सोमबार मध्यराति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको समझदारीबारे मंगलबार बिहानै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार पुगेर ब्रिफिङ गरेका छन् ।
लगभग साढे ९ बजे बालुवाटार पुगेका ओलीले केहीबेर बसेर ओलीले प्रचण्डलाई राष्ट्रिय सहमतिको सरकार बनाउन समझदारी गरेको सुनाए । सरकारी निवास बालुवाटारमा उनीहरूबीच भएको केहीबेरको छलफलमा ओलीले आफू दुई तिहाईको प्रधानमन्त्री बन्न लागेको, संविधान संशोधन लगायतका विषयमा काम गर्ने समझदारी भएको र त्यसमा माओवादीलाई पनि आउन आग्रह गरेको बताइएको छ ।
ओलीले यस्तो बताइरहँदा प्रचण्ड मौन भएर सुनिरहेका थिए । प्रचण्डको सचिवालयका एक सदस्यले बताए अनुसार, ओलीले भूमिका बाँधेर कुरा गर्न थालेपछि प्रचण्डले प्रष्ट कुरा राख्न भनेका थिए । ‘जे कुरा भएको हो, सिधा सिधा भन्नुस्, किन घुमाउनुहुन्छ,’ प्रचण्डले ओलीलाई भनेको कुरा उदृत गर्दै सचिवालयका ती सदस्यले भने ।
त्यसपछि ओलीले पदबाट राजीनामा दिएर आफू नेतृत्वको सरकारमा आउन भने । त्यसमा प्रचण्ड मौन बसे । उनले केही भनेनन् । प्रचण्डले मार्गप्रशस्त गर्ने वा विश्वासको मत लिने बाटोमा जाने भन्नेबारे ओलीलाई प्रष्ट भनेनन् । ‘पार्टी बैठकमा छलफल गरेर निर्णय लिन्छु, अहिलेलाई यत्ति भनेँ,’ प्रचण्डले ओलीलाई भनेका थिए । यसअघि आइतबार र सोमबार प्रधानमन्त्री प्रचण्ड र ओलीबीच लगातार छलफल चलिरहेको थियो ।
ओलीसँगको छलफललाई विश्वास गरेका प्रचण्डले सोमबार साँझको मन्त्रिपरिषद् बैठकमा पनि यो सरकार लामै समय जाने बताएका थिए । एमालेले कांग्रेससँग गरेको सहकार्यले माओवादी केन्द्र के गर्ने भन्ने अन्योलमा छ । सोमबार मध्यराती (सवा १२ बजे) काङ्ग्रेस–एमालेबीच सरकार बनाउने सहमति भएको थियो । काङ्ग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा हस्ताक्षर गएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं