सूचनाको शक्ति - The Power Of Information

        

बन्यो तीन सदस्यीय ‘विपक्षी कार्यदल’, के काम गर्छ ?

विपक्षी दलहरूको बैठकले तीन सदस्यीय कार्यदल बनाएको छ । शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको विपक्षी दलहरूको बैठकले तीन सदस्यीय कार्यदल बनाएको हो ।

कार्यदलमा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य शिशिर खनाल र नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे छन् ।

कार्यदलले मुख्य रूपमा विपक्षी दलहरूको बीचमा समन्वय गर्ने काम गर्ने बताइएको छ । कार्यदलका सदस्य शिशिर खनालले भने, “हाम्रा कदमहरूका रेकर्ड पनि रहने र अझ व्यवस्थित गर्नेगरी यो कार्यदलले काम गर्छ ।”

कार्यदलले सुरुमा सरकारलाई बुझाइने ध्यानाकर्षणपत्रहरू बनाउने खनालले बताए । ‘अझ विशेषगरी चाहिँ विपक्षी दलहरूको बीचमा समन्वय गरिरहन्छ । जसका कारण हामीलाई सहज हुन्छ,’ उनले भने ।

विपक्षी दलहरूले आगामी कात्तिक ५ गते राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई भेटेर गत असोज १० देखि १२ गतेसम्मको विपद्लगायतका विषयमा ध्यानाकर्षणपत्र बुझाउने भएका छन् ।

सरकार अध्यादेश ल्याएर पार्टी फुटाउन लागिपरेको आरोप

यसैबीच बैठकले सरकार अध्यादेश ल्याएर पार्टी फुटाउन लागिपरेको आरोप लगाएको छ । सरकार अध्यादेश ल्याएर पार्टीहरू फुटाउने दिशामा अग्रसर भएको देखिएकाले त्यसको प्रतिवाद गर्ने निष्कर्ष निकालिएको बैठकमा सहभागी आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले बताए ।

बैठकमा सहभागी रास्वपा नेता विराजभक्त श्रेष्ठले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यादेशबाट काम गर्ने बानी रहेको बताए । ‘संसद् हुँदा पनि उहाँले अध्यादेशबाट काम गर्नुहुन्छ, त्यो यसअघि पनि देखिएकै हो । अब चाहिँ त्यस्तो हुनुहुन्न भन्ने हाम्रो निष्कर्ष रह्यो,’ उनले भने ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार १३:२३

लोकप्रिय