सूचनाको शक्ति - The Power Of Information

        

दसैँ अवधिभर बाँकेबाट तीन करोडका खसीबोका बिक्री

राप्तीसोनारी गाउँपालिका–२ खोरीयास्थित जननी सामाजिक उद्यमी महिला सहकारी संस्थामा खसीबोका बिक्री गर्दै किसान । तस्वीर सौजन्य : गणेश खत्री

दसैँ अवधिभर बाँके जिल्लाबाट तीन करोड रुपैयाँभन्दा बढीका खसीबोका बिक्री भएको छ । जिल्लाका विभिन्न सहकारी संस्थामार्फत तीन करोड रुपैयाँ बढीका खसीबोका जिल्ला बाहिर निर्यात भएका हुन् । दसैँ सुरु भएदेखि असोज २८ गतेसम्म जिल्लामा रहेका विभिन्न १४ वटा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमार्फत उक्त खसीबोका बिक्री भएका छन् ।

जिल्लाको विभिन्न स्थानमा रहेका १४ वटा सहकारीमार्फत् तीन करोड ४६ हजार ४९६ रुपैयाँ बराबरका ५५ हजार ८२६ किलो तौल भएका १ हजार ७८६ वटा खसीबोका सहकारीमार्फत बिक्री भएर देशको विभिन्न सहरमा निर्यात भएका हुन् । दसैँमा सबैभन्दा बढी राप्तीसोनारी–२ खोरीयास्थित जननी सामाजिक उद्यमी महिला सहकारी संस्थाले कारोबार गरेको छ ।

जननीले ४९ लाख ४६ हजार ५४० रुपैयाँ बराबरका ९ हजार १४६ किलो तौल भएका २८१ वटा खसीबोका बिक्री गरेको प्रबन्धक गणेश खत्रीले जानकारी दिए । त्यसैगरी राप्तीसोनारी–७ फत्तेपुरमा रहेको रोशनी सामाजिक उद्यमी महिला सहकारी संस्थाले ३८ लाख १६ हजार ७९५ रुपैयाँ बराबरको ७ हजार २०१ किलो तौल भएका १९६ वटा खसीबोका बिक्री गरेको छ ।

त्यसपछि बैजनाथ गाउँपालिका–८ टिटहरियामा रहेको दिपलगन सामाजिक उद्यमी महिला सहकारी संस्थाले ३५ लाख २९ हजार ६१४ रुपैयाँ बराबरका ६ हजार १९९ किलो तौल भएका १९३ वटा खसीबोका बिक्री गरेको छ । जननीका प्रबन्धक गणेश खत्रीका अनुसार बैजापुर सामाजिक उद्यमी महिला सहकारी संस्थाले नौ लाख ९५ हजार ६६५ रुपैयाँ बराबरका १ हजार ८७९ किलो तौल भएका ५७ वटा खसीबोका बिक्री गरेको छ ।

अप्सरा सामाजिक उद्यमी महिला सहकारी संस्थाले १० लाख ४१ हजार ३३० रुपैयाँ बराबरका १ हजार ९२३ किलो तौल भएका ६९ वटा खसीबोका बिक्री गरेको छ भने कुसुम सामाजिक उद्यमी महिला सहकारी संस्थाले १८ लाख ३५ हजार ४३० रुपैयाँ बराबरका ३ हजार ३६० किलो तौल भएका ९८ वटा, सुनकोशी सामाजिक उद्यमी महिला सहकारी संस्थाले १७ लाख आठ हजार २८५ रुपैयाँ बराबरका ३ हजार २०१ किलो तौल भएका ९६ वटा खसीबोका बिक्री गरेको छ ।

त्यस्तै सङ्गिनी सामाजिक उद्यमी महिला सहकारी संस्थाले १५ लाख ७५ हजार २०५ रुपैयाँ बराबरका २ हजार ९६० किलो तौल भएका ९२ वटा खसीबोका बिक्री गरेको प्रबन्धक खत्रीले जानकारी दिए । राप्तीसोनारी–९ ढकेरीस्थित सङ्घर्षशील सामाजिक उद्यमी महिला सहकारी संस्थाका प्रबन्धक भूपेन्द्र खड्काका अनुसार सो सहकारीले २६ लाख ५९ हजार २९५ रुपैयाँ बराबरका ४ हजार ९७० किलो तौल भएका १९५ वटा खसीबोका बिक्री गरेको छ ।

त्यसैगरी उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाले छ लाख ६३ हजार ७०५ रुपैयाँ बराबरका १२६० किलो तौल भएका ४० वटा खसीबोका बिक्री गरेको छ । प्रबन्धक खड्काका अनुसार सशक्तीकरण सामाजिक उद्यमी महिला सहकारी संस्थाले ११ लाख ३१ हजार ५५० रुपैयाँ बराबरका २ हजार १३५ किलो तौल भएका ७० वटा खसीबोका बिक्री गरेको छ भने बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्थाले आठ लाख ४७ हजार रुपैयाँ बराबरका १ हजार ५४० किलो तौल भएका ४७ वटा खसीबोका बिक्री गरेको खड्काले जानकारी दिए ।

राप्तीसोनारी–६ टेपरीस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाले ३३ लाख दुई हजार २१० रुपैयाँ बराबरका ६ हजार २७८ किलो तौल भएका २२२ वटा खसीबोका बिक्री भएको प्रबन्धक दिव्या गुरुङले बताइन् । उनका अनुसार दीपलगन सामाजिक उद्यमी महिला सहकारी संस्थाले ३५ लाख २९ हजार ६१४ रुपैयाँ बराबरका ६ हजार १९९ किलो तौल भएका १९३ वटा खसीबोका बिक्री गरेका छन् ।

त्यस्तै रोशनी सामाजिक उद्यमी महिला सहकारी संस्थाले ३८ लाख १६ हजार ७९५ रुपैयाँ बराबरका ७ हजार २०१ किलो तौल भएका १९६ वटा र परिवर्तन सामाजिक उद्यमी महिला सहकारी संस्थाले १९ लाख ९३ हजार ८७२ रुपैयाँ बराबरका ३ हजार ७५५ किलो तौल भएका १३० वटा खसीबोका बिक्री गरेका छन् । बाँकेमा पछिल्लो समयमा बाख्रापालनतर्फ किसान आकर्षित भएका छन् । सहकारी संस्थामार्फत बनाइएका विभिन्न समूहमार्फत किसानले बाख्रापालन गर्दैआएका छन् । जिल्लाका आठ पालिकामध्ये धेरैजसो राप्तीसोनारी गाउँपालिकाका किसानहरू बाख्रापालनतर्फ बढी आकर्षित भएका छन् ।

राप्तीसोनारी गाउँपालिकामा जङ्गल क्षेत्र बढी भएका कारण पनि यहाँका किसानहरू यस पेसातर्फ आकर्षित भएका हुन् । किसानले पालेका खसीबोकाहरु सहकारी संस्थामार्फत बिक्री गर्दै आएका छन् । किसानसँग सहकारीले खरिद गर्ने र सहकारीले जिल्ला बाहिरका व्यापारीलाई प्रतिकिलो १० रुपैयाँसम्म नाफा खाएर बिक्री गर्दै आएका छन् । अन्य समयभन्दा दसैँको समयमा बढी खसीबोका बिक्री हुने गरेको छ । बाख्रापालनबाट महिला किसानहरू आत्मनिर्भर बन्दैगएका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार १५:२६

लोकप्रिय