२०८३ जेठ ११ , सोमबार 26, May 2026, Tuesday

बाँकेमा छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व चुहावट

सत्यपाटीसत्यपाटी । बाँके । २०८१ असोज १६ गते बुधबार

बाँकेमा द्वन्द्वकालमा विस्थापित भएका छोटी भन्सार हालसम्म पनि पुनःस्थापना नहुँदा राजस्व चुहावट हुने गरेको छ । नरैनापुर, डुडुवा र जानकी गाउँपालिकासँग सीमा जोडिएका भारतीय नाकामा अवस्थित सात छोटी भन्सार कार्यालय बन्द भएपछि सहजै चोरी–पैठारी हुने गरेको छ । आफ्नै भवन रहेका नरैनापुर, खडैचा र साइगाउँ छोटी भन्सारका भवनसमेत भत्किएर भग्नावशेष अवस्थामा पुगेका छन् ।

सीमावर्ती भारतीय बजार अलिगवासँग जोडिएको कटकुइँयाको सुइया बघौडा, कालाफाँटासँग जोडिएको नरैनापुर, जमुनाहसँग जोडिएको भगवानपुर, पिप्रहवासँग जोडिएको होलियाको खडैचा, निमियासँग जोडिएको हिरमिनियाको भङ्घोटन र रंजितवा बजारसँग जोडिएको साइगाउँ तथा उढरापुर गरी सात छोटी भन्सार रहेको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए ।

उनका अनुसार नेपालगन्ज भन्सार कार्यालयबाट दुरीका हिसाबले ६० किलोमिटर टाढा सुइया बघौडा, नरैनापुर ५० किलोमिटर, भगवानपुर ४० किलोमिटर, खडैचा ४० किलोमिटर, भङ्घोटना चार किलोमिटर, साइगाउँ तीन किलोमिटर र पश्चिम साइगाउँमा रहेको उढरापुर छोटी भन्सार कार्यालय पाँच किलोमिटर दुरीमा पर्दछन् । छोटी भन्सार कार्यालय नभएपछि सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बलले चोरी–पैठारी नियन्त्रणको काम गर्दै आएको छ ।

छोटी भन्सार सञ्चालन नभएको अवस्थामा पनि नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा करिब तीन अर्ब रूपैयाँ राजस्व असुली गरेको छ । चालु आर्थिक वर्ष २०८१–०८२ को साउन र भदौमा दुई अर्ब ९९ करोड ४३ लाख ५४ हजार रूपैयाँ राजस्व असुली भएको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी लम्सालले बताए ।

भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा एक अर्ब ५० करोड ३० लाख ३४ हजार रूपैयाँ र भदौमा एक अर्ब ४९ करोड पाँच लाख २० हजार रूपैयाँ राजस्व असुली गरेको हो । नेपालगन्ज भन्सारलाई हरेक महिनामा दुई अर्ब रूपैयाँभन्दा बढी राजस्व असुली गर्ने लक्ष्य दिए पनि गत दुई महिनाको तथ्यांक अनुसार हरेक महिनामा लक्ष्यभन्दा करिब ३० देखि ३५ प्रतिशत कम मात्र राजस्व असुली भएको सूचना अधिकारी लम्सालले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ असोज १६ गते बुधबार