सूचनाको शक्ति - The Power Of Information

        

भुक्तानी नपाएपछि दूध उत्पादक किसान निरुत्साहित

चितवनका दूध उत्पादक किसानहरुले दूध उत्पादन वृद्धि गर्न छाडेका छन् । विगत ६ महिनादेखि दूधको भुक्तानी नपाएका किसान उत्पादन वृद्धि हुने समयमा समेत उत्पादन वृद्धिमा ध्यान दिन छाडेका हुन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष किशोर बगालेका अनुसार बजारीकरणमा समस्या हुने देखिएपछि जिल्लाका दुग्ध उत्पादक किसानले दूध उत्पादन वृद्धि हुने समयमा पनि उत्पादन बढाउन चासो नदेखाएका हुन् ।

‘अहिले दूध उत्पादन गर्ने किसानले दोबर उत्पादन गर्न सक्छन्, तर बजारीकरणमा समस्या हुँदा उत्पादन वृद्धिमा चासो नदिएका हुन्,’ बगालेले भने । बजारीकरणमा समस्या हुने डर र बिक्री भएको दूधको रकम लामो समयसम्म भुक्तानी नहुँदा यहाँका किसान पलायन हुने अवस्थामा पुगेको उनले बताए । सरोकारवाला निकायले किसानका कुरामा ध्यान नदिँदा दुग्ध उत्पादक किसान मारमा परेको नेपाल किसान महासंघका जिल्ला सचिव इन्द्रमणि गैरेले बताए ।

बाहिरबाट अनाधिकृतरुपमा आयात हुने दूधका कारण यहाँ दूध उत्पादन वृद्धि हुन नसकेको हो । उनले भने, ‘अहिले दूध उत्पादन वृद्धि हुने समय हो, तर सोचे जस्तो उत्पादन हुनसकेको छैन किसान दूध उत्पादन वृद्धि गर्न डराउँछन् ।’ अध्यक्ष बगालेका अनुसार निजी क्षेत्र र सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)सँग गरी ७२ करोड रूपैयाँ दूधको भुक्तानी लिन बाँकी छ ।

‘भुक्तानीका लागि पटक–पटक धाउनपर्छ, थोरै–थोरै गरेर भुक्तानी आउँछ,’ बगालेले भने, ‘हालको भन्दा बढी दूध उठाउने पक्षमा कोही छैनन् ।’ उनले चितवनबाट दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने र जसमध्ये जिल्लामै एक लाख ५० हजार लिटर खपत हुने जानकारी दिए । जिल्लामा साउन महिनामा गत वर्ष जस्तो दूधको माग नभएको बगालेले बताए । अहिले जिल्लामा ४० हजार बढी दूध उत्पादक किसान छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार ०७:२१

लोकप्रिय