२०८३ कात्तिक २० , शुक्रबार 6, November 2026, Friday

तिहार लक्षित दुई अर्ब ४४ करोडको ‘भाइ मसला’ आयात

नेपालीहरूको दोस्रो ठुलो चाड तिहार (दीपावली) तथा छठ पर्वलाई लक्षित गरी चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो तीन महिनामा मात्रै करिब साढे दुई अर्ब रुपैयाँ बराबरको भाइ मसला नेपाल भित्रिएको छ । भाइ मसला भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएर सगुनका रूपमा दिने प्रचलन छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चाडपर्वमा अत्यधिक खपत हुने ओखर, काजु, बदाम, किसमिस र नरिवलको आयातका लागि मात्रै चालु आर्थिक वर्षको तीन महिनामा दुई अर्ब ४४ करोड १४ लाख ७८ हजार रुपैयाँ बाहिरिएको हा । त्यसबाट राज्यले ५९ करोड ३३ लाख १५ हजार रुपैयाँ भन्सार राजस्व सङ्कलन गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आयात भएका पाँच वस्तु (ओखर, बदाम, ओखर, काजु र किसमिस)हरूको विवरण हेर्दा सबैभन्दा धेरै रकम ओखर आयातमा खर्च भएको देखिन्छ । यस अवधिमा ६५ करोड ३९ लाख ९९ हजार रुपैयाँ बराबरको १५ लाख २५ हजार २५० किलोग्राम ओखर आयात भएको छ । जसबाट १५ करोड ८९ लाख ७० हजार रुपैयाँ राजस्व उठेको छ ।

ओखर मुख्यतया चीनबाट ४७ करोड दुई लाख र अमेरिकाबाट १८ करोड ३६ लाख रुपैयाँको आयात गरिएको हो । त्यस्तै, भाइ मसला र पूजाआजा दुवैमा अनिवार्य मानिने नरिवल परिमाणका हिसाबले सबैभन्दा धेरै आयात भएको छ । तीन महिनामै एक करोड १४ लाख छ हजार २०७ किलोग्राम नरिवल ५६ करोड ६० लाख ७० हजार रुपैयाँमा आयात भएको छ भने यसबाट ११ करोड १० लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । नरिवलको आयात पूर्ण रूपमा भारतमा निर्भर छ ।

यसैगरी, बदाम (हाडे र कागजी) तर्फ पाँच लाख नौ हजार ७८ किलोग्राम आयात भएको छ । जसको आयात मूल्य ४७ करोड ९३ लाख ३५ हजार रुपैयाँ छ भने यसबाट ११ करोड ६५ लाख ५३ हजार रुपैयाँ राजस्व उठेको छ । बदामको मुख्य आयात संयुक्त राज्य अमेरिकाबाट मात्रै ४७ करोड ४२ लाख रुपैयाँ बराबरको भएको छ । भाइ मसलामा लोकप्रिय काजु यस अवधिमा ४६ करोड ५७ लाख २६ हजार रुपैयाँको (चार लाख ६९ हजार ५१६ किलोग्राम) आयात भएको छ ।

यसबाट राज्यले १३ करोड ९५ लाख ५२ हजार रुपैयाँ राजस्व पाएको छ । काजु मुख्यतया भारतबाट २५ करोड २८ लाख र भियतनामबाट २१ करोड २७ लाख रुपैयाँको भित्रिएको छ । त्यस्तै, किसमिसतर्फ सात लाख ३३ हजार ५९८ किलोग्राम आयात हुँदा २७ करोड ६३ लाख ४९ हजार रुपैयाँ बाहिरिएको छ भने छ करोड ७१ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

किसमिसको मुख्य हिस्सा चीनबाट १९ करोड ९१ लाख र भारतबाट सात करोड ७० लाख रुपैयाँको आयात भएको छ । यस्तै ओखर पनि १५ लाख २५ हजार किलो आयात भएको छ । जसको मूल्य ६५ करोड ३९ लाख ९९ हजार रुपैयाँ बराबरको रहेको छ । ओखर आयातबाट १५ करोड ८९ लाख ७० हजार बराबरको राजस्व संकलन भएको तथ्यांक छ ।

गत आर्थिक वर्ष साढे चार अर्बको आयात

गत आर्थिक वर्ष (२०८२/०८३) भरको तथ्याङ्क हेर्दा नेपालमा सुक्खा फलफूल तथा नरिवलको आयात अझै धेरै भएको देखिन्छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष कुल तीन करोड ६८ लाख ४८ हजार ४४५ किलोग्राम यस्ता वस्तुहरू आयात भएका थिए । जसको कुल आयात मूल्य चार अर्ब ४४ करोड ६६ लाख ७७ हजार रुपैयाँ रहेको थियो ।

सो आयातबाट सरकारले ९२ करोड ७६ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । गत आर्थिक वर्षमा रकमका आधारमा सबैभन्दा ठुलो हिस्सा किसमिसले ओगटेको थियो । वर्षभरिमा ३३ लाख १० हजार ३३ किलोग्राम किसमिस आयात गर्दा एक अर्ब २२ करोड ९९ लाख ५९ हजार रुपैयाँ बाहिरिएको थियो भने यसबाट २९ करोड ९० लाख ८८ हजार रुपैयाँ राजस्व प्राप्त भएको थियो । किसमिसको आयात लगभग एकलौटी रूपमा चीनबाट भएको थियो ।

चीनबाट मात्रै एक अर्ब २० करोड तीन लाख १६ हजार रुपैयाँ बराबरको (३२ लाख २६ हजार केजीभन्दा बढी) किसमिस नेपाल आएको थियो भने भारतबाट दुई करोड ९२ लाख रुपैयाँको मात्र आयात भएको थियो । बदाम आयातमा गत आर्थिक वर्ष ९० करोड १७ लाख चार हजार रुपैयाँ खर्च भएको थियो । यस अवधिमा १० लाख ४१ हजार ९१३ किलोग्राम बदाम भित्रिँदा राज्यले २१ करोड ९६ लाख २७ हजार रुपैयाँ राजस्व उठाएको थियो ।

बदाम आयातको मुख्य स्रोत संयुक्त राज्य अमेरिका हो । अमेरिकाबाट मात्रै बोक्राविनाको बदाम ८४ करोड ४४ लाख रुपैयाँ र बोक्रासहितको बदाम तीन करोड ६९ लाख रुपैयाँ गरी कुल ८८ करोड १३ लाख रुपैयाँभन्दा बढीको आयात भएको थियो । बाँकी केही परिमाण चीन र भारतबाट आयात भएको थियो । गत आर्थिक वर्ष कुल नौ लाख ५३ हजार ९४९ किलोग्राम काजु नेपाल भित्रिएको थियो । जसको आयात मूल्य ८७ करोड ७० लाख २३ हजार रुपैयाँ थियो ।

यसबाट राज्य कोषमा २६ करोड ३३ लाख ९४ हजार रुपैयाँ राजस्व जम्मा भएको थियो । काजु आयातमा भियतनाम सबैभन्दा अगाडि देखिएको छ । भियतनामबाट मात्रै ४१ करोड ३६ लाख ८८ हजार रुपैयाँ (चार लाख ४७ हजार केजी) को काजु आएको थियो भने भारतबाट ३३ करोड ६९ लाख रुपैयाँभन्दा बढीको काजु आयात भएको थियो ।

यसबाहेक आइभोरी कोस्टबाट पाँच करोड ३५ लाख, चीनबाट तीन करोड आठ लाख, बेनिनबाट दुई करोड २६ लाख र नाइजेरियाबाट एक करोड ४२ लाख रुपैयाँ बराबरको काजु आयात भएको थियो । परिमाणको दृष्टिले गत वर्ष पनि नरिवल नै शीर्ष स्थानमा रह्यो । वर्षभरिमा ३ करोड ११ लाख ७७ हजार ८३२ किलोग्राम नरिवल आयात हुँदा एक अर्ब पाँच करोड ८४ लाख रुपैयाँ बाहिरिएको थियो भने यसबाट पाँच करोड ३२ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

नरिवलको आयात लगभग शतप्रतिशत भारतबाट भएको तथ्याङ्क छ । गत आर्थिक वर्षमा बोक्रा नभएको ओखर ३ लाख ६४ हजार ७१८ किलोग्राम आयात भएको थियो । जसको मूल्य ३७ करोड ९५ लाख ८१ हजार रुपैयाँ थियो । यसबाट सरकारलाई नौ करोड २२ लाख ७६ हजार रुपैयाँ राजस्व प्राप्त भएको थियो । ओखर आयातको लगभग सम्पूर्ण हिस्सा (३७ करोड ९४ लाख रुपैयाँ) चीनबाट मात्र भित्रिएको थियो ।

यसरी चालु आर्थिक वर्षको चाडपर्व लक्षित तीन महिनामै गत वर्षको कुल वार्षिक आयातको ५० प्रतिशतभन्दा बढी रकम बराबरको सुक्खा फलफूल आयात भइसकेको देखिन्छ । नेपालमा चाडपर्वका बेला मसला तथा ड्राइफ्रुट्सको माग धान्न बर्सेनि अर्बौं रुपैयाँ चीन, अमेरिका, भारत र भियतनामजस्ता मुलुकमा जाने गरेको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक २० गते शुक्रबार