सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशका लागि राजदूतको नाम सिफारिस गरेको हो । सरकारले भारतका लागि डा.निश्चलनाथ पाण्डे, चीनका लागि डा.कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापाको नाम सिफारिस गरेको छ ।
त्यस्तै, संयुक्त अधिराज्यका लागि पूर्वप्रधानसेनापति गौरवशमशेर जबरा, जापानका लागि जिज्ञनकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनलाई प्रस्तावित राजदूतका रूपमा अघि सारिएको छ । जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा.पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल तथा दक्षिण कोरियाका लागि प्रा.डा.संगम श्रेष्ठको नाम सिफारिस गरिएको छ ।
यसैगरी, श्रीलंकाका लागि डा.मञ्चल झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतका रूपमा सिफारिस गरिएको छ । प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनुवाइका लागि पठाइनेछ । संसदीय सुनुवाइबाट अनुमोदन भएपछि सम्बन्धित देशबाट सहमति प्राप्त गर्ने प्रक्रिया अघि बढ्ने र त्यसपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

कस्तो छ उनीहरूको पृष्ठभूमि ?
नेपालका लागि भारतको राजदूतमा डा.निश्चलनाथ पाण्डेको नाम सिफारिस गरिएको छ । उनी हाल सेन्टर फर साउथ एशियन स्टडिजका निर्देशक छन् । उनले यसअघि परराष्ट्र मन्त्रालयअन्तर्गतको परराष्ट्र मामला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक र पर्यटन तथा नागरिक उड्डयन विषयमा राष्ट्रिय योजना आयोगको सल्लाहकारका रूपमा काम गरिसकेका छन् ।
उनी नेपालको सत्य निरूपण तथा मेलमिलाप आयोगका विज्ञ र नेपाल सरकारको उच्चस्तरीय परराष्ट्र नीति कार्यदलका सदस्यसमेत थिए । डा.पाण्डेले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा विद्यावारिधि र कानुनमा स्नातक गरेका छन् । उनी नेशनल इन्स्टिच्युट अफ एडभान्स स्टडिज, बेंग्लोरका मानार्थ सह–प्राध्यापक र नेशनल युनिभर्सिटी अफ सिंगापुरको इन्स्टिच्युट अफ साउथ एशियन स्टडिजका नन–रेजिडेन्ट सिनियर फेलो हुन्, जहाँ उनी पहिले भिजिटिङ रिसर्च फेलो थिए ।
यस्तै, चीनको राजदूतमा डा.कल्याणराज शर्माको नाम सिफारिस भएको छ । उनी नेपाल–चीन मामला विज्ञ, सिनोलोजिस्ट र अर्थशास्त्री हुन्, जसलाई प्राज्ञिक क्षेत्र, संस्थागत सुशासन र द्विपक्षीय नीतिगत सहकार्यमा दुई दशकभन्दा बढीको अनुभव छ । उनले चीनको फुदान विश्वविद्यालयबाट प्रत्यक्ष वैदेशिक लगानी, व्यापार र पर्यटन वित्तपोषणमा केन्द्रित भई अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । उनी हाल फुदान युनिभर्सिटी एलम्नाई एसोसिएसन नेपाल, नेपाल–चीन फ्रेन्डशिप फोरम (२०१३ देखि) र काउन्सिल अफ सिनोलोजिस्ट्स–नेपालको अध्यक्ष छन् । साथै, उनी काठमाडौँ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टमा भिजिटिङ स्कलरका रूपमा कार्यरत छन्, जहाँ उनले ‘डुइङ बिजनेस इन चाइना’ पाठ्यक्रम तयार गरी अध्यापन गराउँदै आएका छन् ।
उनी एडभेन्चर आउटडोर एक्स्कर्सन प्रालिका प्रबन्ध निर्देशक भई हिमालयन तथा सीमापार पर्यटन प्रवर्द्धनमा क्रियाशील छन् भने एपेक्स फण्ड्स लिमिटेड र विभिन्न जलविद्युत तथा ऊर्जा कम्पनीहरूको स्वतन्त्र सञ्चालक समितिमा रहेका छन् । नेपाल–चीन सम्बन्धमा पुर्याएको योगदानको कदरस्वरूप उनलाई नेपालका राष्ट्रपतिबाट नेपाल भूषण र ‘सिल्क रोड फ्रेन्डशिप अवार्ड’ प्रदान गरिएको थियो, जुन पुरस्कार पाउने उनी विश्वभरका १२ जनामध्ये एक हुन् । उनी नेपाल–चीन आर्थिक कूटनीति, व्यापार र ‘बेल्ट एण्ड रोड’ सहकार्यका प्रखर विश्लेषक तथा वक्ता हुन् ।
यस्तै, संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत चिरनजंग थापा राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय मामला विज्ञ हुन्, जसलाई सुरक्षा नीति, संकट व्यवस्थापन र कूटनीतिमा दुई दशकको अनुभव छ । उनले कोलम्बिया युनिभर्सिटीको स्कूल अफ इन्टरनेशनल एण्ड पब्लिक अफेयर्सबाट अन्तर्राष्ट्रिय मामलामा स्नातकोत्तर र सुनी जेनेसियोबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक गरेका छन् । सन् २०१७ देखि उनले अक्सफाममा एसियाका लागि क्षेत्रीय सुरक्षा सल्लाहकारका रूपमा १५ देशहरूमा जोखिम व्यवस्थापन र संकट व्यवस्थापनको नेतृत्व गर्दै आएका छन् ।
यसअघि उनले सेफरवल्र्डमा एसियाका लागि क्षेत्रीय सुरक्षा तथा न्याय सल्लाहकार र द एसिया फाउन्डेसनमा सुरक्षा क्षेत्र र नागरिक–सैन्य सम्बन्ध सल्लाहकारका रूपमा काम गरेका थिए । त्यस क्रममा उनले नेपालको रक्षा मन्त्रालय, राष्ट्रिय सुरक्षा परिषद, नेपाली सेना र नेपाल प्रहरीलाई परामर्श दिनुका साथै नेपाली सेनाको पहिलो नागरिक–सैन्य सम्बन्ध पाठ्यक्रम तयार पारेका थिए । आफ्नो करियरको सुरुवाती चरणमा उनले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि सिङ्गापुर र नेपालका स्थायी नियोगहरूमा काम गरेका थिए ।
यस्तै, बेलायतका लागि राजदूतमा सिफारिस भएका गौरव शमशेर जबरा पूर्वप्रधानसेनापति हुन् । उनले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरणको समयमा सेनाको नेतृत्व गरेका थिए र सेनाको ‘१० वर्षे दीर्घकालीन योजना’ तथा ‘सैन्य सिद्धान्त २०१३’ लागू गरेका थिए । प्रधानसेनापतिको रूपमा उनले सन् २०१५ को भूकम्पपछि नेपालको सैन्य उद्धार कार्य ‘अपरेशन संकट मोचन’को नेतृत्व गर्दै राहत कार्यमा १८ वटा विदेशी सैन्य टोलीको सहभागिताको समन्वय गरेका थिए ।
जापानका लागि प्रस्तावित राजदूत जिग्यानकुमार थापाले नेपाल–जापान सम्बन्ध अभिवृद्धिमा दुई दशकभन्दा बढी समय काम गरेका छन् । योकोहामा नेशनल युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्ध र कानूनमा स्नातकोत्तर तथा शुमेई युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सहकार्यमा स्नातक गरेका उनले सन् २००९ देखि कानागावा इन्टरनेशनल फाउन्डेसनमा अन्तर्राष्ट्रिय सहकार्य, सार्वजनिक नीति तथा बहुसाँस्कृतिक मामला विज्ञका रूपमा काम गर्दै आएका छन् । सन् २००५ देखि उनले उच्चस्तरीय नेपाल–जापान द्विपक्षीय कार्यक्रमहरूको संयोजकका रूपमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूको भ्रमण तथा आदानप्रदानमा सहजीकरण गर्दै आएका छन् ।
यस्तै, इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्ण सूचना प्रविधि, बैंकिङ र आर्थिक नीति क्षेत्रका व्यक्तित्व हुन् । कर्णलाई कार्यकारी नेतृत्वमा ३० वर्षभन्दा बढीको अनुभव छ । उनले नेपाल बैंक लिमिटेडको प्रमुख सञ्चालन अधिकृतका रूपमा एकीकृत कोर बैंकिङ सिस्टममा रूपान्तरण गर्ने कार्यको नेतृत्व गरेका थिए । सन् २०२४ देखि उनले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७९ अन्तर्गत नेपालको पहिलो जापानी प्रत्यक्ष वैदेशिक लगानीको प्रविधि संस्था कुमो ल्याब्स प्रालिको अध्यक्षता गर्दै आएका छन् ।
उनले कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान महासंघ)को लगातार दुई कार्यकाल अध्यक्षका रूपमा सेवा गरे । उनी नेपालको आईटी काउन्सिल र सूचना प्रविधि उच्चस्तरीय आयोगको पदझेन सदस्य थिए भने नेपालको पहिलो राष्ट्रिय आईटी नीतिको मस्यौदा तयार गर्न योगदान दिएका थिए । उनले बेइजिङ नर्मल युनिभर्सिटीको बेल्ट एण्ड रोड स्कूलबाट अन्तर्राष्ट्रिय व्यापार, लगानी तथा पूर्वाधार अर्थशास्त्रमा एमबिए गरेका छन् र उनी ‘इन्स्टिच्युसन अफ इन्जिनियर्स (इन्डिया)’का फेलो हुन् ।
स्पेनका लागि प्रस्तावित राजदूत प्राप्ति शेरचन नेपाली अन्तर्राष्ट्रिय विकास तथा साझेदारी क्षेत्रकी नेतृत्वकर्ता हुन्, जसलाई दक्षिण एसिया, दक्षिणपूर्वी एसिया र अफ्रिकामा १५ वर्षको अनुभव छ । सन् २०१५ देखि विश्व बैंक समूहअन्तर्गतको इन्टरनेशनल फाइनान्स कर्पोरेसनमा लैंगिक समाधान र प्रभावका लागि सञ्चालन अधिकृतका रूपमा कार्यरत उनले आइएफसी इन्डियाको ‘जेन्डर कन्ट्री प्रोग्राम’को नेतृत्व गर्दै आएकी छन् ।
जर्मनीका लागि प्रस्तावित राजदूत सरू जोशी वैदेशिक रोजगार सुशासन, लैंगिक समानता र अन्तर्राष्ट्रिय सहकार्यको क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव भएकी नीति विज्ञ हुन् । उनले वैदेशिक रोजगार ऐन (२०६४), वैदेशिक रोजगार नियमावली (२०६४) र वैदेशिक रोजगार नीति (२०६८) सहित नेपालको आधारभूत आप्रवासन ढाँचा निर्माणमा योगदान पुर्याएकी छन् । उनले युएन वुमेनमा एक दशक दक्षिण एसियाका लागि क्षेत्रीय कार्यक्रम प्रबन्धक र श्रम कूटनीति प्रमुखका रूपमा काम गरेकी छन् । पछि युएन वुमेन नेपालको कार्यक्रम विज्ञ तथा महिला आर्थिक सशक्तीकरण इकाई प्रमुख र रणनीतिक साझेदारी विज्ञका रूपमा काम गरेकी थिइन् ।
सन् २०१८ देखि उनले स्वतन्त्र वरिष्ठ नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध परामर्शदाताका रूपमा युएन वुमेनको राष्ट्रिय परामर्शदाता, कोभिड–पश्चात आप्रवासीहरूको पुनर्मिलनबारे विश्व बैंकको सल्लाहकार र ‘ग्लोबल फोरम अन माइग्रेसन एण्ड डेभलपमेन्ट’ तथा कोप–२८ मा नेपालको प्रतिनिधित्व गरिसकेकी छन् । सन् २०२४ देखि नेपाल पोलिसी इन्स्टिच्युटको कार्यकारी बोर्ड सदस्यका रूपमा उनले नेपाली आप्रवासी श्रमिकहरूको मताधिकारका लागि राष्ट्रिय वकालतको नेतृत्व गरिरहेकी छन् । उनले इन्स्टिच्युट अफ सोसल स्टडिज, द हेगबाट महिला तथा विकास विषयमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन् ।
ओमानका लागि प्रस्तावित राजदूत डा.पद्माक्षी राणा नेपाल, एसिया र युरोपभर दिगो विकास, समावेशी नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यको क्षेत्रमा १५ वर्षभन्दा बढीको अनुभव भएकी विकास तथा उद्यमी नेता हुन् । उनले क्याम्ब्रिज विश्वविद्यालयको ‘इन्स्टिच्युट फर म्यानुफ्याक्चरिङ’बाट खाद्य उत्पादनमा कर्पोरेट सामाजिक उत्तरदायित्व विषयमा विद्यावारिधि, क्याम्ब्रिजबाटै वातावरण, समाज र विकासमा एमफिल र वेबस्टर युनिभर्सिटी थाइल्यान्डबाट एमबिए गरेकी छन् ।
मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेल मानविकी, अंग्रेजी, राजनीतिशास्त्र र कानूनको प्राज्ञिक पृष्ठभूमि भएका शिक्षा तथा सार्वजनिक प्रशासन क्षेत्रका विज्ञ हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नातकोत्तर, राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका छन् ।
दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत प्राध्यापक डा.सङ्गम श्रेष्ठ अन्तर्राष्ट्रिय सहकार्य, जलवायु उत्थानशीलता र जल–सुरक्षा कूटनीतिमा २५ वर्षभन्दा बढीको अनुभव भएका अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त प्राज्ञिक नेता तथा वैश्विक नीति विज्ञ हुन् । उनी हाल एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी, थाइल्यान्डको ‘स्कूल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी’का प्राध्यापक एवं पूर्व डिन तथा ‘ग्लोबल वाटर एण्ड स्यानिटेसन सेन्टर’का संस्थापक सह–निर्देशक हुन् ।
श्रीलंकाका लागि प्रस्तावित राजदूत डा.मञ्चल झा सुशासन तथा सार्वजनिक नीति विज्ञ हुन्, जसले नेपालको सत्य निरूपण तथा मेलमिलाप आयोगको आयुक्तका रूपमा काम गर्दै सत्य, न्याय र मेलमिलापसम्बन्धी राष्ट्रिय प्रयासहरूमा योगदान दिएकी थिइन् । उनले संक्रमणकालीन न्यायसम्बन्धी अन्तर्राष्ट्रिय मञ्चहरूमा आयोगको प्रतिनिधित्व गर्दै श्रीलंकामा नेपालको आयोगको अनुभव प्रस्तुत गरेकी थिइन् । उनी त्रिभुवन विश्वविद्यालयमा सह–प्राध्यापक हुन्, जहाँ उनले सुशासन तथा भ्रष्टाचार निवारण स्नातकोत्तर कार्यक्रममा अध्यापनसमेत गरेकी थिइन् ।
साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार समाजशास्त्री तथा विकास नेता हुन्, जसलाई अन्तर्राष्ट्रिय विकास, नीतिगत सल्लाह र बहु–सरोकारवाला सुशासनका क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव छ । उनको प्राविधिक दक्षता सामाजिक संरक्षण, लैंगिक समानता तथा सामाजिक समावेशीकरण मूलप्रवाहीकरण, समुदायमा आधारित जलवायु अनुकूलन र गुनासो सुनुवाइ संयन्त्रमा रहेको छ, जुन उनले विश्व बैंक र एडिबीका ठूला पूर्वाधार तथा खानेपानी क्षेत्रका कार्यक्रमहरूमा प्रयोग गरेका छन् ।
