सूचनाको शक्ति - The Power Of Information

        

हवाइ टिकट महँगियो हुँदा पनि अभाव

लगातार तीन दिन परेको पानीले गर्दा देशका विभिन्न स्थानमा गएको बाढीपहिरोका कारण राजमार्ग बन्द भएपछि हवाई टिकटको अभाव हुन थालेको छ । पहिरोको कारण उपत्यकाबाट बाहिरिने तथा भित्रिने मुख्य राजमार्गहरूमा अवरोध भएपछि मानिसहरू हवाई मार्गबाट जान खोज्दा हवाई टिकटको अभाव भएको हो ।

यात्रुले उच्च दरमै टिकट काटेर यात्रा गर्छु भन्दा पनि हवाई टिकट पाउन सकिरहेका छैनन् । उपत्यकाबाट बाहिरिने तथा भित्रिने मुख्य राजमार्गहरूमा अवरोध आउँदा हवाई यात्राको लागि अत्यधिक टिकटको माग छ । हवाई टिकटको अत्यधिक माग भएको अवस्थामा गाडीको जस्तो जहाजको ‘ट्रिप’ थप्न नसकिने बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले बताए ।

‘यात्रु धेरै भए भनेर जहाज कम्पनीहरूले थप उडान गरिहाल्न पाउँदैनन्,’ उनले भने, ‘कम्पनीले उड्डयन प्राधिकरणबाट अनुमति लिएर सोही अनुरूप सबै प्रक्रिया पु¥याएर मात्र थप उडान गर्न पाउँछ ।’ बाढीपहिरोको विपदले राजमार्ग बन्द भएको अवस्थामासमेत वायुसेवा कम्पनीहरूले टिकटको मूल्य अत्यधिक बढाएको भनेर विरोध भइरहेको छ ।

यसैक्रममा वायुसेवा सञ्चालक संघले यस विपदको घडीलाई विचार गर्दै असोज १४ देखि १६ गतेसम्म नेपाल सरकारले तोकेबमोजिम लिँदै आएको उच्चतम भाडादरमा टिकट नबेच्ने निर्णय गरेको थियो । जहाजको ‘अकुपेन्सी’ अनुसार त्यसको ७० प्रतिशत न्यूनतम भाडादरमा हवाई टिकट बेच्ने बताउँदै संघले १५ प्रतिशत ‘मिडल’ र त्यो पनि भरिएपछि १५ प्रतिशत उच्चतम भाडादरमा बेच्ने गरेको छ ।

अहिले विपत्को अवस्थालाई विचार गरी संघले आन्तरिकतर्फको हवाई टिकट न्यूनतम हवाई भाडादरमै बेच्ने निर्णय गरेकोमा राजमार्ग नबनिन्जेल टिकट मूल्य नबढाउने मन्त्रीको पहल यात्रुका लागि राम्रो भए पनि यसले कुनै सहजता र राहत नदिएको यात्रुको गुनासो छ ।

यसैक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको निर्देशनमा सडक पूर्ण रूपमा सञ्चालन नभएसम्म हवाइ टिकट सस्तोमा बेच्न पहल गरेका छन् । मन्त्री पाण्डेको विशेष पहलपछि सडक सञ्जाल सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम हवाई भाडा नलिन बायुसेवा कम्पनीहरू सहमत भएका छन् ।

मन्त्री पाण्डेकै निर्देशन अनुसार वायु सेवा सञ्चालक समितिले असोज १३ गते जारी गरिएको प्रेस विज्ञप्तिलाई कडाइका साथ कार्यान्वयन गर्ने र सडक सञ्जाल नियमित नभएसम्म महँगो भाडादरमा टिकट बिक्री नगर्ने भएका हुन् । यसअघि तीन दिनका लागि मात्र न्यूनतम भाडादरमा टिकट बिक्री गर्न सहमत भएका हवाई कम्पनीहरूले अहिले सडक यातायात पूर्ण रूपमा सञ्चालन नभएसम्म कम भाडादर मै टिकट बिक्री गर्ने भएका हुन् ।

मन्त्रीले टिकटको मूल्य सस्तोमा बेच्ने पहल गर्दैगर्दा काठमाडौंबाट हुने उडानमा वायुसेवा कम्पनीले टिकटको मूल्य अरूबेलाको भन्दा दोब्बर लिइरहेका छन् । राजमार्ग बन्दा हुँदा हवाई टिकटको माग अत्यधिक भएका कारण टिकटको अभाव हुँदा उपत्यकाबाट बाहिरिने हवाई टिकटको मूल्य न्यूनतम भाडादरमा कम्पनीले नदिने यात्रुहरूको बुझाइ छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार ०७:३२

लोकप्रिय