२०८३ वैशाख १५ , मंगलबार 28, April 2026, Tuesday

२१ कात्तिकदेखि एफपीओ निष्कासन गर्दै उन्नति सहकार्य लघुवित्त

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक १२ गते आइतबार

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले २१ कात्तिकदेखि धितोपत्रको थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम संस्थापक र साधारण सेयर संरचना कायम गर्न एफपीओ जारी गर्ने भएको हो ।

साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त गाभिएपश्चात बनेको उन्नति सहकार्य लघुवित्तको पुँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत रहेको थियो । सोही पुँजी संरचना बैंक तथा वित्तीय संस्था सम्बन्धी  ऐन अनुसार ७० : ३० को अनुपात कायम गर्न कम्पनीले एफपीओ जारी गर्ने भएको हो ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको १ लाख ७८ हजार ४५१.१८ कित्ता सेयर निष्कासन गर्न लागेको हो । उक्त एफपीओमा लगानीकर्ताले २४ कात्तिकसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसारको आवेदन नपरेमा अवधि ५ मंसिरसम्म थप हुनेछ ।

लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सकिनेछ । लघुवित्तले एफपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त गरेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको सफ्टवेयर ‘मेरो सेयर’ मार्फत आवेदन दिन सक्नेछन्।

लघुवित्तले एफपीओ निष्कासनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ बी प्लस’ प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

हाल लघुवित्तको चुक्ता पुँजी २२ करोड ९० लाख २० हजार ६१८ रुपैयाँ २९ पैसा रहेको छ। एफपीओ निष्कासनपश्चात लघुवित्तको चुक्ता पुँजी २४ करोड ६८ लाख ६५ हजार ७३६ रुपैयाँ ३२ पैसा पुग्नेछ ।

प्रकाशित मिति : २०८० कात्तिक १२ गते आइतबार