सूचनाको शक्ति - The Power Of Information

        

सहकारी रिपोर्ट

नौ वटा सहकारी डुबाउने ६ वटा मिडियाको हिसाबकिताब

नौ सहकारीले ११ अर्ब जति रकम ६ वटा मिडियामा डुबाएर बचतकर्तालाई बिल्लीबाँठ बनाइदिए ।

२०७७ सालमा काठमाडौंका मुख्य सडक छेउछाउमा टेलिभिजन कार्यक्रमबाट उदाएका नेपाली मूलका अमेरिकन नागरिक रवि लामिछानेको आदमकद पोस्टर सहित नयाँ टेलिभिजन खुल्दै गरेको धूवाँदार प्रचार गरियो । ती पोस्टरमा टेलिभिजन स्टार विजयकुमार, म्याग्सेसे विजेता महावीर पुन, चलचित्र क्षेत्रका ‘नायक’ राजेश हमाल, चलचित्रकर्मी दीपक गिरी, संगीतकर्मी कालीप्रसाद बास्कोटा जस्ता चर्चित व्यक्तिका कार्यक्रम हुने भन्दै तिनका पोस्टर पनि टाँसिएका हुन्थे ।

तर ती तस्वीरमा सबैभन्दा ठूलो र अग्लो चाहिं लामिछानेकै राखिएको हुन्थ्यो । त्यो टेलिभिजनको नामकरण गरियो– ग्यालेक्सी टेलिभिजन । त्यसका प्रबन्ध निर्देशक रवि स्वयं थिए, जो सम्पादकीय विभाग पनि आफैं हेर्दथे । विभिन्न मिडिया हाउसबाट आकर्षक तलब दिई लगिएका अनुभवी पत्रकार र व्यवस्थापकले ग्यालेक्सी कार्यालय भरिभराउ थियो । हायात होटलमा ठूलो तामझाम सहित टेलिभिजनको शुभारम्भ गरिएको थियो ।

विभिन्न मिडिया हाउसबाट पत्रकारहरू लगेर ग्यालेक्सी टेलिभिजनलाई ‘नयाँ उचाइ दिइएको’ बताइएको थियो । टेलिभिजनको स्टुडियो र क्यामेराहरू पनि विश्व बजारमा चलेका महँगा र अत्याधुनिक राखिएका थिए । त्यतिवेला एक नेटवर्क व्यापारी गितेन्द्रबाबु (जीबी) राईले यत्रो तामझाम गर्ने पैसा कहाँबाट जम्मा गरे भन्ने खासखुस चलेको थियो । त्यति वेला ग्यालेक्सीमा राम्रो तलब दिएर कान्तिपुरबाट लगिएका एक पत्रकारको भनाइमा राईलाई हङकङका व्यापारीका रूपमा पनि चिनाइएको थियो ।

यो काम ग्यालेक्सीका प्रबन्ध निर्देशक रविले नै गरिरहेका थिए । तर संसदीय समितिको विशेष छानबिन समितिको प्रतिवेदन आएपछि थाहा भयो, ग्यालेक्सी टेलिभिजन त सर्वसाधारणले खाईनखाई जम्मा गरेको सहकारीको पैसाले पो सञ्चालन गरिएको रहेछ । जीबी राईको अध्यक्षतामा खोलिएको गोरखा मिडिया नेटवर्क प्रालिबाट यो टेलिभिजन सञ्चालन गरिएको थियो । कम्पनीको संस्थापक शेयरधनी जीबी राई र नेपाल प्रहरीका सेवानिवृत्त अधिकृत छविलाल जोशी थिए ।

२०७७ सालकै अन्तिमतिर कम्पनीमा रवि लामिछाने पनि जोडिन आइपुगेका थिए । गोरखा मिडियामा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था (पोखरा), सहारा बहुउद्देश्यीय सहकारी संस्था (चितवन), सुप्रिम बचत तथा ऋण सहकारी संस्था (बुटवल), स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था (काठमाडौं) र सानोपाइला बचत तथा ऋण सहकारी संस्था (वीरगन्ज)बाट ६५ करोड ५४ लाख चार हजारभन्दा बढी रकम ल्याइएको प्रतिवेदनमा उल्लेख छ । यी सहकारीबाट ऋण लिएर मिडिया चलाए पनि उक्त ऋण चाहिं तिरेको देखिंदैन ।

जीबी, छवि र रविको नाममा प्रवाह भएको ऋण ग्लोबल आइएमई ब्यांकमा रहेको गोरखा मिडिया नेटवर्कको खातामा जम्मा गरिएको छ । सुप्रिम सहकारीबाट मात्र २०७७ र २०७८ सालमा १० करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडियामा भित्र्याइएको थियो । यसरी सहकारी ठगीमा संलग्न जीबी हाल विदेशमा बेपत्ता छन् भने छविलाई ६ गते पक्राउ गरिएको छ । एकै प्रकृतिको अपराधमा संलग्न छविलाई पक्राउ गरिएको हुनाले अब राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्व गृहमन्त्री रविलाई पनि पक्राउ गर्ने बाटो खोलिदिएको छ ।

यस प्रतिवेदनबाट ‘१२ भाइ’ भन्दै मिडिया संस्थानलाई सार्वजनिक तहमै सत्तोसराप गर्ने रवि स्वयंले कसरी एउटा नेटवर्क व्यवसायी र नेपाल प्रहरीका पूर्व अधिकारीसँग मिली जनताको पैसा मिडियामा लगानी गरेका रहेछन् भन्ने रहस्योद्घाटन हुन गएको छ । रिपोर्टमा उल्लेख भए बमोजिम शुरूमा जीबीले गोर्खा मिडियाबाट उपराष्ट्रपति दिपेश पुनको अगुवाइमा नागरिकखबर डटकम अनलाइन सञ्चालन गरेका थिए । त्यसका निम्ति सूर्यदर्शन सहकारीको करीब करोड पैसा लगानी गरेको बताइन्छ । तर त्यो अनलाइनले सोचे जस्तो प्रभाव पार्न नसकेपछि जीबी न्यूज–२४ मा ‘सीधा कुरा जनतासँग’ कार्यक्रम चलाइरहेका रविकहाँ पुगेका थिए ।

त्यसपछि जीबीको नियन्त्रणमा रहेका देशभरका सहकारीबाट लगानी छिराई तामझाम सहितको ग्यालेक्सी फोरके टेलिभिजनको यात्रा प्रारम्भ गरियो जसले जीबी, छवि र रविलाई अहिलेको अवस्थासम्म ल्याइपुर्यायो । ती त फसे फसे, उनीहरूको बदमासीसँगै लगानीकर्ताको अर्बौं डुब्न गयो । जीबी, छवि र रविले जसरी सहकारीको मोटो रकम मिडियामा खन्याएर डुबाउनेहरू अरू पनि छन्, जसलाई प्रतिवेदनमा प्रस्ट रूपमा उल्लेख गरिएको छ । त्यसमध्येको एक हो, ललितपुरको कुमारीपाटीस्थित कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था ।

यो सहकारीले टेलिभिजनमा लगानी गरेको पाइएको छ । उक्त सहकारीका अध्यक्ष तथा कार्यकारी प्रमुख तेजविक्रम थापा हुन् । आर्थिक वर्ष २०५६–०५७ मा स्थापना भएको सहकारीले स्थापनाकालदेखि नै कृषि टेलिभिजनमा लगानी गरेको छ । टेलिभिजनका अध्यक्ष पनि थापा नै हुन् । थापाले २०७३ सालमा सहकारीकै पैसाले टेलिभिजन सञ्चालन गरेका थिए । छानबिन विशेष संसदीय समितिको प्रतिवेदनमा ब्याज सहित पाँच करोड ४९ लाखभन्दा बढी रकम कृषि टेलिभिजन नेटवर्क प्रालिको नाममा देखिन्छ । थापाको यस सहकारीमा २५ सयभन्दा बढी बचतकर्ताको दुई अर्ब ८२ करोडभन्दा बढी रकम डुबेको छ । २०८० माघ २६ गते यस सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको थियो ।

त्यसैगरी, ललितपुरको पुल्चोकमा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पनि दुई वटा मिडियामा लगानी गरेको छ । २०५६ सालमा स्थापना भएको यस सहकारीमा ६ जना अध्यक्ष फेरिएका छन् । तर प्रारम्भदेखि नै कार्यकारी भूमिकामा रहेका सुरेन्द्र भण्डारीले नै हालसम्म सचिव तथा कार्यकारी प्रमुख भएर काम गर्दै आएका छन् । भण्डारीकै एकल निर्णयमा सहकारी चल्दै आएको छानबिन समितिको निष्कर्ष छ । सहकारीबाट पेज टू प्रिन्ट मिडिया प्रालिमा २१ करोड ४० लाख १७ हजार रुपैयाँभन्दा बढी लगानी भएको छ भने एभिन्यूज नेटवर्क प्रालिमा ६ करोड ८९ लाख तीन हजार रुपैयाँभन्दा धेरै लगानी छ ।

यो नेटवर्कले एभिन्यूज टेलिभिजन सञ्चालन गर्दै आएको छ । एभिन्यूज नेटवर्क प्रालिका अध्यक्ष भास्करराज राजकर्णिकार ‘मिडिया अलायन्स नेपाल’ का अध्यक्ष पनि हुन् । लालीगुराँस बहुउद्देश्यीय सहकारी २०८० फागुन २९ गते समस्याग्रस्त घोषणा भएको हो । भक्तपुरको कौशलटारस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पनि उपकार मिडिया ग्रूप प्रालिमा ६ करोड दुई लाख २७ हजार रुपैयाँभन्दा बढी लगानी गरेको छ । विभिन्न सहकारी एकीकरण भई २०७७ सालमा शिवशिखर बहुउद्देश्यीय सहकारी बनेको थियो । केदारनाथ शर्माले चलाउँदै आएको भए पनि २०७८ सालमा सुशील बानियाँलाई अध्यक्ष बनाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

उपकार मिडिया ग्रूप प्रालि पनि शर्माकै साझेदारी रहेको कम्पनी हो । यस कम्पनीले अर्थन्यूज टेलिभिजन सञ्चालन गरेको थियो । मिडियाकर्मीमाझ हल्लाखल्ला गरी स्थापना गरिएको यो टेलिभिजन पनि करीब एक वर्ष जति चलेको थियो । यी बाहेक क्यापिटल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले पनि द प्रेस अनलिमिटेड प्रालिमा तीन करोड ८३ लाखभन्दा धेरै रकम लगानी गरेको छ । सहकारीका अध्यक्ष रामचन्द्र शर्मा हुन् भने प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेल हुन् । हाल पौडेल सम्पर्कविहीन रहेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । सहकारीको प्रमुख कार्यालय क्षेत्रपाटी, ठमेलमा र यसको सेवा केन्द्र न्यूरोडमा रहेको बताइएको छ ।

स्रोत : हिमालखबर
प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार ११:५८

लोकप्रिय