२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

प्रमुख दलका शीर्ष नेताहरुको बैठक आज पनि बस्दै

राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको संयुक्त बैठक आज फेरि बस्दै छ ।

बुधबार बेलुकाको छलफल टुंगोमा पुग्न नसकेपछि बिहीबार बिहान ९ बजे फेरि बैठक बस्न लागेको एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

बिहीबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताको संयुक्त बैठक बसेको थियो । सो बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभाको सिट बाँडफाँटमा एमालेलाई नछुटाउन आग्रह गरेका थिए ।

एमालेको सो आग्रहबारे के गर्ने भन्ने टुंगो नलागेपछि आ-आफ्नो दलभित्र छलफल गरेर पुनः बैठक बस्ने सहमति भएको थियो । सोही सहमति अनुसार आज बिहान दलका शीर्ष नेताहरु फेरि बैठक बस्न लागेका हुन् ।

राष्ट्रियसभाका २० सदस्यको कार्यकाल आगामी २० फागुनमा सकिँदै छ, जसमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनासहित ९ जना एमालेबाट निर्वाचित सदस्य छन् ।

कार्यकाल सकिनुभन्दा एक महिना अघि नै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था भएकाले आगामी माघ ११ गते निर्वाचन हुँदैछ । त्यसका लागि यही पुस २३ गते मनोनयन दर्ता हुँदै छ ।

प्रकाशित मिति : २०८० पुस १९ गते बिहीबार