सूचनाको शक्ति - The Power Of Information

        

तत्काल पेट्रोलियम पदार्थ अभाव हुँदैन : आयल निगम

नेपाल आयल निगमले तत्काल पेट्रोलियम पदार्थ अभाव नहुने भएको जनाएको छ । निगमले पेट्रोलियम पदार्थ पर्याप्त मौज्दात रहेकाले अभाव नहुने बताएको हो ।

निगमका प्रवक्ता पूर्णप्रसाद रिजालले काठमाडौं उपत्यकामा एक हप्तालाई पुग्ने इन्धन मौज्दात रहेको जानकारी दिए । उनका अनुसार हाल पाँच हजार ३०० किलोलिटर पेट्रोल, छ हजार ३०० किलोलिटर डिजेल र चार हजार किलोलिटर हवाई इन्धन मौज्दात छ ।

वर्षाका कारण बाटो अवरुद्ध हुँदा उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्ति नियमित हुन सकेको छैन । लामो समयसम्म बाटो अवरोध भए बजारमा इन्धनको अभाव हुने सक्ने अनुमान गरिएको छ । तर निगमले भने बाटो अवरुद्ध रहिरहे सवारिसाधन कम चल्ने त्यति इन्धन पनि खपत हुँदैन ।

यता एलपी ग्यास उद्योग संघले खाना पकाउने ग्यास पनि तत्कालका लागि अभाव नहुने जनाएको छ । लामो समयसम्म आपूर्ति नियमित नभए बजारमा अभाव हुन सक्ने संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बताए । उनका अनुसार बुलेट र सिलिन्डर गरेर १५ देखि २० हजार मेट्रिक टनसम्म ग्यास मौज्दात छ ।

ग्यास कम्पनीका अधिकांश प्लान्ट उपत्यका बाहिर रहेकाले पनि बाटो बन्द हुँदा ग्यास उपत्यकामा आउन नसकेको संघले जनाएको छ । हाल बजारमा ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ९१० रुपैयाँ, पेट्रोल १५९ र डिजेल १४९ रुपैयाँ छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार १२:११

लोकप्रिय