सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा दुई करोड बढीका दुर्गा मूर्ति प्रतिस्थापन

बाँकेमा यस वर्ष दसैँको अवसरमा जिल्लाका विभिन्न स्थानमा दुई करोड रुपैयाँभन्दा बढीका दुर्गा भवानीका मूर्तिहरु प्रतिष्थापन गरिएका छन् । घटस्थापनाको दिन र पछिल्लो दिन गरि जिल्लामा ४०० बढी दुर्गाभवानीका मूर्ति प्रतिस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए ।

उनले सबैभन्दा धेरै नेपालगन्ज नगरमा मात्रै करिब २५० दुर्गा मूर्ति प्रतिस्थापन गरिएको जनाए । नेपालगन्जका टोल टोल, गल्ली गल्ली र चोक तथा सडकमा गरेर २५० भन्दा बढी दुर्गा मूर्ति राखिएको एसपी कार्कीको भनाइ छ । उनले थपे, ‘नेपालगन्जका अधिकांश गल्ली र चोकमा ठुलो संख्यामा दुर्गा मूर्ति प्रतिस्थापन गरिएको छ, सहरमा मात्रै २५० बढी मूर्ति राखिएको छ ।’

बाँकेमा दुई करोड बढि रुपैयाँको दुर्गा मूर्ति प्रतिस्थापन गरिएको अनुमान रहेको प्रहरीले जनाएको छ । यहाँ ४० देखि ८० हजार मूल्यका मूर्तिहरु प्रतिस्थापन गरिएका छन् । एउटा मूर्तिको सरदर ५० हजार रुपैयाँमात्र जोड्ने हो भने पनि बाँकेमा दुई करोडभन्दा बढी रुपैयाँ मूर्तिमा खर्च भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्लाको नेपालगन्ज, खजुरा, कोहलपुर र राँझा लगायत गाउँगाउँमा राखिएका दुर्गा मूर्तिहरु नेपालगन्ज र केहि भारतीय सीमा बजार रुपैडिहाबाट ल्याइएको जनाइएको छ । नेपालमा महंगो पर्ने र राम्रो नहुने भएको भन्दै धेरै ठाउँका स्थानीयबासीले भारतीय बजार पुगेर मूर्ति खरिद गरेर ल्याएको स्थानीय अगुवा नन्दलाल वैश्यले बताए ।

उनले भारतबाट मात्र करिब १५० वटा मूर्ति ल्याइएको जानकारीमा आएको बताए । विभिन्न ठाउँमा प्रतिस्थापन गरिएका दुर्गा मूर्तिको सुरक्षा र शान्तिपूर्वक बिसर्जनका लागि बाँके प्रहरीले विशेष टास्क फोर्स बनाएर सुरक्षालाई कडा पारेको छ । दसैंको भोलिपल्ट दुर्गा मूर्तिहरु नजिकको नदीमा लगेर बिसर्जन गरिने गरिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार १५:२६

लोकप्रिय