सूचनाको शक्ति - The Power Of Information

        

सडक सञ्जाल अवरुद्ध

विपत्तिमा विमान कम्पनीको लुटधन्दा

यात्रुको चाप बढेपछि विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडे ।

बिहीबारदेखि परेको अबिरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरो जाँदा सडक सञ्जाल अवरुद्ध भएको छ । यस्तो अवस्थामा हवाई यात्रुको चाप बढेको छ । यही मेसोमा यात्रुको चाप बढेपछि विमान कम्पनीहरुले सस्तो दरका टिकट बिक्री गर्न छाडेर विपद्को समयमा विमान कम्पनीले लुटधन्दा मच्चाएका छन् ।

यस्तो समयमा विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडेपछि चर्को आलोचना भएको छ । बाढीपहिरोका कारण अहिले विभिन्न जिल्लाबाट काठमाडौँ आउने मुख्य राजमार्ग अवरुद्ध छन् । विपत्तिका बेला विमान कम्पनीहरुले सस्तो दरका टिकट बिक्री गर्न छाडेर यात्रुहरुलाई महंगो टिकट काट्न बाध्य बनाउँदै लुटधन्दा मच्चाएका छन् ।

यस्तो अवस्थामा यातायातको एकमात्र विकल्पका रुपमा रहेको हवाई उडानको भाडादरमा उल्लेख्य वृद्धि भएपछि आलोचना भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भूलले हाल अधिकांश सडक अवरुद्ध भएको अवस्थामा यात्रुको चाप बढेकाले हवाई भाडा बढेको हुनसक्ने बताए ।

‘विमान कम्पनीहरुले लिएको भाडा गैरकानुनी होइन, प्राधिकरणले न्यूनतम र अधिकतम भाडादर तोकेको हुन्छ सोहीअनुसार विमान कम्पनीले भाडा निर्धारण गर्ने चलन छ,’ सूचना अधिकारी भूलले भने । उनले विमान कम्पनीलाई यात्रुलाई राहत हुने गरी हवाई भाडा लिन आग्रह समेत गरिएको बताए ।

वायुसेवा सञ्चालक सङ्घ नेपालका अध्यक्ष मनोज कार्कीले विपद्मा नागरिकको यात्रालाई सहज बनाउन आफूहरु लागेको दाबी गरे । उनले भने, ‘हवाई भाडादरको माथिल्लो शुल्क नलिनका लागि आजै बैठक बसेर कम्पनीहरुलाई भनिसकेका छौँ, अहिले सस्तो दरमा मात्रै टिकट बिक्री भइरहेको छ ।’ श्री एयरलाइन्सका संस्थागत प्रवन्धक अनिल मानन्धरले नियमित दरमै टिकट उपलब्ध गराइरहेको दाबी गरे ।

‘सिटको उपलब्धताको आधारमा टिकट बिक्री गरिरहेका छौँ, सरकारले तोकेको दरभन्दा बढी रकम लिएका छैनौँ,’ उनले भने । काठमाडौँ–विराटनगरको एकतर्फी रु सात हजार ५०० बिक्री भइरहेको अवस्थामा विमान कम्पनीहरुले बढाएर रु नौ हजार ९०० पुर्याएको जनाइएको छ ।साथै काठमाडौँ–धनगढीको एकतर्फी भाडा रु १७ हजारसम्म निर्धारण गरिएको छ । हाल काठमाडौँ प्रवेश गर्ने मुख्य नाकामा सडक अवरुद्ध छ ।

यस्तो अवस्थामा यात्रुहरुसँग हवाई उडानको विकल्प छैन । काठमाडौँ भित्रने धादिङको झ्याप्ले खोलामा पहिरो खस्दा यातायात अवरुद्ध छ ।काठमाडौँबाट तराई जोड्ने विपी राजमार्गको रोशिखोला लगायत स्थानमा पहिरोले सडक बगाएपछि काठमाडौँ आवतजावत गर्ने सवारी साधन रोकिएका छन् । हाल देशभरका ४१ राजमार्गमा ६४ स्थानमा सडक अवरुद्ध रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुनीलबाबु ढकालले जानकारी दिए ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतवार १६:४८

लोकप्रिय