२०८३ असोज २७ , मंगलबार 13, October 2026, Tuesday

खोरियामा व्यावसायिक पशुपालन, बढ्दै ‘रोजगारी र आम्दानी’

बाँकेको राप्तीसोनारी गाउँपालिका–२ स्थित खोरिया गाउँमा व्यावसायिक पशुपालन ग्रामीण रोजगारी र आम्दानीको आधार बन्दै गएको छ । घरायसी आवश्यकतामा सीमित पशुपालन आधुनिक प्रविधि र व्यावसायिक व्यवस्थापनसँग जोडिन थालेपछि स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै किसानको आयआर्जनको अवसरसमेत बढेको छ ।

खोरियामा सञ्चालित जननी पशुपालन फर्मले स्थानीय स्रोतसाधनको उपयोग गर्दै पशुपालनलाई व्यावसायिक रूप दिएको छ । करिब डेढ करोड रुपैयाँ लगानीमा सञ्चालित फर्मले दूध उत्पादनसँगै स्थानीयलाई रोजगारीसमेत प्रदान गर्दै आएको छ । करिब तीन बिघा क्षेत्रफलमा फैलिएको फर्ममा होलिस्टन फ्रिजियन र जर्सी जातका १० वटा गाई, हरियाणा जातका पाँच वटा भैँसी, एउटा साँढे तथा करिब १५० वटा बाच्छाबाच्छी र पाडापाडी छन् ।

फर्मबाट दैनिक करिब १२० लिटरसम्म दूध उत्पादन भइरहेको सहकारीका व्यवस्थापक गणेशबहादुर खत्रीले जानकारी दिए । उत्पादित दूध स्थानीय बजारका साथै कोहलपुर, नेपालगन्ज, अगैया र शमशेरगन्जसम्म बिक्रीका लागि पठाउने गरिएको उनले बताए । बजारको मागअनुसार गुणस्तरीय दूध उत्पादन गर्न सके बिक्रीको समस्या नहुने उनको भनाइ छ । फर्मले मासिक करिब दुई लाख ५० हजार रुपैयाँ बराबरको दूध बिक्री गर्दै आएको छ ।

दूध बिक्रीबाट सञ्चालन खर्च कटाएर मासिक करिब एक लाख २५ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको व्यवस्थापक खत्रीले बताए । उनका अनुसार फर्मको उद्देश्य दूध बिक्रीमा मात्र सीमित नभई गाउँमै रोजगारी सिर्जना गर्ने, स्थानीय स्रोतसाधनको उपयोग बढाउने र समुदायको आयआर्जनमा योगदान पुर्याउने रहेको छ । फर्ममा हाल सात जना स्थानीयले प्रत्यक्ष रोजगारी पाएका छन् ।

गाउँमै रोजगारीको अवसर सिर्जना हुन थालेपछि स्थानीय युवा तथा महिला पनि पशुपालन व्यवसायप्रति आकर्षित हुन थालेका छन् । खेतीपाती र परम्परागत पशुपालनमा निर्भर परिवारका लागि व्यावसायिक पशुपालन आम्दानीको थप विकल्प बनेको छ । ‘यहाँ घाँसे मैदान र वन क्षेत्र पर्याप्त छन् । पशुपालनका लागि आवश्यक वातावरण पनि अनुकूल छ । उपलब्ध स्रोतलाई व्यवस्थित रूपमा उपयोग गर्न सकियो भने गाउँमै राम्रो व्यवसाय सञ्चालन गर्न सकिन्छ,’ व्यवस्थापक खत्रीले भने ।

राप्तीसोनारी गाउँपालिकाका विभिन्न बस्तीमा खेतीपातीसँगै गाई, भैँसी र बाख्रापालन गर्ने किसानको सङ्ख्या बढ्दै गएको स्थानीय किसान गोर्खु चौधरी बताउँछन् । उनका अनुसार पहिले घरायसी प्रयोजनका लागि गाईभैँसी पाल्ने किसान अहिले दूध बिक्री गरेर आम्दानी गर्ने उद्देश्यले पशुपालनमा संलग्न हुन थालेका छन् । ‘पहिले घरमा दूधका लागि गाईभैँसी पालिन्थ्यो । अहिले बजारमा बेचेर आम्दानी गर्ने उद्देश्यले पशु पाल्न थालिएको छ,’ चौधरीले भने ।

जननी पशुपालन फर्मले परम्परागत पशुपालनलाई आधुनिक प्रविधि र व्यवस्थापनसँग जोडेर उत्पादन बढाउने प्रयास गरिरहेको छ । पशुको स्वास्थ्य, आहार व्यवस्थापन र दूध उत्पादनमा ध्यान दिँदै स्थानीयस्तरमा उपलब्ध घाँस तथा अन्य स्रोतको उपयोगमार्फत उत्पादन लागत घटाउने प्रयास भइरहेको व्यवस्थापक खत्रीले बताए । व्यावसायिक पशुपालनको विस्तारले दूध उत्पादन र बिक्रीमा मात्र नभई स्थानीय आर्थिक गतिविधिमा समेत योगदान पुर्याएको छ ।

पशुका लागि घाँस उत्पादन, श्रमको उपयोग, दूध सङ्कलन र बजारसम्म ढुवानी गर्ने गतिविधिले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गरेको छ । फर्मले आगामी दिनमा पशुको सङ्ख्या वृद्धि गर्ने, दूध उत्पादन क्षमता बढाउने र बजार विस्तार गर्ने योजना बनाएको छ । उत्पादित दूध प्रशोधन गरी दही, घिउ र पनिरजस्ता दुग्धजन्य वस्तु उत्पादन गर्ने सम्भावनाबारे पनि अध्ययन भइरहेको व्यवस्थापक खत्रीले जानकारी दिए ।

दूध प्रशोधन तथा दुग्धजन्य वस्तु उत्पादन सुरु गर्न सके स्थानीय उत्पादनको मूल्य अभिवृद्धि हुनुका साथै थप रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । खोरियामा सञ्चालित जननी पशुपालन फर्मले स्थानीय स्रोतसाधन, बजारको माग र आधुनिक व्यवस्थापनलाई एकीकृत गरेर ग्रामीण क्षेत्रमा पशुपालनलाई आयआर्जनको माध्यम बनाउन सकिने सम्भावना देखाएको छ । यस्ता व्यवसायको विस्तार, उत्पादनको बजारीकरण र प्रशोधनमा जोड दिन सके राप्तीसोनारीका ग्रामीण बस्तीमा पशुपालन रोजगारी र स्थानीय अर्थतन्त्रको महत्त्वपूर्ण आधार बन्न सक्ने देखिन्छ ।

प्रकाशित मिति : २०८३ असोज २७ गते मंगलबार