सूचनाको शक्ति - The Power Of Information

        

एक वर्षमै १२ हजार बढी चारपाङ्ग्रे विद्युतीय गाडी भित्रिए

गएको आर्थिक वर्ष २०८०–०८१ मा नेपालमा १२ हजार वटाभन्दा धेरै चारपाङ्ग्रे विद्युतीय गाडीको आयात भएको छ । भन्सार विभागका अनुसार गएको वर्ष विभिन्न देशबाट १२ हजार एक सय ४७ वटा विद्युतीय गाडी नेपालमा भित्रिएका हुन् ।

यो अघिल्लो आर्थिक वर्ष २०७९–०८० को भन्दा १९२ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा चार हजार ५१३ वटा विद्युतीय गाडी भित्रिएका थिए । गएको वर्ष नेपालमा आयात भएका १२ हजार १४७ वटा गाडीमध्ये ७२ प्रतिशत चीनबाट आयात भएका छन् ।

चीनबाट नौ हजार ५११ वटा विद्युतीय गाडी आयात भएको भन्सार विभागले जनाएको छ । चीनबाट आयात हुने गाडीमध्ये बीवाईडीको हिस्सा सबैभन्दा धेरै छ । चीनबाट ओमोडा, एमजी, डिपल, सेरेस, किङलङ, केवाईसी, नेटा, ग्रेट वाल मोटर्स लगायत गाडी भित्रिएका छन् ।

यस्तै नेपालमा आयात भएका विद्युतीय गाडीमध्ये भारतबाट तीन हजार ४३६ वटा आयात भएका छन् । भारतबाट टाटा, सिट्रोन, महिन्द्रा जस्ता ब्रान्डका गाडी पनि भित्रिएका छन् । यसैगरी कोरिया, इन्डोनेसिया लगायतका देशबाट पनि विद्युतीय गाडीको आयात भएको छ ।

समग्रमा गएको आर्थिक वर्षमा ३३ अर्ब ७८ करोड रुपैयाँ बराबरका चार पाङ्ग्रे विद्युतीय गाडी आयात हुँदा सरकारले १४ अर्ब ३४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको भन्सार विभागले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार १८:४८

लोकप्रिय