सूचनाको शक्ति - The Power Of Information

        

सन्दर्भ : विपी जन्मजयन्ती

जनविद्रोह र परिवर्तनको दिनगिन्ती !

लोकतान्त्रिक गणतन्त्रको नाममा जबसम्म यस्तो शासकीय विकृति कायम रहन्छ देशमा नौलो र सुखद दिनको श्रीगणेश हुने अपेक्षा गर्नु निरर्थक हुन्छ ।

यो देशले वर्तमानका पात्रहरूबाट कुनै पनि तहमा विधिको शासन, सदाचार र लोककल्याणकारी राज्यको अपेक्षा गर्नु व्यर्थ भएको छ । कथित गणतन्त्रका राजाहरू ओली, देउवा र प्रचण्ड (उदण्ड)हरू मुलुकको वर्तमान र भविष्य समेत तहसनहस हुने खालका अरवौंको भ्रष्टचारको मामिलामा तैं चुप मै चुपको सहमति र एकले अर्कोलाई बचाउने कसरतमा मग्न छन् ।

बिचौलिया र दलालहरूको बोलवाला किन जिउँदो जाग्दो छ भने यिनीहरूलाई संरक्षण, अभयदान र सहजीकरण गरिदिनेहरू सत्तामा पकड बनाएर बिराजमान छन् । त्यसैले, कमिसन, घुस र आपराधिक कमाईको ठूलो हिस्सा प्रमुख नेताहरूको घर घरमै पुर्याइदिने गरेका छन् । लोकतान्त्रिक गणतन्त्रको रुप र छवि यिनै चरित्र र क्रियाकलाप हो भन्ने घामजस्तै छर्लङ्ग र साझा ठहर जनताले गरिसकेका छन् ।

लोकतान्त्रिक गणतन्त्रको नाममा जबसम्म यस्तो शासकीय विकृति कायम रहन्छ देशमा नौलो र सुखद दिनको श्रीगणेश हुने अपेक्षा गर्नु निरर्थक हुन्छ । प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो भन्ने राजनीतिशास्त्रको म जस्ता विद्यार्थीहरूले यो लुटतन्त्र जरैदेखि उखेलेर अर्थतन्त्रलाई मजवुत बनाई देशमा अमनचैन बनाई जनतालाई सुख, शान्ति, सुरक्षा र समृद्धि दिने जुनसुकै किसिमको शासकीय परिपाटीलाई पनि स्वीकार्नुपर्ने बाध्यता सबल भइरहेको छ ।

परिवर्तनको दिन पर्खनुलाई समयमा नै जिम्मेवारहरूले बुझ्न सकेनन् भने यिनीहरूका आपराधिक शासनको दर्दनाक र बीभत्स विसर्जन अवश्यम्भावि छ । अबको जनआन्दोलन यिनै नेताविरुद्ध लक्षित छ । आक्रोश र विद्रोहको बारुद दिनदिनै भरिंदै आएको छ । यसको विष्फोटन कुन दिन होला, दिन बताउन सकिन्न, तर श्रीलंका र बांग्लादेशपछि विष्फोटक परिस्थितिको पालो नेपाल नै हो भन्ने चैं निर्विवाद छ भन्ने सचेतनाको लागि माथापच्ची गरिरहनुपर्दैन ।

अन्त्यमा, भदौं २४ गते त्याग र बलिदानका प्रतिमूर्ति, नेपालीका आस्थाका पुन्ज, प्रजातान्त्रिक समाजवादका प्रणेता, महामानव स्व. विपी कोइराला जन्मेको दिन । उहाँकै छत्रछाँयामा हुर्किएको अविछिन्न प्रजातन्त्रको सुनौला राजनीतिक यात्रा आज छिन्नभिन्न बनाइएको छ । उहाँकै अनुयायीहरूबाट भत्काइएको छ, तसर्थ विधिको शासन, सदाचार र लोककल्याणकारी राज्यको लागि, पुनः एकपटक काँग्रेसका जिम्मेवारहरूमा सदबुद्धि आवस् शुभकामना, यहि श्रद्धेय विपीप्रति सच्चा श्रद्धान्जली हुनेछ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलवार १५:१०

लोकप्रिय