राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री तथा प्रवक्ता मुकुल ढकाललाई पदमुक्त गरेको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले उनलाई महामन्त्री तथा प्रवक्ता मुकुल ढकाललाई पदमुक्त गर्ने निर्णय गरेको हो ।
रास्वपाले डा मुकुल ढकाललाई पदीय जिम्मेवारीबाट हटाए पनि साधारण सदस्यता भने कायमै राखेको छ । बैठकको निर्णय सुनाउँदै कार्यवाहक प्रवक्ता मनीष झाले ढकाललाई साधारण सदस्य कायम रहने गरी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको बताए ।
असार १९ गतेको रास्वपा केन्द्रीय समिति बैठकले पार्टी अनुशासनको सन्दर्भमा महामन्त्री तथा प्रवक्ता ढकाललाई गरिएको निलम्बन र त्यसका आधारमा केन्द्रीय अनुशासन आयोगलाई विस्तृत छानविन गरी प्रतिवेदन केन्द्रीय समितिमा बुझाउन दिएको निर्देशन दिएको थियो ।
सोही बमोजिम केन्द्रीय अनुशासन आयोगबाट असार २३ गते प्राप्त प्रतिवेदनमाथि केन्द्रीय समितिमा गहन छलफल भएपछि आयोगका प्रमुख डा.भरत देवकोटाले प्रतिवेदन तयार पारी केही दिनअघि नै सभापति रवि लामिछानेलाई बुझाएका थिए ।
बैठकमा अराजकरुपमा प्रस्तुत भएको तथा पार्टीकोविरुद्ध गतिविधि गरेको भन्दै उनी निलम्बनमा परेका थिए । अनुशासन आयोगको सिफारिस केन्द्रीय समितिबाट अनुमोदन भएमा ढकालको दुई वर्षे राजनीतिक यात्रा रास्वपामा बिसर्जनको संघारमा पुगेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं