलाई
समय सीमाभित्र
शायद म पनि त उदासीन भएँ क्यारे
समयलाई समातेर हिँड्न
नसक्नुको दोष सबैले भोग्नैपर्छ
आखिर जीवन सबैले आआफ्नै बाँच्ने न हो
तिमी पनि बाँचिरहेका छौं
म पनि बाँचिरहेको छ विपरीत भूगोल र माटोमा
हाम्रो अहम् बाँचिरहेको छ ।

यात्रा हो, जिन्दगीमा हजार भेटिन्छन्
यात्रुहरु यत्रतत्र
कसैले हिँडाउँछन् प्रोत्साहनको ज्यावल दिएर
कसैले खुट्टा तानेर खसाल्छन् डगरतिर
अगाडि भएकाले तानिदिन्
पछाडि भएकाले पनि तानिदिनु
कति विपरीतार्थमा बाँचेको छ, हाम्रो जीवन ?
शायद तिम्रो मन बुझ्दैन
यो प्रश्नले तिमीलाई
मात्र तिमीलाई
म उठाउँछु प्रश्नहरुको अस्त्र
जो अत्यन्तै अल्सी र अल्मली तर भेट्न नखोज्ने
तिम्रो अलबेलापनले तिमीलाई अप्ठ्यारोमा पुर्याएको हो कि ?
स्वीकार्न पर्छ तिमीले
म भन्छु समाहित हुनु भनेको
अर्को नयाँ जीवन हो
के जिन्दगी फेरि एकपल्ट शुरु गर्न सकिदैन ?
समाप्तीलाई आरम्भमा बदल्न सकिँदैन ?
समाहित हुनुपर्छ, अब
एकाकार हुनुपर्छ अब
जसरी सिमको पानी नदी हुँदै
सागरसँग समाहति हुन्छ
जसरी यो आकाश क्षितिजको अन्त्यबाट
भूमिको किनारमा समाहित भएको छ
घुल्नुपर्छ दूधसँग पानीजस्तै
एकको अस्तित्व अर्कोसँग मिलेपछि निर्माण हुनेछ समानान्तर अस्तित्व

ओ ! तिमी तिमीले बुझ्नुपर्छ
मेरो मनको अन्तर्य र लवज अनि किन खोजिरहन्छौं
आफूभित्र बेग्लै अस्तित्व जब म मनै छ,
तिमी, तिमी नै छौं,
किन उठाउँन सक्दैनौं, हामी
समता र एकताको लागि जोखिम ? किन खडा गर्छौं सधैं
कहिल्यै नमिलेको मतान्तरको भाष्य ?

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलवार १४:५३

लोकप्रिय