२०८३ असोज १८ , आइतबार 4, October 2026, Sunday

दुई महिनामै १० करोड ६० लाख किलो धान चामल आयात

चालू आर्थिक वर्ष २०८३–०८४ को पहिलो दुई महिनामा नेपालले १० करोड ६० लाख किलोभन्दा बढी धान तथा चामल आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार साउन र भदौमा विभिन्न प्रकारका धान तथा चामल गरी १० करोड ६० लाख १७ हजार २३३ किलो आयात भएको छ ।

यसका लागि पाँच अर्ब ६१ करोड ३१ लाख रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ भने, सरकारले ४२ करोड चार लाख रुपैयाँभन्दा बढी भन्सार राजस्व संकलन गरेको छ । विभागको तथ्यांकलाई आधार मान्दा यस अवधिमा आयात भएको धान र चामलको आँकडामा सबैभन्दा ठूलो हिस्सा धानको रहेको छ ।

दुई महिनामा अन्य धान मात्रै पाँच करोड ७६ लाख ९६ हजार ६१२ किलो आयात भएको छ । यसको आयात मूल्य दुई अर्ब १४ करोड १९ लाख रुपैयाँ रहेको छ । कुल आयात परिमाणमा यसको हिस्सा करिब ५४.४ प्रतिशत र कुल आयात मूल्यमा हिस्सा ३८.२ प्रतिशत रहेको छ । त्यसपछि अन्य आधा कुटेको वा पूर्ण रूपमा कुटेको चामलको आयात ठूलो छ ।

यस्तो चामल तीन करोड ६७ लाख ९९ हजार ५०६ किलो आयात भएको छ । यसको आयात मूल्य दुई अर्ब ३५ करोड ९१ लाख रुपैयाँ रहेको छ । परिमाणका आधारमा यसको हिस्सा ३४.७ प्रतिशत र मूल्यका आधारमा ४२ प्रतिशत रहेको छ । बासमती चामलको आयात परिमाण भने तुलनात्मक रूपमा कम छ ।

विभागका अनुसार पहिलो दुई महिनामा ९३ लाख ४७ हजार ८६ किलो बासमती चामल आयात भएको छ । त्यसमा एक अर्ब दुई करोड २४ लाख रुपैयाँ खर्च भएको छ । कुल आयात परिमाणमा बासमतीको हिस्सा ८.८ प्रतिशत भए पनि आयात मूल्यमा यसको हिस्सा १८.२ प्रतिशत पुगेको छ । त्यस्तै, कनिका चामल २१ लाख ७० हजार ३२७ किलो आयात भएको छ ।

यसको आयात मूल्य ८ करोड ९० लाख रुपैयाँ रहेको छ । टुक्रे चामलको कुल आयात परिमाणमा हिस्सा करिब २.०५ प्रतिशत र मूल्यमा १.६ प्रतिशत छ । कुटेर बोक्रा हटाइएको खैरो चामलको आयात एक हजार ८३० किलो र मूल्य एक लाख ८१ हजार रुपैयाँ रहेको छ । बीउका लागि प्रयोग हुने धान एक हजार ८१७ किलो आयात भएको छ, जसको मूल्य तीन लाख एक हजार रुपैयाँ छ ।

तथ्यांक अनुसार परिमाणका हिसाबले धानको आयात सबैभन्दा बढी भए पनि आयात मूल्यका हिसाबले कुटेको चामलको हिस्सा धानभन्दा ठूलो रहेको देखाउँछ । कुल धान–चामल आयातमध्ये धानको परिमाण ५४ प्रतिशतभन्दा बढी हुँदा त्यसमा खर्च भएको रकम करिब ३८ प्रतिशत छ । चामलतर्फको आयात परिमाण करिब ४५ प्रतिशत रहे पनि त्यसमा खर्च भएको रकम कुल आयात मूल्यको ६२ प्रतिशतभन्दा बढी देखिन्छ ।

प्रकाशित मिति : २०८३ असोज १८ गते आइतबार