दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा कर्णाली रंगशाला खेलाडीको प्रतिस्पर्धा र खेलकौशल प्रदर्शन गर्ने थलोमा मात्र सीमित हुने छैन । त्यहाँ कर्णालीका १० वटै जिल्लाको मौलिक कला, संस्कृति, परम्परा र जीवनशैली समेत झल्किनेछ ।
परम्परागत नाचगान, बाजागाजा, सांस्कृतिक झाँकी र राउटे समुदायको प्रस्तुतिमार्फत कर्णालीको मौलिक पहिचान झल्काउने तयारी छ । मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने प्रतियोगिताको उद्घाटन समारोहलाई कर्णालीको सांस्कृतिक विविधता प्रदर्शन गर्ने अवसरका रूपमा उपयोग गर्न खोजिएको हो ।
त्यसका लागि प्रदेशका १० वटै जिल्लाको प्रतिनिधित्व हुने गरी सांस्कृतिक प्रस्तुतिहरू समावेश गर्ने योजना बनाइएको छ । जिल्लागत पहिचान झल्काउने भेषभूषा, नाचगान, परम्परागत बाजागाजा र मौलिक झाँकीले उद्घाटन समारोहलाई फरक स्वरूप दिने अपेक्षा गरिएको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन चन्दका अनुसार, कर्णालीका प्रत्येक जिल्लाका सांस्कृतिक पहिचान झल्किने प्रस्तुति दिन लागिएको छ । कर्णालीमा हुड्के, देउडा, मागल, फाग, धमारी, टप्पा, सिंगारु लगायतका संस्कृति चर्चित रूपमा रहेका छन् ।
प्रतियोगितामा सातै प्रदेशका खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी र खेलप्रेमीहरू सहभागी हुने भएकाले उनीहरूलाई कर्णालीको संस्कृति चिनाउने अवसरका रूपमा पनि हेरिएको छ । यही अवसरलाई ध्यानमा राखेर प्रदेश सरकारले खेलकुद आयोजनासँगै सांस्कृतिक पहिचानको प्रवद्र्धनलाई समेत प्राथमिकतामा राखेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रतियोगितालाई खेलकुदको दायराभन्दा बाहिर विस्तार गरेर कर्णालीको सामाजिक, सांस्कृतिक र पर्यटकीय पहिचान प्रस्तुत गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।
उनका अनुसार, अन्य प्रदेशबाट आउने खेलाडी र पाहुनाको स्वागत तथा सत्कारमा प्रदेशवासीको सहभागिताले कर्णालीको छुट्टै पहिचान स्थापित गर्न सक्नेछ । उद्घाटन समारोहलाई थप आकर्षक र स्मरणीय बनाउन आतिशबाजी तथा प्याराग्लाइडिङ प्रदर्शन गर्ने प्रस्ताव समेत अघि सारिएको छ ।
